Explore news and happenings at Bhaktapur

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विश्व क्रान्तिकारी महिलाहरुको जीवनीबारे अध्ययन गोष्ठी सम्पन्न

भक्तपुर । २०८० फागुन २३

0
भक्तपुर नगरपालिकाको आयोजनामा ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विश्व क्रान्तिकारी महिलाहरुको जीवनीबारे अध्ययन गोष्ठी कार्यक्रम आज सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्वका क्रान्तिकारी महिलाहरुको जीवनी अध्ययनबाट कामदार वर्गका महिलाहरुलाई राजनीतिक रुपमा सक्रिया हुन उत्साह र प्रेरणा मिल्ने बताउनुभयो ।
क्रान्तिकारी महिलाहरुको जीवनी अध्ययनबाट नेपालको कामदार वर्गीय आन्दोलनमा समेत सहयोग मिल्ने बताउँदै उहाँले क्रान्तिकारी महिलाहरुको पुस्तक अध्ययनले समाजमा ब्याप्त शोषण, अन्याय, अत्याचारविरुद्ध लड्न हौसला मिल्ने बताउनुभयो ।
कामदार वर्गका महिलाहरुलाई संगठित पार्नु आवश्यक भएको बताउनुहुँदै उहाँले महिलाहरुको सहयोगविना पुरुषहरुको सफलता सम्भव नहुने धारणा व्यक्त गर्नुभयो ।
समाजवाद र पुँजीवादबीचको भेदबारे प्रष्ट पार्दै उहाँले समाजवादी व्यवस्थामा महिलाहरुले व्यक्तित्व विकासमा समान अवसर पाउने र यो व्यवस्था कामदार वर्गको लागि उपयुक्त व्यवस्था भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिँदै क्रान्तिकारी महिलाहरुको जीवनी अध्ययनबाट महिलाहरुलाई थप सचेत र संगठित हुने अवसर प्राप्त हुने बताउनुभयो ।
कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण समितिका संयोजक रोशनमैंया सुवालले रोजा लक्जमवर्ग, कार्यपालिका सदस्यद्वय छोरीमैंया सुजखूले जेनी माक्र्स र रञ्जना त्वातीले क्रुप्सकाया, वडा सदस्य मन्जुमैंया लाखाले क्लारा जेट्किन, सुमित्रा शिल्पकारले जोया कस्मोडेमेन्स्काया, तारा शाक्यले शियाङ चिङ, विष्णुकेशरी दुवालले अलेक्जान्ड्रा कोलोन्ताइको संक्षिप्त जीवनी अध्ययनबारे आफ्नो प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।
वडा नं. ७ का वडा सदस्य हेरा ख्याजुले पनि बोल्नुभएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका महिला कर्मचारीहरु, आमा समूहका प्रतिनिधि, महिला स्वास्थ्य स्वयम्सेविकाहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.