Explore news and happenings at Bhaktapur

लैङ्गिक हिंसा विरुद्ध कानुनी सारक्षता अभियान कार्यक्रम सम्पन्न

भक्तपुर, २०७७ फागुन १५ गते शनिबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा १ नं वडा स्तरीय सामुदायिक प्रहरी समिति र नपली सिर्जनानगर सामुदायिक प्रहरी टोल समितिको संयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध कानुनी साक्षरता अभियान कार्यक्रम एक समारोहबीच आज नपली, सिर्जनानगरमा सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि प्रजापतिले लैङ्गिक हिंसा जहाँ शिक्षा, अज्ञानता र गरिबी छ त्यहाँ बढी हुन्छ भन्नुहुँदै म्यानपावर कम्पनी एक प्रकारले मान बेचविखन गर्ने अखडाको रुपमा विकास हुँदै गएको बताउनुभयो ।

उहाँले सभ्य र सुसंस्कृत समाज निर्माणको निम्ति सबै खालको अपराध न्यूनीकरण पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुहुँदै समाज उत्थानको लागि हरेक तह र तप्काबाट सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै ७ वटा कलेजहरु संचालन गर्दै १०० शैयाको ख्वप अस्पताल निर्माण अन्तिम चरणमा पुगेको बताउनुहुँदै नपाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रले कोभिड–१९ को संक्रमण उच्च रहेको बेला नगरबासीको निरन्तर सेवा गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रमुख प्रजापतिले संसद पुनःर्स्थापना पश्चात पनि देशमा राजनैतिक स्थिरता नआउने स्पष्ट पार्नुहुँदै चुनाव जनताको राजनैतिक स्तर नाप्ने ब्यारोमिटर हो तर संसद पुनःर्स्थापना पश्चात जनतालाई प्रशिक्षित गर्ने सो अवसर गुमेको छ भन्नुभयो ।

कार्यक्रमका सभापति एवं भनपा–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडावासीहरुलाई सचेत गराउने उद्देश्यले लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन गरिरहेको चर्चा गर्नुहुँदै भनपाले वडा–वडामा महिलाहरुलाई आत्मरक्षासम्बन्धी तालिम सञ्चालन गरिरहेको उल्लेेख गर्नुुुुभयो ।

उहाँले १०८ रोपनी र हनुमन्ते खोलोको किनारमा बसी गाँजाको कुलतमा फसेका युवाहरुलाई रोक्ने प्रयास गरिरहेको बताउनुहुँदै युवाहरुलाई लक्षित गरी भनपाले विगतमा झै शहिद दिवसको अवसरमा फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म अन्तर नगर बुद्धिचाल प्रतियोगिता सञ्चालन गर्न लागिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त जगानीका उपरिक्षक राजेश थापाले समाज अगाडि बढाउनको लागि शान्ति सुरक्षा अतिआवश्यक विषय रहेको स्पष्ट पार्नुहुँदै नेपाल प्रहरीको तर्फबाट लैङ्गिक हिंसा, लागु औषध तथा अन्य असामाजिक क्रियाकलाप न्यूनीकरणका लागि गाउँ–नगरका टोल–टोलमा कार्यक्रमहरु निरन्तर गरिरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नपली सिर्जनानगर प्रहरी टोल समितिका संयोजक एवं नगर सभासद सूर्यप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो भने औपचारिक कार्यक्रम पश्चात दोस्रो चरणको कार्यक्रममा प्र.नि. सूर्यबहादुर शाहीले लैङ्गिक हिंसा विरुद्ध कानुनी साक्षरतासम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.