Explore news and happenings at Bhaktapur

के हामी गौरव गर्न लायक पुस्ता बन्न सक्छौं ?

सुरेन्द्रराज गोसाई, प्रदेश सभासद

0

‘गाउँ गाउँमा सिंहदरबार’ को नारा चुनाव ताका शासक दलहरुले खुब लगाए । नेपालका पूँजीवादी शासक दलहरु अदूरदर्शी र गम्भिरताहीन दलहरु हुन् । तिनका नेता चटके नेता हुन् । नक्कली सामान बेच्ने, आफ्नै दाजुभाइलाई ठग्ने ठगहरु हुन् भन्ने यो नाराले पुष्टि गर्दैछ । असम्भव आश्वासन दिएर जनतालाई बेवकूफ बनाउन अभ्यस्त ती लज्जाहीन हुन् भन्ने पछिल्लो दृष्टान्त ‘गाउँ गाउँमा सिंहदरबार’ हो ।

जनतालाई उत्साहित गर्नुपर्नेमा भड्काउने, दिग्भ्रमित पार्ने र उत्तेजनाको स्थिति तयार गर्ने काम ती दलबाट बारबार भएका छन् । यो नारा त्यसैको सिलसिला या दुष्परिणाम हो । तिनीहरुको नाराको ठिक विपरित गाउँ गाउँमा ठग, ठेकेदार, भ्रष्ट, भूमाफिया पसिरहेका छन् । अधिकार सम्पन्नता होइन जताततै अराजक स्थिति अनुभव गरिईंदैछ । डोजर आतंक, प्राकृतिक स्रोतको अनियन्त्रित दोहन, फजुल खर्च तथा विलासिता खर्चमा प्रचूरता, माफियाद्वारा जग्गा कब्जा, स्थानीय तहमा देखिएको पछिल्लो दुई वर्षमा  देखिएको दृश्य यही नै हो । अख्तियारको दुरुपयोगले सीमा नाघ्दैछ । यी सबै गलत नारा तथा गलत आश्वासनको परिणति हुन् । शासक दलले जनप्रतिनिधिहरुलाई नगर, गाउँको सिँह या राजा भनी उक्सायो । जनतामाथि राज्य गर्न, सर्वेसर्वा बन्न बाटो खुल्ला गर्यो, त्यो नै गलत थियो । फलस्वरुप अनुशासनहिनता, अराजकता तथा अनियन्त्रणको स्थिति तयार भयो । निर्वाचितहरुमा ठालु प्रवृत्ति शुरु भयो, मालिक हुँ भन्ने भावना जाग्यो र शासक मनोवृत्ति देखियो । यस अर्थमा परिणामको बेवास्ता गरी नारा दिनु गैर–जिम्मेवारी हो, धोका हो ।

तर नेपाल मजदुर किसान पार्टीले सधै जनताको निःस्वार्थ सेवाको नीति लियो । इमानदारीपूर्वक देश र जनताको सेवालाई मूल मन्त्र या उद्देश्य बनाई जनताको असल सेवक बन्न नेमकिपाले जनप्रतिनिधिहरुलाई उत्साहित गर्दै आइरहेको छ । हो, अन्यायी, अत्याचारी विरुद्ध सिंहझैं गर्जनु पर्ला तर आपूmले सेवा गर्नुपर्ने जनतासामु विनम्र, शान्त, शिष्ट, मिलनसार र इमानदार बन्न जनप्रतिनिधि र कार्यकर्ताहरुलाई नेमकिपाले मार्गनिर्देश गर्दै आइरहेको प्रस्ट छ । आफूले सेवा गर्नुपर्ने जनतालाई समस्या पर्ने, दुःख हुने तथा असुविधा हुने काम एक सच्चा जनसेवकबाट हुन संभव छैन । यस अर्थमा हाम्रा जनप्रतिनिधिहरु न कसैको अगाडि स्याल हुन आवश्यक छ न त सिंह नै । हाम्रो स्थानीय तह सिंहदरबार होइन जनताको दरबार बन्न आवश्यक छ । जहाँ जनताको मत बमोजिम काम हुन्छ, जहा“ जनताको भावनाको उच्च कदर हुन्छ, जहाँ जनसेवा प्रथम प्राथमिकताको विषय बन्छ, जहाँ भ्रष्टाचारको गन्धसमेत प्रविष्ट हुने छैन, जहाँ जनप्रतिनिधिले कहिल्यै मालिक ठान्ने छैन, जहाँ जनताको सुख–सुविधाको लागि चौबिसै घण्टा जागा जनशक्ति रहन्छ, जहाँ समर्पणभाव नसा–नसामा दौडिन्छ ।

त्यो जनताको दरबारको महत्त्वपूर्ण हिस्सा कर्मचारी मित्रहरु हुनुहुन्छ । जनताको दरबारमा बसेर यदि कोही दास मानसिकता, नोकर–चाकर प्रवृत्ति पालेर बस्छ भने अहिलेको सन्दर्भमा ऊ जनताको शत्रु ठहरिनेछ । जनताको आँखा दूर्बीन सरह हुन्छ भन्ने हेक्का राखेर जनताको नजरमा तुच्छ भएर बाँच्नु कुनै जिन्दगी होइन भन्ने समझदारी राख्नुमै एक कर्मचारीको सार्थकता निहित हुनेछ । साँघुरो कर्मचारी मनोवृत्तिमा रमाएर होइन जनसेवाको वृहत् भावना र जनताको आँखाको नानी बन्ने उच्च लक्ष्यका साथ कर्मक्षेत्रमा हरपल खट्नु एक जनसेवक कर्मचारीको कर्तव्य हो । यतिखेर जनताको अपेक्षा यही नै हो ।

हो, जनताका गुनासा हुन्छन् र जनताप्रति पनि गुनासा हुन्छन् । वर्तमान समाजमा यो कुनै अस्वाभाविकता होइन । ती गुनासालाई विवाद, वैमनश्यता र द्वन्द्वको स्थितिमा नपुर्‍याई समन्वय, सहमति र समाधानमा अवतरण गर्नुनै एक काबिल जनप्रतिनिधि र कर्मचारीको परिचय हो । साथै जनताको निकाय स्वयम् अनुशासनमा बसी जनतालाई पनि अनुशासनमा राख्‍ने अर्थात नियम, कानुनको परिपालना गराउनु आजको चुनौती हो । निश्चय पनि यो जटिल काम हो तर अनिवार्य र निर्विकल्प पनि छ । जो नियममा बस्दैन या नियम जानाजान मिच्छ, ऊ बढ्ता हो–हल्ला गर्छ र आपूmले नियम मिच्दा आनन्द अनुभव गर्छ र त्यही काम अरुले गर्दा चर्को स्वर गर्छ । त्यो एकप्रकारको दुष्ट मनोवृत्ति हो । नियम, कानुन, अनुशासनमा मोलाहिजा या निर्वाचनको मतसँग नापजोख गर्ने गल्ती नगर्दा नै सबैको हित हुनेछ ।

जसरी एक क्रान्तिकारी स्वर्गमा गएपनि नर्कमा गएपनि जनता, कामदार वर्गको पक्षमा लड्छ, भिड्छ, त्यसैगरी एक इमानदार जनसेवी चाहे जनप्रतिनिधि होस् या कर्मचारी जनताको मन जितेर काम गर्छ, आफ्नो सुख–सुविधा त्याग्नुमा आनन्दको अनुभव गर्छ, समाजको सेवामा समर्पित बन्छ र जनताको मन–मनमा बस्नुलाई आÇनो जीवनको उद्देश्य ठान्छ ।

यस्तो भावनालाई कसैले आदर्श वचन र वर्तमान नेपाली समाजमा असंभव देख्न सक्छ । तर विगत बुझेका र इतिहासप्रति गौरव गर्नेहरुले त्यो गल्ती कदापी गर्दैनन् । इतिहास भन्छ, हामी त्यस्तो पूर्खाका सन्तति हौं जो समयभन्दा अगाडि थियो । हिजोका दिनमा, हिजोको परिस्थितिमा ती ङे–ङापा झ्यः, लुँ–ध्वाका, ङातापोलको निर्माण के संभव थियो ? तर ती अनुपम वास्तुकला, बेजोड कला–कृति आजभन्दा तीन सय वर्ष अगाडि निर्माण गरिए । अन्वेषणको आवश्यकता होला, त्यही समय–परिस्थितिमा अन्यत्र असंभव यहाँ किन र कसरी संभव भयो ? अन्यत्र संरक्षण भएन यहा“ कसरी भयो ? अर्थ–सामाजिक खोजकर्ताहरुले एक दिन जरुर जवाफ दिनेछन् ।

हामीलाई थाहा छ, नेपालको सबैभन्दा अग्लो पागोडा शैलीको मन्दिर ङातापोल १७ महिनामा निर्माण सम्पन्न गरिएको थियो । सन् १७०२ को कार्तिकमा सुरु भएर सन् १७०३ को अन्तिमतिर अर्थात फागनुतिर निर्माण सम्पन्न भयो र यसको स्ट्रक्चर अर्थात बाहिरी बनावट सात महिनामा बनाइएको थियो । त्यो कालखण्ड भनेको भारतमा ताजमहल निर्माण भइरहेको अवधि थियो । यो ऐतिहासिक दृष्टान्तले पुष्टि गर्छ कि अन्यत्र असंभव मानिने या देखिने यहा“ संभव भयो र छ । हाम्रो इतिहास यस्ता गौरव गर्न लायकका अनेकौं सफलता, उपलब्धि र घटनाले भरिएको छ । अहिलेको समयले हामीसँग आत्मगौरवको भावनाको पनि खोजी गरिरहेको आभास हुन्छ र प्रश्न तेस्र्याइरहेको प्रतीत हुन्छ – के हामीमा आत्मगौरवको भावना छ ? के हामी गौरव गर्न लायक पुस्ता बन्न सक्छौं ? के हामी इतिहासको पुनरावृत्ति गर्न सक्षम हुन्छौं ? के हामी अनिकालमा वीउ जोगाउने हिम्मत देखाउन सक्छौं ?

(प्रदेशसभा सदस्य तथा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुर नगरपालिकाको ६९ औ स्थापना दिवस समारोहमा दिनुभएको मन्तव्यको सारसंक्षेप)

Leave A Reply

Your email address will not be published.