Explore news and happenings at Bhaktapur

नगर प्रमुखद्वारा ५७ जना अनाथ बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण

भक्तपुर । २०८० फागुन २१ गते, सोमबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर क्षेत्रभित्र अध्ययनरत आमा बुबा नभएका अनाथ बालबालिकाहरुलाई आज एक कार्यक्रमबीच शैक्षिक सामाग्री वितरण गर्नुभएको छ ।
उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले नगरभित्र अध्ययनरत १० वटा विद्यालयका ५७ जना विद्यार्थीहरुलाई विद्यार्थीहरुको तहअनुसार ब्याग, क्यालकुलेटर, पेन्सिललगायतका शैक्षिक सामाग्रीहरु वितरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले अनाथ बालबालिको भविष्य शिक्षकहरुको मेहेनतमा भर पर्ने बताउँदै विद्यार्थीहरुलाई अनुशासन, इमानदारिता र देशभक्त कुराहरु सिकाउने काम विद्यालयतहदेखि नै गर्नुपर्ने बताउनुभयो ।
समाजको सेवा गर्ने विषयबारे पनि विद्यार्थीहरुलाई प्रशिक्षित गर्नुपर्ने धारणा राख्दै कमजोर र पिछडिएका बालबालिकाहरुलाई विशेष प्राथमिकतामा राखी शिक्षकहरुले अध्यापन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले अभिभावकविहीन बालबालिकाहरुको मानसिक विकासको लागि शिक्षा अपरिहार्य विषय भएको बताउँदै शिक्षक–शिक्षिकाले पथप्रदर्शकको भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति कार्यपालिका सदस्य रोशनमैंया सुवालले भक्तपुर नपाले प्रत्येक वर्ष अभिभावकविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै आएको बताउँदै यसबाट विद्यार्थीहरुलाई शिक्षा आर्जनमा केही हदसम्म सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने कार्यपालिका सदस्य छोरीमैंया सुजखूले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.