Explore news and happenings at Bhaktapur

‘सामुदायिक विद्यालय सुधारको जिम्मा निजी विद्यालयलाई दिनु राज्यको गैर जिम्मेवारीपन हो’– नगर प्रमुख सुनिल प्रजापति

सुनिल प्रजापति, प्रमुख, भक्तपुर नगरपालिका

0

सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने र २१ औं शताब्दीका लागि योग्य नागरिक तयार गर्ने उद्देश्यले आजभन्दा दुइ दशक अगाडि ख्वप माविको स्थापना र त्यसपछि ख्वप कलेज हुँदै २ वटा इन्जिनियरिं कलेज सहित ६ वटा कलेज गरी ७ वटा शैक्षिक संस्थाहरु भक्तपुर नगरपालिकाले सञ्चालन गर्दै आएको छ । २ दशकको निरन्तरको प्रयासपछि ती सबै शैक्षिक संस्थाहरु देशकै उत्कृष्ट शैक्षिक संस्थाहरुका रुपमा स्थापित भएका छन् । देशभरका झण्डै ६ हजार विद्यार्थी अध्ययनरत ती शैक्षिक संस्थाहरुे स्थानीय तहबाट सञ्चालित नेपालकै पहिलो शैक्षिक संस्थाहरु हुन् ।

देशमा आर्थिक उदारीकरणको नीति लागू भएसँगै निजी विद्यालय र कलेजहरु व्यापक रुपमा खोलिन थालियो । सरकारको पूर्ण स्वामित्वमा नयाँ विद्यालय, कलेज र विश्वविद्यालयहरु स्थापना र संचालन गर्ने प्रकृया पुरै बन्द भए । शिक्षालाई सार्वजनिक सेवाको रुपमा लिइनुपर्नेमा सरकार स्वयंले निजी बेचबिखनको वस्तु झै बनाउँदै लग्यो । महँगा महँगा विद्यालय र कलेजहरुमा गरिब जनताका छोराछोरीहरुले पढ्न सक्दैनन् । प्रतिस्पर्धी निजी शैक्षिक संस्थाहरुसामु सामुदायिक शैक्षिक संस्थाहरु ओझेलमा पर्दै गए । सर्व साधारण जनतामा पनि सामुदायिक शैक्षिक संस्थाहरु राम्रो नभएको छाप पर्न थाल्यो । कतिपय गरिब परिवारलेसमेत आफ्ना सन्तानको भविष्यका लागिभन्दै खाइ नखाइ निजी शैक्षिक संस्थाहरुमा पढाउने संस्कारको विकास हुँदै गयो । भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाहरुले उत्कृष्ट नतिजा दिइरहेका छन् । स्थानीय जनता, जनप्रतिनिधि, व्यवस्थापन समिति, शिक्षक प्राध्यापक, अभिभावक र विद्यार्थी सबैको संयुक्त प्रयासले यो सम्भव भएको हो ।

अहिले सरकारमा बस्ने राजनैतिक दलले निर्वाचन घोषणापत्रमा शिक्षाको लागि कूल बजेटको २० प्रतिशतसम्म विनियोजन गर्ने बताएको थियो । निर्वाचनपछि गठित दुई तिहाईको सरकारले निर्वाचन घोषणापत्रलाई बिर्सेर शिक्षामा बर्सेनी बजेट कम गर्दै लगेको छ । चालू आ.व २०७७।७८ मा झण्डै १० प्रतिशत पुर्याइको छ । त्योसँगै राज्य शिक्षाको महत्वपूर्ण जिम्मेवारीबाट पुरै पन्छिन खोज्दैछ । सामुदायिक विद्यालय सुधारको जिम्मा निजी विद्यालयलाई दिनु त्यसको ज्वलन्त उदाहरण हो । यो आर्थिक वर्षको बजेटमा संस्थागत विद्यालयलाई सामाजिक उत्तरदायित्व पूरा गर्न एक सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार सामाग्रीसहित शैक्षिक गुणस्तर सुधार्ने जिम्मेवारी दिने नीति घोषणा ग¥यो । यो संघ सरकारको गैर जिम्मवोर र लज्जास्पद कार्य हो । व्यवहारले यो शैक्षिक माफियाहरुको स्वार्थबाट प्रेरित भएर आएको अनुमान गर्न सकिन्छ ।

नेपालको संविधानमा मावि तहसम्म निःशुल्क शिक्षाको व्यवस्था छ । मौलिक हकमा राखिएको व्यवस्था कार्यान्वयन गर्नतिर सरकारले ध्यान दिएको छैन । संविधान अनुसार कक्षा ११ र १२ मावि अन्तर्गत पर्छ । अहिलेसम्म सरकारले आवश्यक न शिक्षक दरबन्दीको व्यवस्था ग¥यो न कुनै भौतिक पूर्वाधार वा अनुदानकै व्यवस्था गरेको छ । त्यसैले सामुदायिक विद्यालयहरु विद्यार्थीहरुबाट पैसा उठाएर पढाउन बाध्य छन् ।
सरकारले आवश्यक व्यवस्था गरी नदिन्दा हाम्रा शैक्षिक संस्थाहरु परनिर्भर हुँदै गएका छन् । स–साना सेमिनार, गोष्ठी, अन्तरक्रिया वा तालिमहरु तथा सासाना विकास निर्माणका काम गर्न समेत विदेशीको मुख ताक्नुपर्ने अवस्थामा पुगेका छन् । विदेशीहरुले नेपाली विद्यार्थीहरुमा भएको अन्यायविरुद्ध लड्ने संघर्षशील भावनालाई कमजोर बनाउन पनि तालिम र सेमिनारको नाउँमा करोडौं पैसा खर्च गरिरहेका हुन्छन् । यसबारे हाम्रा शिक्षक विद्यार्थीहरु सँधै सचेत हुनुपर्छ ।

भक्तपुरका कुनै पनि विद्यार्थी पैसाको कारण उच्च शिक्षा हासिल गर्ने अवसरबाट बञ्चित नहोस् भन्ने हाम्रो सोच हो । विगत दुई वर्षदेखि गरिब परिवारका विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न रु. ५ लाखसम्म सहुलियत ब्याजदरमा नगरपालिकाले ऋण प्रदान गर्दै आएको छ । यो आ.व. २०७७।७८ मा १४२ जना विद्यार्थीहरुले उच्च शिक्षा पढ्न शैक्षिक ऋण माग गरेका छन् । वडा वडामा शिशु स्याहार केन्द्रको सञ्चालन, मावि, कलेजहरु स्थापना र सञ्चालन गर्दै शैक्षिक ऋणसमेत प्रदान गरी नगरपालिकाले आफ्नो स्रोत र साधनले भ्याएसम्म शिक्षाको जिम्मेवारी बहन गर्दैै आएको यहाँहरुमा जानकारी गराउन चाहन्छौं ।

देशको लागि भविष्यमा आवश्यक पर्ने शैक्षिक जनशक्ति उत्पादन गर्न इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपाल भाषा लिई जुनसुकै कलेज र विश्वविद्यालयमा अध्ययतरत नगरबासी विद्यार्थीहरुलाई सम्पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको पनि जानकारी गराउँछौं ।
हामीले ख्वप विश्वविद्यालय सञ्चालनको लागि पनि प्रयास गर्दै आएका छौं । संसदीय समितिले समेत विश्वविद्यालय सञ्चालनको लागि सिफारिस गरीसक्दा पनि विधेयक संसदबाट पारित हुन सकेको छैन । विधेयक पारित भएमा शिशुशालादेखि विश्वविद्यालय तहसम्म सञ्चालन गर्ने भक्तपुर नगरपालिका देशकै पहिलो स्थानीय तह हुनेछ । सायद त्यो पनि छिटै आउने आशा गर्दछौं । धन्यवाद ।

( २०७७ फागुन १४ गते सम्पन्न भक्तपुुर नगरपालिकाद्वारा संचालित ख्वप माध्यमिक विद्यालयकोे २१ औं, ख्वप कलेजको १९ औं र शारदा क्याम्पसको ३० औं वार्षिक उत्सव कार्यक्रम – २०७७ मा कलेज ।मा.वि.व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख सुनिल प्रजापतिले व्यक्त मन्तव्यको सार संक्षेप)

Leave A Reply

Your email address will not be published.