Explore news and happenings at Bhaktapur

स्थानीय पाठ्यक्रमबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७५ चैत ८ गते, शुक्रबार ।

0

भक्तपुर नगरपालिकाद्वारा विद्यालय स्तरमा सञ्चालित स्थानीय पाठ्यक्रमबारे विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक—शिक्षिकाहरूबीच शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

भक्तपुर नगरपालिकाद्वारा विद्यालय स्तरमा सञ्चालित स्थानीय पाठ्यक्रमबारे विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक—शिक्षिकाहरू बीच शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको मौलिक सीप, प्रविधि, इतिहासलाई जीवित राख्न र नयाँ पुस्तालाई स्थानीय बिषयमा जानकार बनाउन नगरपालिकाले शैक्षिकवर्ष २०७५ देखि भक्तपुरका सबै विद्यालयहरूमा स्थानीय पाठ्यक्रम लागु गरेको बताउनु भयो ।
प्रमुख प्रजापतिले निजी र सामुदायिकविद्यालयबीचको शैक्षिक गुणस्तरमा भएको भेद अन्त्य गर्न नगरपालिकाले समान रुपमा सबै विद्यालयहरुबीच विभिन्न प्रतियोगिता आयोजना गरेको र नगरपालिका क्षेत्रभित्रका सामुदायिक आधारभूत विद्यालयहरूको शैक्षिक स्तर उकास्न शिक्षक–शिक्षिकाहरूलाई तालिम सञ्चालन गरी विद्यालयको भौतिक सुधारको लागि आर्थिक सहयोग प्रदान गर्दै आएको बताउनुभयो ।
उहाँले आधारभूत तहमा पढाउने शिक्षकहरुको लागि निकट भविष्यमै विभिन्न विषयहरुको तालिमहरु संचालन गर्ने भनपाले तयारी गरिरहेको बताउनु भयो ।
उहाँले एक वर्षमा विद्यालयहरुमा स्थानीय पाठ्क्रमबारे अनुगमनबाट प्राप्त प्रतिवदेनबारे पनि जानकारी दिनुहुँदै विद्यालयहरुले थप मिहेनत गर्नु पर्ने आवश्यकता औल्याउनु भयो ।

कार्यक्रममा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले किताबमात्र पढाउने शिक्षक अब काम नलाग्ने बताउनुहुँदै प्रतिस्पर्धी विद्यार्थी उत्पादनगर्न शिक्षक–शिक्षिकाहरू प्रविधिमैत्री हुनुपर्ने बताउनुभयो । उहाँले विद्यालयहरूमा स्थानीय संग्रहालयको आवश्यकता औंल्याउनुहुँदै विद्यार्थीलाई करले होइन रहरले पढाउन हौंस्याउन पर्ने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिका आफ्नो क्षेत्रभित्र सबै ठाउँमा स्थानीय पाठ्यक्रम लागू गर्ने देशकै पहिलो नगरपालिका भएको बताउनुभयो ।
विद्यार्थीलाई धेरै भाषासिक्न र सिकाउन अभिप्रेरित गर्नुपर्नेमा जोड दिंदै शिक्षाविद् कोइरालाले भाषा, लिपी र संस्कृति हाम्रो देशकै सम्पत्ति भएको र यसको संरक्षण—सम्बर्द्धन गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो । विद्यार्थीले जति धेरै भाषासिक्यो उसको स्मरणशक्ति पनि उत्तिकै बलियो हुने धारणा राख्नुहुँदै शिक्षक–शिक्षिकाहरूले विद्यार्थीको जिज्ञासा र रहरलाई बुझ्नु आवश्यक भएको बताउनुभयो ।

“स्थानीय पाठ्यक्रमले भाषा र स्थानीयकला–संस्कृतिबारे सिक्ने राम्रो अवसर दिएको बताउनुहुँदै भक्तपुरको इतिहास, संस्कृति र विशेषताबारे यहाँका विद्यार्थीले थाहा पाउनुपर्छ” प्रा.डा. कोइरालाले बताउनुभयो । उहाँले पाठ्य सामग्रीको सही सदुपयोग गरी विद्यार्थीको पठनशैली बदल्नुपर्ने, विद्यार्थीलाई प्रविधिमैत्री बनाउनुपर्ने, स्थानीय ज्ञान र सीपप्रयोग गरी शिक्षण विधि अपनाउनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेंले पाठ्यपुस्तकबाट हुबहु अध्यापन गराउने शिक्षण पद्धति पुरानो भइसकेको र स्थानीय पाठ्यक्रमको सही सदुपयोग गर्न सके विद्यार्थीहरू लाभान्वित हुने बताउनुभयो ।
स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका सदस्य प्रा. सिद्धिरत्न शाक्यले विद्यार्थीको चौतर्फी विकास गर्न शिक्षक–शिक्षिकाहरू स्थानीय विषयवस्तुमा जानकार हुनुपर्ने र शिक्षकहरूले पाठ्यक्रमकै आधारमा विद्यार्थीलाई पढाउनुपर्नेमा जोड दिनुभयो ।

 

 

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले बोल्नुभएको थियो भने विभिन्न सहभागी विद्यालयका शिक्षकशिक्षिकाहरुले पनिआ–आफ्नो जिज्ञासा राखेका थिए ।

 

 

 

Leave A Reply

Your email address will not be published.