Explore news and happenings at Bhaktapur

‘निःसस्वार्थ रुपले जनताको सेवा गर्ने हाम्रा अग्रजहरुको भावनाले भक्तपुरलाई आजको अवस्थामा पुर्याएको हो’ सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिका

0
भक्तपुर नगरपालिका २००६ सालमा स्थापना भएको हो । यो नगर १२ औं देखि १५ औं शताब्दीसम्म नेपाल मण्डलको राजधानी नगर र १८ औं शताब्दीसम्म एक स्वतन्त्र राज्य रहेको इतिहास छ । यस नगरपालिकामा स्थापनाकालदेखि आजसम्म धेरै जनप्रतिनिधिहरुले काम गर्नुभयो, जनताले विभिन्न रुपमा साथ दिनुभयो र आजको रुपमा आइपुगेको छ । हाम्रा अग्रजहरुको निःस्वार्थ रुपले जनताको सेवा गर्ने भावनाले नै भक्तपुर आजको अबस्थामा आइपुगेको हो । यो अवस्थासम्म भक्तपुरलाई पुर्याउन सहयोग गर्ने तमाम जनप्रतिनिधि, राजनीतिक कार्यकर्ता र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने जनतालाई आजको दिन उच्च सम्मान व्यक्त गर्दछौं ।
२०३९ सालदेखि भक्तपुर नगरपालिकामा नेमकिपाले पूर्ण बहुमत प्राप्त गरी जनताको सेवा गर्दै आएको हो । प्रतिक्रियावादी संघ संस्थाभित्र गएर जनताको सेवा गर्ने नीतिअनुसार नेमकिपा (तत्कालीन संगठन)ले पंचायती चुनावलाई पनि उपयोग गर्याे । त्यतिबेला भक्तपुर नगर शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाइको क्षेत्रमा अत्यन्त पछाडि थियो । सम्पदाहरु संरक्षणको अभावमा बिग्रे भत्केका थिए भने कति लोपोन्मुख अवस्थामा थिए । पञ्चायती व्यवस्थामा निर्वाचनमा भाग लिएर जनताको सेवा गर्नु त्यति सहज थिएन । पार्टी गतिविधि प्रतिबन्धित थियो । त्यस्तो अवस्थामा पनि हाम्रा निर्वाचित जनप्रतिनिधिहरुले शिक्षामा जोड दिनु भयो ।
सबै सरकारी विद्यालयमा १।१ जना शिक्षक नियुक्ति, कक्षा ७ सम्म निःशुल्क शिक्षाको व्यवस्था भक्तपुर नगर पञ्चायतले लागू गर्याे । त्यतिबेला पञ्चायती सरकारले ५ कक्षासम्म मात्रै निःशुल्क गरेको थियो । हाम्रा निर्वाचित अग्रजहरुले सरसफाइ अभियानको नेतृत्व गर्नु भयो । पञ्चायत नामक मासिक बुलेटिन प्रकाशित गरी नगर पञ्चायतका हरेक गतिविधि जनतासमक्ष सार्वजनिक गर्नुभयो । पंचायती कालमा त्यो क्रान्तिकारी कदम थियो । भक्तपुर नगर पञ्चायत इमानदारी र पारदर्शिताको नमुना बन्यो । २०४३ सालमा सम्पन्न स्थानीय निर्वाचनमा पनि नेमकिसंका उम्मेद्वारहरु निर्वाचित भएपछि अघिल्ला जनप्रतिनिधिहरुले गरेका कार्यहरुलाई निरन्तरता दिँदै पञ्चायत पत्रिकामार्फत सर्वहारा वर्गका महान् गुरुहरु माक्र्स, लेनिन, स्तालिन, माओका जीवनीहरु छाप्न थाल्नुभयो । त्यसले भक्तपुर नगर पञ्चायत पञ्चहरुको आँखाको कसिंगर बन्यो । २०४५ सालको भक्तपुर काण्ड त्यसैको परिणाम थियो ।
भक्तपुर काण्ड नेमकिसंघका अध्यक्ष का. रोहितलगायत ६७ जना नेता कार्यकर्ताहरुलाई ज्यान मुद्दा चलाइयो । इतिहासकै पहिलोपल्टक प्रधानमन्त्री मरिचमान सिंह र राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीलगायतका पञ्चहरुले रोहितको फाँसीको माग गरे । जनताको चेतनास्तर उठिरहेको थियो । २० महिनापछि नेपाली जनताले ती नै महामञ्चहरुको फासीको माग गर्दै २०४६ सालमा आन्दोलन गरे र त्यसको परिणाम पञ्चायती व्यवस्था सदाको लागि इतिहासको पानामा सीमित हुन पुग्यो । बहुदलीय व्यवस्था पुनःस्थापनापछि नेमकिसंका नेता कार्यकर्ताहरु जेलबाट छुट्नुभयो, प्रवास र भूमिगत जीवनबाट सार्वजनिक हुनुभयो । जनताको सेवामा राजनीतिलाई अझ सशक्त रुपमा अगाडि बढाउनुभयो ।
चुनावमा भाग लिएर जनताको सेवा गर्नु पनि एक राजनैतिक आन्दोलन हो । आन्दोलन समुद्रको छाल जस्तै कहिले माथि उठ्छ त कहिले तल झर्छ । २०४९ सालको निर्वाचनमा पनि भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका साथीहरुले बहुमत प्राप्त गर्नुभयो । नेपाल मजदुर किसान संगठनको नाम नेमकिपा भइसकेको थियो । निर्वाचित साथीहरुले भक्तपुरको विकासको निम्ति नयाँ कदमहरु चाल्न थाल्नुभयो । त्यसमध्ये एक हो, पर्यटन शुल्क । २०५० साल साउन ६ गतेबाट पर्यटकहरुसँग १ डलर पर्यटन शुल्क उठाउन सुरु गरियो । भक्तपुर पर्यटन शुल्क सुरु गर्ने नेपालकै पहिलो नगरपालिका हो । त्यतिबेला वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल स्थानीय विकास मन्त्री हुनुहुन्थ्यो । पर्यटन शुल्क लिएको विषयमा व्यापक विरोध भयो । केहीले अब पर्यटक ‘भक्तपुर आउँदैन’ सम्म भने । तत्कालीन स्थानीय विकासमन्त्री पौडेलले पर्यटन शुल्क उठाउन बन्द गर्न निकै दबाब दिनुभयो । तर हामी पछि हट्ने कुरा थिएन । त्यसबेला नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच भएको एउटा भेटमा अध्यक्षज्यूले पर्यटन शुल्कको आवश्यकता, र त्यसको औचित्यबारे स्पष्ट पार्नु भएपछि त्यो विवाद त्यतिकै सेलाएर गयो ।
पयर्टन शुल्कको निरन्तरताले अहिले त्यो भक्तपुर नपाको एउटा महत्वपूर्ण स्रोत बनेको छ । काठमाडौं, ललितपुर, चाँगुनारायण, पोखरालगायत नगरपालिकाहरुले पर्यटन शुल्क लिन थालेका हुन् । यस अर्थमा शिक्षा, पर्यटन शुल्कमा पनि भक्तपुर नपाले अगुवाइ गरेको इतिहास छ ।
२०५४ सालको स्थानीय निकाय निर्वाचन घोषणापत्रमा शिक्षालाई जोड दिने उल्लेख थियो । त्यसको कार्यान्वयनको सिलसिलामा नेमकिपाका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) ले २०५६ सालमा एउटा बुद्धिजीवीहरुको बृहत भेलामा १५ वर्षभित्र एक घर एक स्नातकको घोषणा गर्नु भयो । त्यो निकै चर्चाको विषय बन्यो । केही कथित बुद्धिजीवीहरुले असंभव र महत्वाकांक्षी भनी त्यस घोषणाको आलोचना गरे । हामी जनप्रतिनिधिहरु त्यो घोषना कार्यान्वयनतर्फ अगाडि बढ्यौं । त्यतिबेला नगर प्रमुख प्रेम सुवाल हुनुहुन्थ्यो । २०५६ सालमै ख्वप मावि स्थापना भयो । ख्वप मा.वि. स्थानीय निकायले सञ्चालन गरेको नेपालको पहिलो शिक्षालय हो ।
२०५८ सालमा ख्वप कलेज र सोही वर्ष पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्ध लिई ख्वप इन्जिनियरिङ कलेजको पनि स्थापना भयो । पार्टी अध्यक्षज्यूले घोषणा गर्नुभएको ३ वर्षभित्र ३ वटा उच्च शिक्षा प्रदान गर्ने शिक्षालयहरु स्थापना गर्न भक्तपुर नपा सफल भयो । शैक्षिक संस्था स्थापनाको क्रम त्यतिकै रोकिएन । २०६० सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा ख्वप कलेज अफ इन्जिनियरिङ स्थापना र पछि शारदा कलेज तथा शारदा मावि पनि नगरपालिकामा हस्तान्तरण पछि सातवटा शैक्षिक संस्थाहरु संचालनमा आयो । २०७९ सालमा ख्वप कलेज अफ ल को स्थापना भई अहिले बिएएलएलबीको ५ वर्षे स्नातक कक्षा संचालन भइरहेको छ । अहिले भक्तपुर नगरपालिका ख्वप विश्वविद्यालयको संचालनको तयारीमा छ ।
भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने र १५ वर्षभित्र एक घर एक स्नातकको घोषणाले अहिले भक्तपुरमा घरघरमा इन्जिनियर, स्नातक र स्नातकोत्तरहरु भेटिन थालेका छन् । २०५९ सालदेखि २०७४ सालसम्म १५ वर्षसम्म स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा भक्तपुर विकासमा धेरै पछि पर्यो । त्यो तितो अनुभव पनि हामीसँग छ । त्यतिबेला सर्वदलीय संयन्त्र गठन गरेर स्थानीय निकाय चलाउने व्यवस्था थियो । कतिपय राजनैतिक दलका प्रतिनिधिहरुले ख्वप कलेजहरुलाई जस्तै अन्य निजी कलेजहरुलाई पनि नपाले अनुदान दिनु पर्नेमा जोड दिए । त्यसबारे विवादपछि सर्वदलीय बैठक नै बस्न सकेन ।
सर्वदलीय बैठक विकासभन्दा भागबण्डमा केन्द्रीत हुन्थ्यो, अहिले शासक दलहरुबीच शिक्षक, कर्मचारी, उपकूलपति, राजदूत भागबण्डा गरेजस्तै । दलहरुबीच हरेक क्षेत्रमा भागबण्डाकै कारण देश बिग्रिएको हो । हामीले भक्तपुर नगरपालिकामा भागबण्डाको प्रवृत्तिलाई भित्र्याउन दिएनौं । सबै काम पारदर्शी तरिकाले गर्दै आएका छौं । २०५६ सालमा भनपालाई ट्रान्सपरेन्सी इन्टरनेशनलले सदाचारको टापु घोषणा गरेको पनि यहाँ स्मरण गर्न चाहन्छौं ।
२०७२ सालमा भूकम्प गएपछि स्थानीय निकाय जनप्रतिनिधि बिहीन भएको कारण देशले धेरै समस्या भोग्नुपर्यो । सर्वदलीय संयन्त्रले काम गर्न सक्ने अवस्था थिएन । लाखौं घर र हजारौं सम्पदाहरु क्षतविक्षत भएको अवस्थाको पुनःनिर्माण राजनैतिक दलहरुको निम्ति ठूलो चुनौती बन्यो । त्यसपछि २०७४ सालमा निर्वाचन भएको हो ।
हामी २०७४ सालमा निर्वाचित हुँदा भक्तपुर भूकम्पले पुरै क्षतिग्रस्त अवस्थामा थियो । पूर्ण र आंशिक गरी ८ हजार घर र १२० भन्दा बढी सम्पदाहरु बिग्रे भत्केका थिए । त्यही मौकामा धेरै विदेशी गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु सहयोगको नाउँमा आउन थाले । नेपाल मजदुर किसान पार्टीले अरुको सहयोग लिनुभन्दा आफैले बनाउनेतिर जोड दियो । जर्मनी सरकारले यहाँका सम्पदा पुनःनिर्माणको लागि पठाएको १ करोड युरो (१ अर्ब २० करोड रुपैयाँ) समेत अस्वीकार गरी पैसा फिर्ता गर्यो र आफ्नै बलबुट्टाले पुनःनिमाणमा अघि बढ्ने भक्तपुर नगरपालिकाले उठोट गर्यो ।
जर्मनी पैसासँगै उनीहरुको स्वार्थ पनि थियो । अहिलेको एमसीसीका बुँदाहरु जस्तै कर्मचारी आफै नियुक्ति गर्ने, उनीहरुको सिफारिसमा सामान खरिद गर्नुपर्ने, मुद्दा परेमा जर्मनी कानुनअनुसार चलाउने, हिसाब उनीहरुकै अडिटरले हेर्ने, हाम्रा सम्पदाहरुमा हाम्रो कानून विपरीत दण्डी सिमेन्ट प्रयोग गर्ने जस्ता शर्तहरुको कारण हामीले त्यसलाई अस्वीकार गरेका थियौं । त्यतिबेला हाम्रा विपक्षीहरुले भक्तपुर कयौं वर्षसम्म भग्नावशेषमा रहने भयो भनेर खुबै आलोचना गरे । हामीले त्यसको कामले जवाफ दिने नीति लियौं । जनतालाई पुनःनिर्माणमा सहयोग गर्न आग्रह गर्यौं । विदेशी सहयोग लिएमा स्वाभिमानमा आँच पुग्न सक्नेबारे जनतालाई सम्झायौं । सम्पदाहरु निर्माणमा सयौं र हजारौं नगरबासीले सहयोग गरे । लाखौं र करोडौं सहयोग प्राप्त भयो ।
भक्तपुर विचार, सिद्धान्त र जनताको सेवा गर्ने भावनाले बनेको हो । जनतालाई निर्वाचनको बेला दिएको बचनअनुसार काम गयौं । ५ वर्षमा १२४ वटा सम्पदा पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भए भने अहिलेसम्ममा कूल १४५ वटा सम्पदाहरुको पुनः निर्माण सम्पन्न भएको छ । जनताको आर्थिक, भौतिक र श्रमदान समेतले गर्दा थोरै रकममा धेरै सम्पदाहरु पुनःनिर्माण गर्न सफल भर्यौं । जनप्रतिनिधि, राजनैतिक कार्यकर्ता र स्थानीय जनताका एक मनको एकताले नै भक्तपुर आजको अवस्थामा पुग्न सम्भव भएको हो ।
स्वास्थ्य क्षेत्रमा घरदैलो सुरु गर्यौं । नेपाल सरकारले पनि ३।४ वर्षपछि घरदैलो नर्स सुरु गर्यो । सुरुमा भक्तपुर र बर्दिबासमा लागू गर्यो भने अहिले अन्य नपामा पनि विस्तार गर्दैछ । यस अर्थमा पनि घरदैलो नर्सिङ पनि नेपालमा पहिलोपटक भक्तपुर नगरपालिकाले नै सुरु गरेको हो । वडा वडामा स्वास्थ्य केन्द्रहरु स्थापना गर्दैछौं । छिटो छरितो स्वास्थ्य सेवामा जनताका पहुँच पुर्याउने गरी काम गर्दैछौं । १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गरी जनताको सेवा गर्दैछौं । ख्वप तीलगंगा आँखा अस्पताल सञ्चालन, श्वासप्रश्वास केन्द्र र नागरिक आरोग्य केन्द्र स्थापना गरी जनतालाई सेवा प्रदान गरिरहेका छौं । एउटा एनजीओले निजी संस्थाको रुपमा सञ्चालन गरी रहेको क्यान्सर अस्पताललाई राज्यको स्वामित्वमा ल्याउन पहल गर्यौं र बनाएरै छाड्यौं । भक्तपुर अस्पताल पनि राम्रो अस्पताल बनेको छ । अंग प्रत्यारोपण केन्द्रले पनि राम्रो सेवा दिइरहेको छ । स्वास्थ्य सेवामा भक्तपुर अहिले धेरै अगाडि बढेको छ ।
विभिन्न सञ्चारमाध्यमहरुमार्फत हाम्रा गतिविधि जनतालाई जानकारी दिने उद्देश्यले सञ्चालन गरिरहेका छौं भने युवाहरुलाई विभिन्न सीपमूलक तालिमहरु दिइरहेका छौं । संविधान र कानुनको घेराभित्र बसेर जनताको सेवा गरिरहेका छौं ।
यो वर्ष अरनिको सभाभवन निर्माण कार्य अगाडि बढाउने, ख्वप विश्वविद्यालय सञ्चालन गर्ने, थन्थु दरबार पुनःनिर्माण गर्ने, उपचार पोखरीहरुको निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउने हाम्रो योजना छ । भक्तपुरलाई सफा, सुन्दर नगर र एउटा उदाहरणीय नगर बनाउने प्रयासमा लागिरहेका छौं । भक्तपुर आजको अवस्थामा आइपुग्न हजारौं जनताले प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नुभएको छ । आजको यो सभामार्फत ती सबै सहयोगी हातहरुलाई हार्दिक धन्यवादज्ञापन गर्दछौं । धन्यवाद ।
(२०८० पुस २ गते भक्तपुर नपाको ७४ औं स्थापना दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको मन्तव्य)

Leave A Reply

Your email address will not be published.