Explore news and happenings at Bhaktapur

‘भनपाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दैछ’

सुनिल प्रजापति, भक्तपुर नगरपालिका प्रमुख

0

१) आजभोलि के गर्दै हुनुहुन्छ ?
कोरोनाको महामारीबाट भक्तपुर नगरबासीहरूको सुरक्षाको निम्ति नगरपालिकाले सक्दो काम गरिरहेको छ । जनप्रतिनिधिहरु सबै कोरोना रोकथाममै व्यस्त हुनुहुन्छ । भक्तपुर नगरपालिकाभित्र अहिले १००० भन्दा बढी संक्रमित देखिसकेको छ । संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ २५०० भन्दा बढीको भइसकेको छ । जिल्लाभरि नै संक्रमितहरुको संख्या बृद्धी भएको हुँदा खरिपाटी स्थित नेपाल विद्युत तालिम केन्द्रलाई एकीकृत आइसोलेसन केन्द्रको निर्माण र भक्तपुर नपाले छुटै ७५ शय्याको आइसोलेसन केन्द्र स्थापना ग¥यो । घरघरमा एकान्तबास बसिरहनुभएका संक्रमित परिवारको लागि स्वास्थ्यमा समस्या देखिएमा चिकित्सकहरुसँग फोन सम्पर्कको लागि दुईजना डाक्टर, सरसफाइ र अन्य बन्दोबस्तको लागि आवश्यक कर्मचारीहरू बन्दोबस्त गरिएको छ । नगरपालिकाको आइसोलेसन केन्द्रमा बस्ने संक्रमितहरुको लागि दिनको चार छाक खाना खाजाको व्यवस्था गरिएको छं भने सम्पूर्ण व्यवस्थापनको लागि १३ जना कर्मचारीहरूलाई आइसोलेसन केन्द्र हेर्ने जिम्मेवारी तोकिएको छ ।

२) उपत्यकामा संक्रमितहरु बढिरहेको अवस्थामा भक्तपुरमा संक्रमितको संख्याको अवस्था कस्तो छ ? कोरोना रोकथाम तथा नियन्त्रणमा कति बजेट खर्च गरिसक्नुभयो ?
अहिले भक्तपुर नपाभित्र करिब १०००को भन्दा बढी संक्रमित पुगिसकेको छ । त्यसमध्ये ४ सय भन्दा बढी संक्रमण मुक्त भएर स्वास्थ्यलाभ गरिरहनुभएको छ । भक्तपुर नगरपालिकाले राहत वितरण, किटनाषक औषधि छर्ने, स्वास्थ्य सामग्री वितरण, जनचेतना मुलक कार्यहरु, सरसफाइलगायतका कार्यहरु गर्दै आएको छ । कर्मचारीहरुको लागि दिइएको प्रोत्साहन भत्ताबाहेक असोज महिनाको अन्त्यसम्ममा करिब २ करोड रुपैञा खर्च भइसकेको छ । नगरपालिकाले जनस्वास्थ्यमा कार्यरत नर्स, डाक्टर, स्वास्थ्य कर्मचारीहरूलाई प्रोत्साहन भत्ता दिएको छं ।

३) कोरोनाबाट बच्न तपाईंहरूले के कस्तो सेवा सुविधा उपलब्ध गराइराख्नुभएको छ ?
सुरुको लकडाउनको समयमा भक्तपुर नपाले हात धुन टोल टोलमै साबुन पानीको व्यवस्था, स्यानिटाइजर र मास्क लगाउने र शारीरिक दूरी कायम गर्ने लगायत जनचेतनाको लागि माइकिङ तथा विभिन्न संचार माध्यमहरुमार्फत प्रचार प्रसार गरियो । पछिलो समय घर घरमा आइसोलेसनमा बस्नेहरूको लागि ७२ घण्टाको एकपटक सफाई पीपीईसहितका सफाई मजदुरहरूले फोहर संकलन गर्ने व्यवस्था मिलाएका छौं ।

४) आइसोलेसनको बेड अभाव छ कि छैन ? परीक्षणको दायरा कतिको प्रभावकारी छ ?
भनपाको ७५ बेडको आइसोलेसन केन्द्र, विद्युत प्राधिकरण तालिम केन्द्रमा २०० शय्याको एकीकृत आइसोलेसन केन्द्र र लक्षण देखिएकाहरुका लागि भक्तपुर अस्पताल पनि भएकाले तत्कालका लागि बेडको अभाव देखिंदैन । घरमा उचित वन्दोबस्त भएका र पुरै परिवार संक्रमित भएकाहरूको लागि घरमै एकान्तबासको व्यवस्था मिलाएका छौं ।

५) दशैं नजिकिंदै गर्दा सबैजना गाउँघर फर्किने व्यवस्थपन कसरी गर्नुभएको छ ?
दशैंको बेला भक्तपुर बाहिर जान चाहनेहरुलाई रोक्ने प्रयाश गरिरहेका छौं । दशैंको बेलामा मानिसहरुको आवतजावत रोक्न भक्तपुर नपाले विभिन्न सरोकारवालाहरुसँग चरणबबद्ध रुपमा छलफल र बैठक गर्दैछ । दशैंमा भक्तपुरभित्र बढी भीड हुने ठाउमध्ये तलेजु पनि एक हो । गुठी संस्थानले मात्र ६० वटा बोका, ३१ वटा राँगो, ३० वटा हाँस बली दिने परम्परा रहेछ । यस वर्ष तलेजु भित्र बली नदिइ सामान्य पूजा गरी औपचारिकतामा सीमित गने निर्णय भइसकेको छ । पूजाको लागि भित्र जाने पुजारीहरुलाई अनुमति पत्रको व्यवस्था गरेका छौं ।
यस अलावा कुमारी जात्रालाई सामान्य पूजामामात्र सीमित गर्ने निर्णय गरिसकेका छौं । धेरै भीड जम्मा हुने खंम्ये जात्राको व्यवस्थापनको विषयमा छलफल भइरहेको छ । नवरातको समयमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म शक्तिपीठहरुमा जाने भीडलाई रोक्न टोल टोलमा सांस्कृतिककर्मीबीच बैठक र छलफल तथा माइकिङमार्फत पनि जनतालाई सचेत पार्दैछौं ।
यही सिलसिलामा प्रकोप व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमितहरुको संख्या बुद्धीलाई ध्यानमा राखी आवतजावत रोक्न उपत्यकालाई निषेधाज्ञा जारी गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । उपत्यका सुरक्षित भएमात्र हामी सबै सुरक्षित हुनेछौं । त्यसैले शुरुका दिनमै उपत्यका छिर्ने नाकाहरुमा कडाइ गर्न गुह मन्त्रीलाई पटक पटक आग्रह गरेका थियौं । त्यसबेला उपत्यका छिर्ने नाकामा अलि कडा गरेको भए उपत्यकामा आजको जस्तो स्थिति आउने थिएन ।

६) चाडबाँडमा संक्रमण फैलिने खतरा धेरै छ । यस वर्ष जनताले जात्रा मनाउन नपाइने हो ?
हामीले चाडपर्व मनाउन पाइँदैन भनेका होइनौं । दशैंको बेला भीडभाड नगरी औपचारिकतामा सीमित गरी घरमै बसी मनाउन आग्रह गरेका हौं । नवदुर्गा देवगण मन्दिरमै पुग्नै पर्ने अबस्थालाई ध्यानमा राखी सर्व साधारणहरुका लागि मन्दिर प्रवेशमा रोक लगाउने व्यवस्था मिलाएका छौं । भक्तपुर नगरपालिका सांस्कृतिक नगर पनि हो । कोभिडका कारण यस नगरमा यो वर्ष मनाइने बिस्का जात्रा, भैरवनाथ रथ तान्ने, गुँला बाजा, पञ्चदानलगायत जात्राहरु स्थगित गर्नु प¥यो । अहिलेसम्म सबै नगरबासीले हाम्रो आग्रहलाई साथ र सहयोग गर्दै आउनुभएको छ । यो वर्षको दशैंमा पनि नगरबासीहरुले विगतमा झै साथ र सहयोग गर्नेमा आशा छ ।

७) विकासमा कुन कुरालाई उच्च प्राथमिकता दिई काम गर्नुभयो ?
भक्तपुरले सांस्कृतिक सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणको गतिविधि अगाडि बढाइरहेको छ । भक्तपुर नपाले करिब १०० वटा सम्पदा पुननिर्माण तथा जिर्णोद्धार सम्पन्न गरि सकेको छ, भने अढाई दर्जन वा सम्पदाहरु निर्माणाधिन अबस्थामा छन् ।
भक्तपुर नपाले इसीडी शिक्षकहरूको लागि मासिक रु. ४००० का दरले ४२ जना शिक्षकहरूलाई आर्थिक सहयोग दिइरहेको छ । लकडाउन पश्चात एसइई केन्द्रित भर्चुअल कक्षा सञ्चालन गर्नुका साथै विद्यार्थीहरूलाई रु. ५ लाखसम्मको सहुलियत शैक्षिक ऋण प्रदान, ख्वप कलेजमा कक्षा ११ र १२ मा कानुन र चित्रकला विषयको कक्षा सञ्चालन गर्दै आएका छौं । नपाद्वारा सञ्चालित शिशुस्याहार केन्द्रका शिक्षिकाहरूलाई पुनर्ताजगी तालिम सञ्चालन पनि गर्दै आएका छौं । यसरी नगरपालिकाले सात वटा शैक्षिक संस्थानहरूमार्फत देशभरिका ६००० भन्दा बढी विद्यार्थीहरूलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दैछौं।
स्वास्थ्य क्षेत्रमा भन्ने हो नगरपालिकाले २५ शय्याको अस्पताल संचालनको स्वीकृति प्रप्त गरी ख्वप अस्पताल भवन निर्माण गरिरहेको छ । भक्तपुर नपाले घर घरमै गएर नर्सिङ सेवा उपलब्ध गराइराखेको छ । नगरपालिकाले कडा रोग लागेका व्यक्तिलाई प्रति व्यक्ति रु. १०,००० गरी हालसम्ममा १५ लाख बराबरको आर्थिक सहयोग प्रदान गरी सकेको छ । जनस्वास्थ्य केन्द्रमा दैनिक ४०० भन्दा बढी बिरामीहरूको उपचार भइरहेको छ । भक्तपुर नगरपालिकाभित्र श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालनको तयारीमा छ । साथै आँखा उपचार केन्द्र पनि सञ्चालनमा छ ।

८) भक्तपुर नपा सांस्कृतिक तथा पर्यटकीय नगरको रुपमा चिनिन्छ । अहिले त्यसको अवस्था कस्तो छ ?
भक्तपुर साँस्कृतिक र पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुँदैछे । नगरपालिकाको आम्दानीको महत्वपूर्ण हिस्सा पर्यटन पनि हो । आर्थिक वर्ष २०७६।७७मा पर्यटक शुल्कबाट रु.३० करोड उठाउने योजना थियो । तर साढे १७ करोड जति मात्र उठ्यो । लकडाउन पछि पर्यटकहरुको आगमन शून्य भयो । अहिले पोखरीहरू निर्माण र ती पोखरीहरुमा नौका बिहारको व्यवस्था गरेका छौं । विश्व सम्पदा सूचीमा सूचीकृत कयौं सम्पदा बनाइसकेका छौं भने कति निर्माणाधीन अवस्थामा छन् । राष्ट्रिय कला संग्रहालय भने प्राविधिक कारणले गर्दा पुनःनिर्माण प्रकृया अगाडि बढ्न सकेको छैन । पहिले नगरपालिका रहेको थन्थु दरबार पनि पुनःनिर्माणको पर्खाइमा छ ।

९) माटाका भाँडा बनाउनेहरुको अवस्था कस्तो छ ?
माटोको भाडाकुँडा बनाउने सीप संरक्षण र सम्बद्र्धनको लागि नपा प्रयत्नरत छ । माटोको अभाव र बढ्दो सहरीकरणका कारण यी पेशाहरू लोपोन्मुख हुन्दैछ । माटो अभाव र धुँवा धुलोको प्रदूषणले थप समस्यामा पर्दै गएको छ । कतिपय ठाउँमा प्रदूषण नियन्त्रणको निम्ति नयाँ प्रविधि भित्र्याइएको छ । प्रदूषण कम गर्न त्यो प्रविधिले निकै सहयोग पु¥याएको छ । प्लास्टिक र आल्मुनियमका भाडाकुँडाले गर्दा माटाका मौलिक वस्तुहरू ओझेलमा पर्दै गएका छन् ।
भक्तपुरको जुजुधौ र भादगाउँले टोपीको संरक्षणको लागि नगरपालिकाले के गरिरहेको छ ?
जुजु धौ, भादगाउँले टोपी, टाइचिन चिउरा आदिको प्रवद्र्धनको लागि नगरपालिकाले कोशिश गरिरहेको छ । भक्तपुर नपाको नीति तथा कार्यक्रमामै मौलिक वस्तुलाई प्रवद्र्धन गर्ने बिषयलाई प्राथमिकताकासाथ उठाइएको छ ।

१०) तपाईंहरू निर्वाचित हुनुभएको ३ वर्ष पूरा भइसकेको छ । अब दुई वर्ष पनि बाँकी छैन, यी बाँकी अवधिमा के के काम गर्ने योजना बनाउनुभएको छ ?
हामीसँग धेरै समय बाँकी छैन । तर विकास निर्माणका काम गर्न अझ धेरै बाँकी छन् । ख्वप विश्वविद्यालय स्थापना गर्ने उद्देश्य पुरा गर्न नेपाल सरकारको सम्बन्धनको पर्खाइमा छौं । सम्बन्धन पाएको खण्डमा स्थानीय तहले शिशु स्याहारदेखि विश्वविद्यालयसम्म सञ्चालन गर्ने पहिलो नगरपालिका पनि भक्तपुर नै हुनेछ । खेलकुद क्षेत्रमा पनि नगरपालिकाले सबै वडाहरूमा शारीरिक व्यायामको लागि व्यायामशाला राखी व्यवस्थित गर्दै लगेको छ । प्रत्यक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता, अन्तर विद्यालय खेलकुद प्रतियोगिता गरिरहेका छौं । कृषिसँग सम्बन्धित विभिन्न तालिमहरू सञ्चालन गरेका छौं । प्रत्येक युवाको हातमा सीप दिने लक्ष्यका साथ नगरपालिकाले काम गरिरहेको छ ।

(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग ब्युजिनेस प्लस टिभीले असोज २९ लिएको अन्तरवार्ताको सम्पादित अंश)

Leave A Reply

Your email address will not be published.