Explore news and happenings at Bhaktapur

जनस्वास्थ्य केन्द्रमा दैनिक ४ सय ५० देखि ५ सयको हाराहारीमा बिरामीको उपचार भइरहेको छ

डा. रत्नसुन्दर लासिवा, जनस्वास्थ्य केन्द्र,इन्चार्ज

0

– जनस्वास्थ्यमा डेँगु प्रभावित बिरामीहरूको चाप कस्तो छ ?
डेँगुको सङ्क्रमण भक्तपुरमा देखिनथालेसँगै जनस्वास्थ्य केन्द्रमा अति व्यस्तता बढेको छ । डेँगुको समस्या आउनुअघि जनस्वास्थ्य केन्द्रमा दैनिक ३ सयदेखि ३ सय ५० जना बिरामी उपचारको लागि आउने गर्थे । अहिले दैनिक ४ सय ५० देखि ५ सयको हाराहारीमा बिरामीको उपचार भइरहेको छ ।

– डेँगुबाट बच्न के गर्नुपर्ला ? डेँगुबाट सङ्क्रमित भएका बिरामीहरूले विशेष केमा ध्यान दिनुपर्छ ?
डँेगु रोगबाट बच्ने सबैभन्दा राम्रो उपाय डँेगु फैलाउने लामखुट्टेको वृद्धि र विकास रोक्नु हो । त्यसको निम्ति डेँगु रोग फैलाउने लामखुट्टेको वृद्धि विकास हुने ठाउँको खोजी कार्य व्यापकरूपमा अगाडि बढाउनुपर्छ र तिनलाई नष्ट गर्नुपर्छ । सङ्क्रमित लामखुट्टेको टोकाइबाट बच्न शरीरको सबैजसो भाग छोपिने लुगा लगाउनुपर्छ । नछोपिने भागमा लामखुट्टे भगाउने क्रिम वा औषधि लगाउनुपर्छ ।
डेँगुबाट सङ्क्रमित भएका बिरामीहरूले झोल पदार्थको सेवन बढाउनुपर्छ । आफूखुसी औषधि प्रयोग नगरी स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्नुपर्छ । धेरै आत्तिनु हुन्न र आराम गर्नुपर्छ । केही गरी समस्या जटिल बन्दै भएको अनुभव भएमा वा हेरविचार गर्नेले थाहा पाएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ ।

– डेँगुको प्रकोप आउनुअघि जनस्वास्थ्यमा आउने बिरामी सङ्ख्या बढ्दो छ । बिरामीको लाइन लामो देखिन्छ । व्यवस्थापन कसरी गर्नुभएको छ ?
जनस्वास्थ्य सेवा केन्द्रमा भएका बिरामीहरूले लामो लाइन व्यवस्थापनको लागि केही प्रयास भएको छ । हुल घटाउन औषधि पसल अन्यत्र सारिएको छ भने टिकट बुकिङ व्यवस्था गर्ने विषयमा सल्लाह भएको छ ।

– जनस्वास्थ्यमा बिरामी सङ्ख्या बढ्नुको कारण के होला ? अहिलेकै जनशक्ति, मेसिनरी सामान–सुविधाहरू र भौतिक पूर्वाधार पर्याप्त छन् र ?
जनस्वास्थ्यमा बिरामी सङ्ख्या बढ्नुका केही कारणहरूमध्ये पहिलो बिरामीले जनस्वास्थ्यमा अपनत्व महसुस गर्नु हो । यहाँ आउने बिरामी जनस्वास्थ्य सेवा केन्द्र हाम्रा लागि हामीले नै चुनेका जनप्रतिनिधिको रेखदेखमा सञ्चालनमा भएकोले राम्रो गर्छन् भन्ने उनीहरूको विश्वास छ ।
दोस्रो कारण, स्वास्थ्य केन्द्र सञ्चालन दुवै समय काम गरी खाने जनताको लागि सुविधाजनक देखिएको छ । अर्को कारण भनेको जनस्वास्थ्य केन्द्रका सेवा अन्यत्रभन्दा केही सस्तो पनि भएकोले हो कि भन्ने हाम्रो बुझाइ छ ।

– जनशक्ति, मेसिनरी सामान–सुविधाहरू र भौतिक पूर्वाधार थप्न केही पहल गरिरहनु भएको छ कि ?
जनशक्ति तथा मेसिनरी सामानहरू केही थप गरिसकेका छौँ भने अरु पनि थप्ने क्रममा छ ।
भौतिक पूर्वाधारको हिसाबले अहिले अलि समस्या नै देखिए पनि अब एक दुई महिनापछि ती समस्या समाधान हुने कुरा यहाँमार्फत सेवाग्राहीले जनतामाझ पु¥याउन चाहन्छु ।

– विशेषज्ञ डाक्टरहरूले जाँच्ने बिरामी सङ्ख्या कति छन् ? बिरामी सङ्ख्या निश्चित गरिँदा कति बिरामीहरू उपचार नपाई फर्किनुपरेको गुनासो छ नि !
विशेषज्ञ चिकित्सकहरूले सामान्यतः एक घण्टामा दस जना बिरामीको हिसाबले जाँच गर्दा गुणस्तर कायम रहन्छ भने हाम्रो मान्यता हो र सोहीअनुरुप उहाँहरूले बिरामी जाँच गरिरहनुभएको छ ।

– स्वास्थ्य बीमाको कारण पनि बिरामी सङ्ख्या बढेको हो कि ?
पक्कै पनि जनस्वास्थ्यमा बिरामी सङ्ख्या बढ्नुमा स्वास्थ्य बीमा कार्यक्रमको ठूलो भूमिका छ । तर, महत्वपूर्ण कुरा बिरामीले जनस्वास्थ्य सेवा केन्द्रमा अपनत्व महसुस गरेका कारण स्वास्थ्य बीमामा पहिले बिन्दु जनस्वास्थ्य सेवा केन्द्रलाई नै बनाएको देखिन्छ ।

– डाक्टरहरूले बीमाअन्तर्गत पाइने औषधिभन्दा फरक औषधि सिफारिस गर्ने गरेको र डाक्टरहरूले औषधि कम्पनीका प्रतिनिधि (एमआर) को सल्लाहमा औषधि लेख्ने गरेको सुनिन्छ । त्यस्तो हो र ?
चिकित्सकहरूले बीमाअन्तर्गत पाइने औषधिका साथै अन्य औषधि पनि सिफारिस गरेका हुन्छन् । त्यो बिरामीको रोग र आवश्यकताअनुसार हुन्छ । अधिकांश लेखिएका औषधि बीमाअन्तर्गतकै हुन्छन् । तर, बीमा सुचीअन्तर्गत नपरेका औषधि बिरामीले किन्नुपर्छ । सेवाको हकमा कुनै सेवा खरिद गर्नुपर्ने हुन्छ । जस्तै दाँत, आँखा तथा छाला रोगसम्बन्धी सेवा धेरैजसो बीमामा नपर्ने पनि छन् ।
चिकित्सकहरूले औषधि व्यवसायीका प्रतिनिधि (मेडिकल रिप्रिजेन्टेटिभ) को सल्लाहमा औषधिमा लेख्नुपर्छ भन्ने हुन्न । उनीहरूको काम आफ्नो कम्पनीको औषधि राम्रो र गुणस्तरीय छन् भनी प्रचारप्रसार गर्नु हो । तर, राम्रा औषधि लेख्ने स्वविवेक प्रयोग गर्ने काम चिकित्सक तथा स्वास्थ्यकर्मीको हो ।

– कुन र कस्तो बिरामीले बीमाअन्तर्गत कुन कुन औषधि पाउँछन् ?
औषधिहरू हजारौँ हजार थरीका हुन्छन् । तीमध्ये नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमले ११२३ थरी औषधि तथा सेवा बीमाअन्तर्गत उपलब्ध गराएको छ । तीमध्ये कुनै पनि स्वास्थ्य संस्थामा सञ्चालनमा रहेका सेवा सुविधाको आधारमा ती औषधि तथा सेवा प्रवाह हुन्छन् । सर्वसाधारण सबैको सहजताको लागि हामीले ती सेवा तथा सुविधाहरू हाम्रो औषधि पसलमा सूचना टाँस गर्ने तयारी गरेका छौँ ।

– स्वास्थ्य बीमाकर्ताहरूले जनस्वास्थ्यमा समन्वय गर्छन् कि गर्दैनन् ?
स्वास्थ्य बीमाकर्ताहरूले जनस्वास्थ्यसँग गर्ने सहकार्यमा केही शिथिलता आएको महसुस भएको छ । त्यसको लागि समन्वय गराउन हामीले स्वास्थ्य बीमा कार्यालय भक्तपुरलाई अनुरोध गरेका छौँ ।

Leave A Reply

Your email address will not be published.