Explore news and happenings at Bhaktapur

कोरोनाविरुद्ध लड्न एकीकृत शक्तिको खाँचो — प्रमुख प्रजापति

सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिका

0

विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण मारमा परेका श्रमिकहरुको व्यवस्थापनको बारे देशको सर्वोच्च निकाय संसदको एक जिम्मेवार समिति उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यो बैठकको आयोजना गरेकोमा सभापतिज्यूलगायत सम्पूर्ण माननीय सदस्यहरुलाई हार्दिक आभार व्यक्त गर्दछु ।
यो बैठक नेपालमा कोभिडको प्रारम्भमै बस्न सकेको भए बढी फलदायी हुने थियो । यद्यपि ढिलै भए पनि स्थानीय तहका जनप्रतिनिधिहरुले गर्दै आएका कार्यहरु र गर्नुपर्ने कार्यहरुको विषयमा छलफलको लागि अवसर दिनुभएकोमा हामी अत्यन्त खुशी छौं ।
— नेपालको संविधान २०७२ को धारा २३२ ले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको छ । तर देशमा कोरोनाको कारण भयावह स्थिति आउँदा समेत संविधानले निर्दिष्ट गरेबमोजिम संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको अभाव महसुस गर्दैछौं । कोरोनाविरुद्ध लड्न एकीकृत शक्तिको खाँचो छ । सबै एक भएर अघि बढेमात्रै कोरोनाविरुद्धको लडाइँमा छिटै विजय हासिल गर्न सक्छौं ।
— कोरोनाबाट समाजलाई जोगाउन हामी स्थानीय तहका जनप्रतिनिधिहरु सक्रियतापूर्वक लागिरहेका छौं । स्रोत र साधन अभावबीच पनि जनप्रतिनिधिहरुले आ—आफ्नो क्षमताअनुसार काम गरिरहनुभएको छ । भक्तपुर जिल्लामा कार्तिक २३ गतेसम्ममा ६६७३ जना पोजिटिभ देखिएकोमा ५३८७ जना निको भइसकेको र ८३ जनाको कोरोनाको कारण ज्यान गइसकेको जिल्ला जनस्वास्थ्य केन्द्रको रेकर्डले देखाएको छ । त्यसैगरी भक्तपुर नगरपालिकामा २६४९ जना कन्ट्याक्ट ट्रेसिङ, १४८५ जनामा कोरोना पोजिटिभ देखिएको र ११९६ जना निको भइसकेका छन् भने घरमा आइसोलेसनमा बसेका १८६ जना र अस्पतालमा आइसोलेसनमा बसेका ६५ जना रहेको जानकारी गराउन चाहन्छौं । हालसम्म भक्तपुर नगरपालिका क्षेत्रभित्र ३५ जनाको ज्यान गइसकेको छ ।
— भक्तपुर घना बस्ती भएका सहर भएको हुँदा जनचेतनालाई नै प्राथमिकतामा राखेर दैनिक माइकिङ गर्ने, टोल टोलमा साबुन पानीले हात धुने व्यवस्था र मानिसहरु जम्मा हुने ठाउ“हरुमा नियमित रुपमा क्लोरिन छर्ने कार्य गर्दैछौं ।
— भक्तपुर एक सांस्कृतिक नगर भएको हु“दा समय—समयमा हुने चाडपर्व जात्राहरुमा भीडभाड हुने र संक्रमणको सम्भावनालाई ध्यानमा राखेर भक्तपुरको प्रसिद्ध बिस्का जात्रा, गाईजात्रा, यन्याँपुन्ही, गुँला पर्व, पन्चदानजस्ता सबै पर्वहरुलाई सामान्य औपचारिकतामा सीमित ग¥यौं । दशैंको बेला तलेजुलगायत सबै शक्ति पीठहरुमा हुने बली रोक्ने आह्वान ग¥यौं । ती सबै कार्यहरुमा जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, सरोकारवालाहरुको बैठकले निर्णय गर्ने गरेको हुँदा स्थानीय जनताको अत्यन्त साथ र सहयोग प्राप्त भएको छ ।
— नेपाल सरकारले कोरोनाको कारण विदेशमा बसेका नागरिकहरुलाई नेपाल फर्काउने तयारी गरेसँगै भक्तपुर नगरपालिकाले विदेशमा बस्नेहरुका लागि अनलाइन फाराम भर्न लगायो । त्यसको आधारमा होटल, घर र नगरपालिकाको क्वारेनटाइनको व्यवस्था ग¥यो । हालसम्म १७ वटा मुलुकबाट १६९ जना विदेशबाट फर्केका नागरिकहरुले क्वारेनटाइन सुविधा प्राप्त गर्नुभएको छ ।
— काठमाडौं उपत्यकामा कोरोना संक्रमण फैलिने सम्भावनालाई ध्यानमा राखेर हामी उपत्यकामा नगर प्रमुखहरुले गृहमन्त्री र संघीय मामिला मन्त्रीज्यूले बोलाउनुभएको बैठकहरुमा उपत्यका छिर्ने नाकाहरु कडाइ गर्नुपर्ने माग ग¥यौं तर उहाँहरुले हाम्रो आग्रहलाई त्यति ध्यान दिनुभएन । परिणाम आज काठमाडौं उपत्यका कोरोनाको केन्द्रको रुपमा अगाडि बढ्दैछ । यो कतिसम्म रहन्छ अनिश्चित छ ।
— संक्रमण दर बढ्दै गएपछि भक्तपुर जिल्लामा नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र खरिपाटीमा २०० शैय्याको आइसोलेसन केन्द्र निर्माण गरियो भने भक्तपुर नगरपालिकाले ७५ शैय्याको छुट्टै आइसोलेसन केन्द्र बनाएर चलाइरहेको छ । नगरपालिकाद्वारा संचालित आइसोलेसन केन्द्रमा ८८ जना नगरबासीहरुले सेवा प्राप्त गर्नु भएको छ । आइसोलेसन केन्द्रमा बस्नेहरुमा अनलाइनमार्फत चिकित्सक, मनोचिकित्सक, आर्युवेदिक चिकित्सक, नर्स, फिजियोथेरापिष्ट र जनप्रतिनिधिहरुबाट नियमित परामर्श सेवाको व्यवस्था छ । घरमै आइसोलेसनमा बस्नेहरुको लागि ७२ घण्टाको एकपटक छुट्टै टोलीले फोहर संकलन गर्ने व्यवस्था, स्वास्थ्य परामर्शको लागि २ जना चिकित्सक र अन्य व्यवस्थापनको लागि ३ जना कर्मचारीहरुलाई सम्पर्क व्यक्ति तोकी सार्वजनिक गर्दै आएका छौं ।
— टोल टोलमा रहेको व्यायामशालाहरु बन्द भएको कारण अनलाइनमार्फत शारीरिक व्यायाम तालिम सञ्चालन गरिरहेका छौं । बिहान ६ः३० बजेबाट सुरु हुने उक्त तालिमले प्रभावकारी हुँदै गइरहेको छ ।
— भक्तपुर नगरपालिका क्षेत्रभित्र पीसीआर परीक्षण सुरु गर्न प्रदेश सरकारसँग बारम्बारको आग्रहपछि मेसिन आइपुगेको छ । तर त्यसको पार्टपूर्जा नपुग भएको भन्दै दुई हप्तादेखि मेसिन थन्किरहेको छ । नागरिकहरुले परीक्षण गर्न नपाएर समस्या भोगिरहेका छन् ।
— कार्तिक २ गतेदेखि पीसीआर परीक्षणको शुल्क लिने नेपाल सरकारको निर्णयले जनताले थप दुःख व्यहोर्नुपर्यो । सरकारी स्वामित्वमा रहेको टेकु प्रयोगशालाले समेत प्रतिव्यक्ति रु. २०००।— मागेपछि थप अन्योल भयो । प्रदेश सरकारअन्तर्गतको धुलिखेल प्रयोगशालाका जिम्मेवार पदाधिकारीहरु ‘मन्त्रीले बोलेर मात्रै हुन्छ ? आवश्यक केमिकल पठाउनुप¥यो’ भन्नुहुन्छ । जनताको जीवनप्रति जिम्मेवार पदाधिकारीहरु संवेदनशील हुन नसक्दा गरिब जनताको अकालमा ज्यान गइरहेको छ ।
— भक्तपुर नगरपालिकाका जनस्वास्थ्य केन्द्रहरुले नियमित रुपमा जनतालाई सेवा प्रदान गरिरहेका छन् । कोभिडको यो जटील अवस्थामा पनि चिकित्सकहरुलाई पालो मिलाएर दैनिक ३०० भन्दा बढी बिरामीहरुलाई सेवा प्रदान गर्दै आएका छन् ।
— नेपाल सरकारले कोभिड संक्रमित बिरामीहरुको उपचार खर्च नागरिक स्वयम्ले व्यहोर्नुपर्ने निर्णय सम्मानपूर्वक बाँच्न पाउने र आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने संविधानप्रदत्त मौलिक हक तथा मौलिक हक कार्यान्वयनको लागि बनेको स्वास्थ्यसम्बन्धी ऐन २०७५ र सर्वोच्च अदालतको आदेशसमेतको विपरीत भएको भन्दै जनताले विरोध गरिरहेका छन् । सम्मानित यस समितिको ध्यान जाने नै छ भन्ने आशा गर्छौं ।
— कोभिडले सबै क्षेत्र अस्तव्यस्त बनाएको छ । त्यसमध्ये श्रम गरेर जीविका चलाउने श्रमिकहरु बढी मारमा परेका छन् । हामीले २०७६ साल चैत्र महिनामा लकडाउन सुरु हुनासाथ एकपटक राहत वितरण ग¥यौं । केही दिनपछि नै हामीले विकास निर्माणका कार्यहरु सुरु ग¥यौं । हामीले राहतको सट्टा नियमानुसार ज्याला दिने घोषणा ग¥यौं । त्यसरी बेरोजगार नागरिकहरुलाई काम दिन थालेपछि राहत वितरणको समस्या भएन र काम पनि सहज रुपमा अगाडि बढ्यो ।
— भक्तपुर तरकारी उत्पादन गर्ने महत्वपूर्ण क्षेत्र भएको हुँदा नगरबासीहरुलाई निश्चित समय दिएर लकडाउनको समयमा पनि तरकारी बजारको व्यवस्थापन गरेको हुँदा किसानहरुको उत्पादन खेर गएन । सबै नागरिकहरु एकैसाथ बाहिर नआउन् भनी प्रत्येक घरमा अति आवश्यक कामको लागि मात्रै भनी पासको वितरण ग¥यौं त्यसले पनि व्यवस्थापन गर्न मद्दत ग¥यो ।
— राज्यले जनताको गुनासो सुन्ने र समाधानको लागि पहल गर्नुपर्छ । यस्तै संकटमा जनप्रतिनिधि र कर्मचारीहरुको परीक्षण हुन्छ ।
हामी सबै मिलेर कोरोनाबाट समाजलाई बचाउने प्रयत्न गरौं । भक्तपुर नगरपालिकाको गतिविधिबारे जानकारी दिने अवसर दिनुभएकोमा सभापतिज्यूूलगायत सम्पूर्ण समिति सदस्यहरुलाई भक्तपुर नगरपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छौं ।

(उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आयोजनामा कोभिड १९ महामारीको मारमा परेका श्रमिकहरूको व्यवस्थापनका लागि काठमाडौं उपत्यकाका स्थानीय तहहरूले गरेको व्यवस्था सम्बन्धमा सोमबार भएको बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको मन्तव्य)

Leave A Reply

Your email address will not be published.