Explore news and happenings at Bhaktapur

“प्रतिनिधिसभा र प्रदेशसभालाई नेमकिपाले वर्गसंघर्षको थलोको रुपमा प्रयोग गर्दै आएको छ” –सुनिल प्रजापति,केन्द्रीय सदस्य नेमकिपा

0
नेपाल मजदुर किसान पार्टीको स्थापना भएको ५० वर्ष भयो । २०३१ साल माघ १० गते नेपाल मजदुर किसान पार्टीको विधिवत स्थापना भएको हो । माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रुपमा अवलम्बन गर्दै पार्टी निरन्तर अगाडि बढिरहेको छ । पुजीवादी सत्ता ध्वंश गरी जनताको प्रजातन्त्र, समाजवाद हुँदै साम्यवादी समाज स्थापना गर्ने पार्टीको उद्देश्य हो । कानूनी र गैर कानूनी संघर्षका विभिन्न रुपहरु अबलम्बन गरी देशमा समाजवाद स्थापना गर्न नेपाल मजदुर किसान पार्टी कृयाशील छ ।
संसारमा समाजवादको कल्पना माक्र्स, एंगेल्सलेभन्दा अगाडि सेन्ट साइमन, चाल्र्स फ्युरियो, रोबर्ट ओबेनहरुले गरेका थिए । उनीहरुले उत्पादनका साधनहरु सामाजिकीकरण गर्नु पर्ने र मानिसहरुबीच विभेद हुन नहुने तथा संसारका सबै नागरिक समान हुनुपर्छ भन्ने विचार अगाडि सारेका थिए तर त्यस्तो समाज कसरी प्राप्त गर्न सकिन्छ भनेर देखाउन सकेनन् । त्यसैले उनीहरुलाई काल्पनिक समाजवादीहरु भनिन्छ ।
सन् १९४८ मा माक्र्स र एंगेल्स मिलेर कम्युनिष्ट घोषणा पत्र लेख्नु भयो । सशस्त्र संघर्षको माध्यमबाटमात्र संसारका मजदुर वर्गले पुजीपति वर्गको शासन सत्ता हातमा लिन सकिन्छ र मजदुर वर्गको मुक्ति सम्भव छ भनेर बाटो देखाइ दिनु भयो । त्यो समाजमा उत्पादनका साधनहरु सामाजिकीकरण हुने र व्यक्तित्व विकासमा समान अवसर पाउने छन् । यसलाई नै माक्र्सवाद भनिन्छ ।
नेपाल कम्युनिष्ट आन्दोलनमा पनि समाजवाद शान्तिपूर्ण वा सशस्त्र क्रान्तिबाट भन्ने वैचारिक संघर्ष चल्दै आएको छ । शान्तिपूर्ण तरीकाबाट निर्वाचनमा जितेर समाजवाद स्थापना गर्न सकिन्छ भन्ने विचार माक्र्सवाद विपरीत संशोधनवादी विचार हो । त्यो सोभियत संघमा का।स्तालिनको निधन पश्चात सन् १९५६ पछि ख्रुश्चेभले अगाडि सारेको पूजीवादी विचार हो । त्यही संशोधनवादी विचारको कारण सन् १९९१ सम्ममा विशाल समाजवादी देश सोभियत संघ विघटन भयो, विश्वमान चित्रमा सोभियत संघ पनि रहेन र समाजवाद पनि समाप्त भयो ।
नेपालमा एमालेले २०४६ सालपछि जनताको बहुदलीय जनवादको नाउँमा पुँजीवादी सरकारमा गएर समाजवाद स्थापना गर्ने संशोधनवादी विचारलाई अघि सार्यो । मदन भण्डरीले अगाडि सारेको विचार भएको हुँदा भण्डरीलाई नेपालको बर्नस्टिन पनि भनिन्छ । बर्नस्टिन माक्र्सका शिष्य थिए उनी आमूल परिवर्तनको पक्षमा थिएनन् र मजदुर वर्गको हक हितको सुधारवादी कुरामात्रै गर्थे । अहिले एमालेले समाजवादी क्रान्तिको बाटो त्यागेर जबजको नाउँमा पुँजीवादी सरकारमा गएर शासन गरिरहेको छ । त्यसैले नेमकिपाले एमालेलाई भाइ कांग्रेस भनेर आलोचना गर्दै आएको हो । माओवादी पनि २०६२।६३ पछि लगातार सरकारमा गएर शासक बनिरहेको छ । निर्वाचनबाटै समाजवाद स्थापना गर्ने भन्दै २१ औं शताब्दीको जनवादको नारा लगाउँदैछ । त्यो एक प्रकारको जनतालाई धोखा र विश्वासघात हो ।
संसदमा जितेर समाजवाद स्थापना सम्भव छैन भन्ने विश्व कम्युनिष्ट आन्दोलनले देखाएको छ । सन् १९६० को दशकमा इन्डोनेसियामा कम्युनिष्टहरुले धेरै स्थान जिते । त्याहाँको पूजीवादी सरकारले अर्ध समाजवादी सरकार नाम दियो । तर केही वर्ष पछि नै पुँजीवादी सरकारले कम्युनिष्टहरुलाई दमन गर्यो र लाखौं कम्युनिष्टहरुको हत्या गर्यो । चिलीमा सन् १९७० मा कम्युनिष्ट पार्टीका नेता एलेन्डे राष्ट्रपति निर्वाचित भए । जब उनले घरेलु नीति, परराष्ट नीतिमा हेरफेर गर्न खोजे ३ वर्षमै प्रतिक्रियावादीहरुले सैनिर्क कु’ गरी राष्ट्रपति भवनमा हत्या गरे । भारतको पश्चिम बंगालमा ज्योति बसुहरुले बाममोर्चाको तर्फबाट धेरै वर्ष शासन गरे तर टिकाउन सकेनन् । केरालामा पुजीवादी पार्टीहरुले कम्युनिष्टहरुको निर्वाचित सरकारलाई अपदस्थ गर्न विभिन्न उपद्रोवहरु गरे । केन्द्र सरकारमार्फत पटक पटक संसद भंग गरी नेताहरुलाई थुनेर निर्वाचन गर्न लगाइयो । यसबाट शान्तिपूर्ण तरीकाबाट समाजवाद स्थापना गर्न खोज्यो भने पूजीवादीहरुले कुनै पनि बेला कम्यनिष्टहरुलाई समाप्त पार्न सक्छन् भन्ने बुझ्न सकिन्छ ।
लेनिनले भन्नु भएको छ, क्रान्तिको निम्ति शासक वर्ग पहिलेको अबस्थामा शासन गर्न नसक्ने अबस्था र जनता पहिलेकै अबस्थामा बस्न नचाहेका अबस्थामा अन्तराष्टिय परिस्थिति अनुकुल भएमा क्रान्ति हुन्छ । हो, नेपाल मजदुर किसान पार्टीले चुनावलाई उपयोग गरेर जनतालाई राजनैतिक रुपले सचेत पार्ने र संगठित गरेर समाजवादी क्रान्तिको निम्ति वातावरण तयार गर्ने नीतिलाई जोड दिइरहेको छ । नेमकिपाका कार्यकर्ताहरु पैसा कमाउन र सुविधा लिनको लागि राजनीतिमा आएको नभइ देश र जनताको इमान्दारीपूर्वक सेवा गर्न प्रतिबद्ध भएर लाग्दै छन् । प्रतिनिधि सभा र प्रदेश सभा कानून बनाउने थलो भएको हुँदा जनताको हित विपरीतका कानूनहरुलाई रोक्ने र जनहितका कानूनहरु निर्माणमा सहयोग गर्ने काम हाम्रा साँसदहरुले गर्दै आउनु भएको छ । नेपाल मजदुर किसान पार्टी चुनावबाट समाजवाद स्थापना हुनेमा विश्वास गर्दैन । संसदलाई पनि वर्ग संघर्षको थलोको रुपमा लिन्छ र अहिलेसम्म नेपाल मजदुर किसान पार्टीका साँसदहरुले पार्टीको नीति र निर्देशनअनुसार त्यसलाई व्यवहारमा प्रस्तुत गर्दै आउनु भएको छ ।
नेमकिपाले स्थापनाकालदेखि नै प्रतिक्रियावादी संघ संस्थामा गएर कामगर्ने लेनिनवादी नीतिलाई अवलम्ब गर्दै आयो । राजनीतिक पार्टीहरु खोल्न प्रतिबन्धित अबस्थामा पनि पंचायतमा भाग लिएर जनताको सेवा गर्दै आयो । नगरपंचायतमा निर्वाचित जन प्रतिनिधिहरुले पञ्चायत पत्रिकामा सम्पूर्ण हिसाब प्रकाशित गरेर पारदर्शिताको नमूना प्रस्तुत गर्यो । प्रौढ कक्षा सञ्चालन, सफाइ आन्दोलन, सीपमूलक तालिमको व्यवस्था गरी निर्वाचित प्रतिनिधिहरुले जनहितका कामहरु गर्नु भयो । २०४५ साल भदौ ९ गते पंचायती व्यवस्थाले राज्य स्तरबाट षड्यन्त्र रची भक्तपुर काण्ड गरी पार्टीलाई नै समाप्त पार्न खोज्यो । तर पञ्चायती व्यवस्था स्वयम् समाप्त भयो ।
पार्टीको स्थापनाकालदेखि नै महाकाली, गण्डक, कर्णालीजस्ता राष्ट्रघाती सन्धि सम्झौताको विरोध गर्दै आएकोमा पछिल्लो चरणमा एमसीसी, राष्ट्रघाती नागरिकता विधेयक र एसपीपीको विरोध कार्यक्रम पनि निरन्तर जारी राखेको छ । अमेरिकी साम्राज्यवादले इराक र लिबियामाथि गरेका आक्रमणको विरोध गर्यो । अहिले अमेरिकी साम्राज्यवादको सहयोगमा इजरायलले प्यालिष्टाइनी जनतामाथि गरेको बर्बर आक्रमण र नर संहार गरिरहेको विरोधमा पनि नेमकिपाले एक्लै जिल्ला जिल्लामा आन्दोलन गर्दैछ । यो कम्युनिष्टहरुको अन्तराष्टवादी कर्तव्य हो र नेमकिपाले त्यो कर्तव्य पुरा गर्दै आएको छ ।
अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवादले नेपालको सार्वभौमिकता र स्वतन्त्रतामाथि गरेको हस्तक्षेपको विरोध तथा प्रतिक्रियावादी शासक दलहरुले गरेको जनविरोधी गलत कामको निरन्तर विरोध गर्दै नेमकिपाले नेपालको कम्युनिष्ट आन्दोलनमा प्रकाशस्तम्भको काम गर्दै आएको छ ।
नगरपालिकाका जनप्रतिनिधिहरु संविधानले देखाएको समाजवादउन्मुख काम गर्न निरन्तर क्रियाशील छ । देशमा समाजवाद स्थापना गर्न निर्वाचित साथीहरुको तर्फबाट पनि सक्दो योगदान गर्नु आवश्यक छ । हामी जन प्रतिनिधिहरु पार्टी कार्यकर्ता नै भएको हुँदा पार्टीको नीतिलाई व्यवस्थित तरीकाले कार्यन्वयन गर्न हामी निरन्तर कृयाशील छौं ।
सशस्त्र क्रान्तिमा विजय प्राप्त गर्दैमा निर्वाचनमा धेरै मत आउँछ भन्ने पनि सत्य होइन । सन् १९१७ को अक्टोबर क्रान्तिपछि सोभियत संघमा भएको विधानसभाको चुनावमा बोल्सेभिक पार्टीले २५ प्रतिशत मत मात्रै प्राप्त गर्न सक्यो, बर्जुवा पार्टीले १३ प्रतिशत र मेन्सेबिकलगायत अन्य पार्टीले ६२ प्रतिशत मत पाए । सन् १९१८ जनवरी ५ मा त्यस निर्वाचित विधानसभालाइ का। लेनिनले विघटन गर्नुभयो र समाजवादी नीतिलाई अगाडि बढाउनुभयो । विधानसभालाई संविधान निर्माणको अवसर दिएको भए सोभियत संघमा समाजवादी व्यवस्था संचालनको सम्भावना थिएन । त्यसैले बनी बनाउ संरचना भित्र गएर कम्युनिष्टहरुले समाजवादी नीति लागू गर्न नसक्ने मात्र होइन असम्भव नै हुन्छ । यसर्थ कम्युनिष्टहरुले पुरानो राज्य सत्तालाई ध्वंश गरीमात्र नयाँ राज्य सत्ता समाजवाद स्थापना गर्न सकिन्छ । यो कुरालाई कसैले पनि भुल्नु हुँदैन । राज्य सत्ताको अर्थ पुजीवादी सरकारमा जानु होइन । पुलिस, सेना, कर्मचारीतन्त्र, अद्दा अद्दालत नै राज्यसत्ता हो ।
नेपाल कम्युनिष्ट आन्दोलनमा पनि गलत विचार र सिद्धान्तको चिरफार गर्दै निरन्तर समाजवादी रातो झण्डा उँचो पार्ने काम सच्चा कम्युनिष्ट र क्रान्तिकारीहरुको आजको जिम्मेवारी र कर्तव्य हो । त्यही जिम्मेवारी र कर्तव्य पुरा गर्न नेमकिपाका कार्यकर्ताहरु निरन्तर लागिरहेका छन् । का।रोहितले भन्नुभए जस्तै सिद्धान्त र विचार त्याग्नेहरुको अबस्था हिमालयमा चिप्लेटी खेल्नु जस्तै हुन्छ अर्थात उसको अन्त्य अवश्यंभावी हुन्छ । सम्पूर्ण नेता कार्यकर्ताहरु समाजवादी व्यवस्था स्थापना नहुन्जेलसम्म अथक र अविचलित रही समाजवादको रातो झन्डा बोकेर अगाडि बढौं १ नेमकिपा ५० वर्षको अवसरमा सम्पूर्ण नेता कार्यकता तथा शुभचिन्तकहरमा हार्दिक शुभकामना १
(नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले माघ ९ गते नेमकिपाको ५० वर्ष पुगेको अवसरमा आयोजित प्रवचन कार्यक्रममा व्यक्त गर्नु भएको मन्तव्यको सार संक्षेप)

Leave A Reply

Your email address will not be published.