Explore news and happenings at Bhaktapur

‘कोभिडको महामारीमा परेका श्रमिकहरूको व्यवस्थापनमा स्थानीय तहको भूमिका’ बारे प्रतिनिधिसभा समितिमा छलफल

२०७७ कार्तिक २४ गते, सोमबार

0

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आयोजनामा कोभिड १९ महामारीको मारमा परेका श्रमिकहरूको व्यवस्थापनका लागि काठमाडौं उपत्यकाका स्थानीय तहहरूले गरेको व्यवस्था सम्बन्धमा सोमबार संघीय संसद सचिवालयको सभाकक्षमा बैठक सम्पन्न भयो ।

समितिका अध्यक्ष माननीय विमलप्रसाद श्रीवास्तवको सभातित्वमा सम्पन्न उक्त बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना रोकथाम तथा नियन्त्रणको लागि महानगर र नगरपालिकाबाट भए/गरेका गतिविधि र कार्यहरूबारे अवगत गराउनुभयो ।

बैठकमा समितिका सभापति विमलप्रसाद श्रीवास्तवले कोरोना महामारीबीच काठमाडौं उपत्यकाको सरसफाईमा विशेष जोड दिनुपर्ने र विपन्न वर्गका श्रमिकहरूको निम्ति रोजगारी सिर्जनाको लागि स्थानीय तहहरूले आवश्यक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कोरोनाको महामारी दिन प्रतिदिन बढ्दै गएको औंल्याउनुहुँदै सभापति श्रीवास्तवले बजारमा हुने भीड व्यवस्थापन, श्रमिक जनताको लागि रोजगारी सिर्जना, ढल व्यवस्थापनलगायतका कार्यहरूको व्यवस्थापनको लागि आग्रह गर्नुभयो । भक्तपुर नगरपालिकाले एकद्वार प्रणालीमार्फत कोभिड महामारीमा परेका पीडित जनतालाई राहत वितरण गरेको उहाँले बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशमा कोरोनाको कारण भयावह स्थिति आउँदा समेत संविधानले निर्दिष्ट गरेबमोजिम संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको अभाव महसुस भएको बताउनुभयो । कोरोनाबाट समाजलाई जोगाउन भक्तपुरका जनप्रतिनिधिहरू सक्रियतापूर्वक लागिरहेका बताउनुहुँदै प्रमुख प्रजापतिले कोरोनाविरुद्ध लड्न एकीकृत शक्तिको खाँचो औंल्याउनुभयो ।

भक्तपुर नगरपालिकाले ७५ शैय्याको छुट्टै आइसोलेसन केन्द्र सञ्चालन गरिरहेको र नगरपालिकाद्वारा संचालित आइसोलेसन केन्द्रमा ८८ जना नगरबासीहरूले सेवा प्राप्त गरिसकेको बताउनुहुँदै प्रमुख प्रजापतिले घरमै आइसोलेसनमा बस्नेहरूको लागि नगरपालिकाले ७२ घण्टाको एकपटक छट्टै टोलीले फोहर संकलन गर्ने व्यवस्था, स्वास्थ्य परामर्शको लागि २ जना चिकित्सक र अन्य व्यवस्थापनको लागि आवश्यक कर्मचारीहरूको व्यवस्था गर्दै आएको बताउनुभयो ।

बैठकमा काठमाडौं महानपाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकास्तरीय आइसोलेसन निर्माणको लागि आवश्यक पहल भइरहेको अवगत गराउनुहुँदै उपत्यकाका अस्पतालहरूमा कोरोना संक्रमितहरूको उपचारको लागि आइसीयु र भेन्टिलेटरको अभाव रहेको औंल्याउनुुभयो । काठमाडौं महानपाले मानव सेवा आश्रमसँग सहकार्य गरी श्रमिक जनताको हितमा आवश्यक सहयोग कार्यलाई अगाडि बढाइरहेको बताउनुहुँदै प्रमुख शाक्यले काठमाडांै महानगरपालिकाले २३ हजार नगरबासीहरूको निःशुल्क पीसीआर परीक्षण गरिसकेको बताउनुभयो ।

विभिन्न संघ संस्थाले काठमाडौंको खुलामञ्चमा अव्यवस्थित तरिकाले गरिरहेकोे खाना वितरण कार्यलाई काठमाडौं महानपाले बन्द गर्ने निर्णय गरेको बताउनुहुँदै उहाँले कोरोना संक्रमण जोखिमका कारण काठमाडौंको सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेका जात्रा र पर्वहरू सामान्य रुपमा मनाउन नगरबासीहरूमाझ आग्रह गरेको बताउनुभयो ।

बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य माननीय बिन्दा पाण्डेले काठमाडौंको खुलामञ्चमा खुला भइरहेको अस्वस्थकर खाना खुवाउने कार्य बन्द गरी उचित ठाउ“को व्यवस्थापन गर्नुपर्ने, आइसोलेसनको व्यवस्थापन प्रभावकारी ढंगबाट हुुनपर्ने र स्थानीय तहका श्रमिकहरूको सूची दर्ता व्यवस्थित ढंगले राख्नुपर्ने बताउनुभयो ।

मा. अभिषेकप्रताप शाहले हाल समुदायस्तरमा कोरोना संक्रमितहरू बढिरहेको हुँदा रोकथाम र नियन्त्रणमा थप चुनौती थपिरहेको बताउनुहुँदै उपत्यका छिर्ने नाकाहरूमा व्यवस्थित ढंगले सवारीसाधनहरूमा विषाणुनासक औषधिहरू छर्ने कार्य हुनुपर्ने, गरिब वर्गलाई खाना खुवाउनुभन्दा रोजगारी सिर्जना गरिनुपर्ने बताउनुभयो ।

मा. भीमसेनदास प्रधानले कोरोना नियन्त्रण र रोकथामको लागि राज्य नै क्रियाशील हुुनुपर्ने बताउनुहुँदै कोरोना महामारीबीच विकास निर्माणका कामहरूलाई थाती राखी जनताको स्वास्थ्य रक्षाको निम्ति स्थानीय तहहरू अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले कोभिड नियन्त्रणको लागि जम्मा भएको कोषको सही सदुपयोग हुनुपर्नेमा जोड दिनुहुँदै रोजगारी गुमेका दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको व्यवस्थापनबारे सरकारले उचित कदम चाल्नुपर्ने बताउनुभयो ।

समितिका सदस्य मा. देवेन्द्र पौडेलले खुलामञ्चमा खाना खुवाउने व्यवस्थाको अन्त्य हुनुपर्ने, मा. सोमप्रसाद पाण्डेले कोरोना रोकथामको लागि जनप्रतिनिधिहरूको प्रयत्न सराहनीय भएको, मा. प्रकाश रसाइलीले उपत्यका छिर्ने नाकाहरूमा कुनै सुरक्षा उपाय अवलम्बन नभएको तथा बेरोजगारीको तथ्यांक अद्यावधिक गरिनुपर्ने र मा. मायादेवी न्यौपानेले उपत्यकामा हरियाली प्रवद्र्धनको लागि पार्कहरूको निर्माण गरिनुपर्नेलगायतका धारणाहरू व्यक्त गर्नुभयो ।

बैठकमा नगर प्रमुख प्रजापति, महानगरपालिकाका प्रमुख शाक्यले कोभिडको महामारीमा परेका श्रमिकहरूको व्यवस्थापनमा स्थानीय तहले खेलिरहेको भूमिकामाथि उठेका जिज्ञासामाथि प्रष्ट पार्नुभयो ।

बैठकमा श्रम मन्त्रालयका प्रतिनिधि र वैदेशिक रोजगारका महानिर्देशकलगायतले कोभिड नियन्त्रणमा आफ्नो क्षेत्रबाट भए/गरेका कार्यहरूबारे विस्तृतमा जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.