Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको ६९ औं स्थापना दिवसको अवसरमा नगर प्रमुख सुनिल प्रजापतिको मन्तव्य

सुनिल प्रजापति, प्रमुख, भक्तपुर नगरपालिका

0

भक्तपुर नगरपालिकाको ६९ औं स्थापना दिवसको अवसरमा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीहरूलगायत नगरपालिकालाई प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णलाई म हार्दिक धन्यवाद दिन चाहन्छु । नगर र नगरवासीको हितमा यहाँहरूले सदाझैं आगामी दिनहरूमा पनि सहयोग गर्ने आशा गर्दछु ।

हामी जनताबाट निर्वाचित भएर आएको डेढ वर्ष भयो । यस अवधिमा जनअपेक्षाअनुसार धेरै काम गर्न नसके पनि जनताबीच निर्वाचनको समयमा घोषणापत्रमार्फत् गरेका प्रतिबद्धतालाई एक एक गरी पूरा गर्दैछौं । हाम्रो आधार भनेको जनता हुन् । श्रमजिवी जनतालाई केन्द्रविन्दुमा राखेर हामीले काम गर्दैछौं । हामीलाई निर्वाचित गर्ने जनतालाई हामीले कहिल्यै बिर्सनेछैनौं ।

नगरपालिका स्थापना दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रस्थित प्रसिद्ध ५५ झ्याल दरबार आजबाट स्वदेशी र विदेशीको लागि पुनः खुला गरेका छौं । स्वदेशीको लागि सामान्य सशुल्क र विदेशीको लागि निःशुल्कको व्यवस्था मिलाएका छौं । यसबाट भक्तपुरप्रति आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षण बढ्ने हाम्रो विश्वास छ ।

हामीलाई थाहा छ, जनताका असीमित आवश्यकताहरू हुन्छन्, स्रोत र साधनहरू अत्यन्त न्यून छन् । सीमित स्रोत र साधनहरूबाट जनताका सबै समस्याहरू छोटो अवधिमा समाधान सम्भव छैन । यद्यपि संविधान र कानुनले प्रदान गरेको अधिकार क्षेत्रभित्र रहेर एक एक गरी आवश्यकताको आधारमा प्राथमिकताक्रम तोकी विकास निर्माणदेखि विभिन्न क्षेत्रमा काम सम्पन्न गर्ने प्रयास गर्दैछौं ।

नगरपालिकाको ६९ औं स्थापना दिवस मनाइरहँदा विगतभन्दा केही फरक अनुभूति भएको छ । विगतको स्थानीय निकाय अहिले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहितको अधिकार सम्पन्न स्थानीय तह भएको छ । शिक्षा, स्वास्थ्य, सहकारी, कृषि, समाज कल्याण, भेटनरीजस्ता विगतमा केन्द्रीय सरकार मातहत सञ्चालन हुने कार्यालयहरूको जिम्मेवारी पनि नगरपालिकामा आएको छ । संविधान र कानुनले जनताको नजिकको सरकार भनी चिनिने स्थानीय तहलाई अत्यन्त बलियो बनाइदिएको छ । तर केन्द्र सरकारमा बस्ने नेता र प्रशासकहरूमा अहिले पनि केन्द्रीकृत मानसिकता नै रहेको हु“दा व्यवहारमा स्थानीय तहहरूले केही समस्या भोग्नु परिरहेको छ ।

संघीय राज्य व्यवस्थामा विकास निर्माणका सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिइनुपर्छ । केन्द्र र प्रदेश सरकार नीति निर्माण गर्ने थलो हुन् । विकास निर्माणको सबै बजेट स्थानीय तहलाई दिएमा जनताको सहयोगबाट विकास निर्माणका कामहरूलाई तीव्रताका साथ अगाडि बढाउन सहयोग मिल्नेछ । विकास निर्माणको काम ठेक्कापट्टामा दिने ऐन–नियममा सुधार गर्न आवश्यक छ । ठेकेदारले गरेको कामको प्रभावकारी नियमन नहुँदा देशको अर्बौंको विकास बजेट बालुवामा पानी खन्याएसरह भएको छ । भ्रष्ट ठेकेदार र इञ्जिनियरहरू दण्डित नभएकै कारण अहिले देशका विभिन्न क्षेत्र बिग्रिरहेका छन् । भक्तपुर नगरपालिका सचेत भएर अधिकांश विकास निर्माणको काम अमानत वा उपभोक्ता समितिमार्फत गर्दै आएको छ ।

भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, पर्यटकीय गन्तव्यस्थल र सरसफाइको नमुना नगर बनाउने उद्देश्यले जनप्रतिनिधिहरू लागिरहनुभएको छ । जनप्रतिनिधिहरूको हरेक काममा नगरवासीहरूको निरन्तर साथ र सहयोग प्राप्त भएको छ । हामीलाई साथ र सहयोग गर्ने सम्पूर्ण नगरवासीहरूमा यस अवसरमा हार्दिक  कृतज्ञता ज्ञापन गर्दछौं ।

२०७२ सालको भूकम्पले भक्तपुर नगरभित्र मात्रै १३० भन्दा बढी सम्पदाहरूमा क्षति पुग्यो । ती सम्पदाहरूको निर्माण कार्य तीव्र गतिमा अगाडि बढ्दैछ । हालसम्ममा ३६ वटा सम्पदाहरू नगरपालिकाले निर्माण सम्पन्न गरिसकेको छ भने नेपाल सरकार र पुरातत्व विभागले पनि कतिपय सम्पदाहरू निर्माण सम्पन्न गरिसकेको छ । नगरपालिका र पुरातत्व विभागको समन्वयमा बाँकी सम्पदाहरू निर्माणमा हाम्रो ध्यान केन्द्रित छ ।

भनपाले प्रसिद्ध भैरवनाथ मन्दिरको जीर्णोद्धार कार्य सुरु गरेको छ भने केदारनाथ मन्दिर निर्माण अन्तिम चरणमा पुगेको र वत्सला मन्दिरको काम ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । त्यसको अलावा वडा–वडामा अवस्थित दर्जनौं पाटी–पौवा, ढुंगेधारा, पोखरी, सतल, मठ–मन्दिरहरूको निर्माण कार्य तीव्र गतिमा भइरहेका छन् ।

जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै घर–घरमा नर्सिङ सेवा र वडा–वडामा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौं । त्यसबाट महिला तथा ज्येष्ठ नागरिकहरू लाभान्वित भएका छन् भने प्राप्त रिपोर्टबाट हामीलाई सोच्न बाध्य बनाएको छ । विगतभन्दा नितान्त फरक रोगहरूले नगरवासीहरूको स्वास्थ्यमा घर जमाउन थालेका छन् । क्यान्सर, चिनीरोग, उच्च रक्तचाप, थाइरोइडजस्ता नसर्ने रोगहरू बढी देखिएका छन् । यसबारे सचेत पार्न स्वास्थ्य शिक्षा कार्यक्रम, स्वास्थ्य शिविरलगायतका गतिविधिहरू  पनि नगरपालिकाले गर्दै आएको छ ।

विभिन्न कलेजहरू सञ्चालन गरी सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी स्थानीय राजनीति, इतिहास, भूगोल, खेलकुद, संस्कृति समेत विद्यालय तहबाटै अध्यापन सुरु गरेको छ ।

कला–संस्कृतिले भरिएको भक्तपुर विस्तारै पर्यटकीय गन्तव्यस्थलको रुपमा परिचित हुँदैछ । गत आ.व. २०७४/७५ मा साउनदेखि मंसिरसम्मको ५ महिनाको अवधिमा विदेशी पर्यटकहरूको संख्यामा २० प्रतिशत वृद्धि भएको छ । चिनिया“ पर्यटककहरूको संख्यामा उल्लेख्य वृद्धि भइरहेको हुँदा नगरपालिकाले चिनियाँ भाषाको तालिम कक्षा पनि सञ्चालन गर्दै आएको छ । २०७५ साल कार्तिक २९ गते जनवादी गणतन्त्र चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुकाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले भक्तपुरको अवलोकन भ्रमण गर्‌यो । मन्त्री सुकाङले दरबार क्षेत्रको भ्रमणपछि ‘भक्तपुर विश्व सम्पदामा सूचीकृत सहर भएको र चिनिया“ पर्यटकहरूको तीर्थस्थलको रुपमा रहेको’ भनी भक्तपुरको प्रशंसा गर्नुभयो । यसबाट नेपाली र चिनियाँ जनताबीचको सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास छ ।

त्यसको अलावा भक्तपुर नगरपालिकाले नेपालभाषा लिपी, सिल्पकलाजस्ता सीपमूलक तालिम र कृषिसँग सम्बन्धित माटो परीक्षण, गद्यौला मल बनाउने, च्याउ खेती, बेमौसमी तरकारी उत्पादन, विषादी प्रयोग विधिलगायतका तालिमहरू सञ्चालन गर्दै आएको छ । त्यस्तै स्थानीय युवाहरुलाई लक्षित गरी स्थानीय पथ प्रदर्शक तालिम पनि संचालन गरेका छौं ।

खेलकुद विकासको लागि निर्वाचन घोषणापत्रअनुसार गत वर्ष अन्तरनगर भलिबल प्रतियोगिता सम्पन्न गरेकोमा यो वर्ष अन्तरनगर कराँते प्रतियोगिता गर्ने तयारी गरेका छौं । अन्तर विद्यालय खेलकुद प्रतियोगिता २०७५ कार्तिक ११ गतेदेखि १७ गतेसम्म सम्पन्न भयो । ७० विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा १८०० भन्दा बढी खेलाडी विद्यार्थीहरू सहभागी भएका थिए ।

विद्यार्थीहरूको अध्ययनको क्षेत्र व्यापक बनाउन र गतिविधिमा सक्रिय बनाउन विश्व सर्वहारा वर्गका महान गुरु कार्ल माक्र्सको द्विशतवार्षिकीको अवसरमा पुस ८ र ९ गते निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेका छौं । कक्षा ११ र १२ तथा कक्षा ९ र १० का विद्यार्थीहरूलाई छुट्टाछुट्टै विषय दिएका छौं । कक्षा ९ र १० को लागि ‘वैज्ञानिक समाजवाद आजको आवश्यकता’ र ‘कला संस्कृति संरक्षणमा भक्तपुर नगरपालिका’ विषयक निबन्ध प्रतियोगिता हुने र कक्षा ११ र १२ को लागि ‘समाजवादी शिक्षा व्यवस्था : आवश्यकता र महत्त्व’ तथा आधुनिक समाज विकासमा माक्र्सवादी दृष्टिकोण विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेका छौं ।

हाम्रा परम्परागत बाजा र सांस्कृति विधाहरूको संरक्षण गर्ने उद्देश्यले बाजा गुरुहरूको सम्मान गर्ने, बाजा प्रतियोगिताहरू गर्ने गर्दै आएका छौं । २०७४ सालमा नगरस्तरीय बाँसुरी बाजा प्रतियोगिता सम्पन्न गर्यौं भने २०७५ पुस २१ गते नगरस्तरीय धाँ बाजा प्रतियोगिता गर्ने घोषणा गरेका छौं । हामी अहिले त्यसैको तयारीमा छौं ।

भक्तपुर नगरपालिकाले विदेशीको पैसाबाट सञ्चालन हुने गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई नियमन गर्ने प्रयास गरिरहेको छ । जथाभावी हचुवाको भरमा कुनै पनि संस्थालाई काम गर्न स्वीकृति दिएको छैन ।

खानेपानी, ढल निकास, सडकलगायत सबै विषयमा जनताको आशाको केन्द्र अब स्थानीय तह हुन पुगेको छ । तर खानेपानी र ढलको पैसा केयुकेएलले उठाउने काम जति नगरपालिकाले गर्र्नुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी छ ।

भक्तपुर नगरपालिकाले विभिन्न क्षेत्रमा गरिरहेको काम अहिले देशभरि चर्चाको विषय बनेको छ । देशका विभिन्न नगरपालिका, महानगर र उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र जनप्रतिनिधिहरूको भक्तपुर भ्रमण र अनुभवको आदानप्रदानले हामीलाई काम गर्न अझ हौसला मिलेको छ । यहाँ जति पनि राम्रा कामहरू भए ती सबै यहा“का जनताको साथ र सहयोगले सम्भव भएको हो ।

भनपाको हरेक गतिविधि जनतालाई सुसूचित गर्ने उद्देश्यले ‘भक्तपुर’ मासिक पत्रिकालाई निरन्तरता दिंदै ‘ख्वप पौ’ नेपाल भाषा प्रकाशन पाक्षिक रुपमा सुरु गरेका छौं । फेसबुक पेज, भक्तपुर खबर अनलाइन पत्रिका, ‘ख्वप सः’ एफ.एम.मार्फत् हप्ताको दुई दिन प्रसारण गर्दै आएका छौं ।

हाम्रा हरेक सानाभन्दा साना गतिविधि जनताले जानकारी पाउन् भन्ने हाम्रो उद्देश्य हो । निरन्तर सही सल्लाह र सुझाव दिएर जनताको सेवा गर्ने हाम्रो भावनामा ऊर्जा थप्ने तमाम जनता, कर्मचारी र जनप्रतिनिधिहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको ६९ औ स्थापना दिवस समारोहमा दिनुभएको मन्तव्य)

Leave A Reply

Your email address will not be published.