Explore news and happenings at Bhaktapur

“जनस्वास्थ्य र कोभिड–१९ को प्रतिरोधमा क्यूवालाई चे ग्वेभाराको पाठ” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्‍न

भक्तपुर, २०७७ श्रावण ३ गते शनिबार ।

0
सेयर

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रको आयोजनामा शनिबार विभिन्न देशमा कोभिड–१९ प्रतिरोधको अनुभव र जनस्वास्थ्यको विषयमा अन्तरक्रिया कार्यक्रम भयो ।

कार्यक्रममा वक्ताहरूले संरा अमेरिकी ‘ग्रिन सोसिएल थट’का सम्पादक मण्डल सदस्य डन फिट्जको लेख ‘कोभिड–१९ प्रतिरोधमा क्युवालाई चे ग्वेभाराले के सिकाए ?’ लेखमा आधारित रहेर विभिन्न समाजवादी देशमा जनस्वास्थ्य अवस्था र नेपालको अवस्थाबारे आफ्ना भनाइ राख्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले पुँजीवादी व्यवस्थामा शासक वर्गले हरेक विपत्तिको घडीलाई अकुत सम्पत्ति कुम्ल्याउने अवसरको रूपमा लिने गरेको बताउनुभयो ।

उहाँले पुँजीपति र उद्योगपतिको दबाबमा लकडाउन खुकुलो गर्दा मजदुरहरू सङ्क्रमित भएको बताउनुभयो ।
“पुँजीपति वर्ग घरमा सुरक्षित बस्ने गर्छन् । कारखानामा काम गर्ने मजदुर सङ्क्रमित भइरहेका छन्”, उहाँले भन्नुभयो ।

नेपाल सरकारबाट तलब बुझ्ने दरबन्दीमा जम्मा १५ सय जना चिकित्सकमात्र भएको चर्चा गर्दै उहाँले शिक्षा र स्वास्थ्यलाई निजी क्षेत्रको नाफा कमाउने क्षेत्र बनाउने पुँजीवादी सिद्धान्तकै आधारमा सरकारले स्वास्थ्य क्षेत्रमा लगानी कम गरेको बताउनुभयो ।

सांसद सुवालले विश्वव्यापी महामारीको समयमा एक देशले अर्को देशलाई सहायता गर्नुपर्नेमा जोड दिँदै क्युवाले हरेक सङ्कटको समयमा विभिन्न देशमा चिकित्सक पठाएर आफ्नो अन्तर्राष्ट्रिय भूमिका निभाएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख तथा जनस्वास्थ्य केन्द्र सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले कुनै पनि देशको स्वास्थ्य नीति त्यहाँको राजनीतिक व्यवस्थाले निर्धारण गर्ने चर्चा गर्दै नाफा र कमिसनको खेलमा नेपालका सरकारी अस्पतालले प्रभावकारीरूपमा जनताको सेवा गर्न नसकेको धारणा राख्नुभयो ।

“सरकारी र सार्वजनिक सम्पत्तिको बेवास्ता गर्ने र निजी नाफाको निम्ति काम गर्नु पुँजीवादी प्रवृत्ति हो”, उहाँले भन्नुभयो ।

उहाँले समाजवादी देश क्युवाले जनस्वास्थ्यमा हासिल गरेका उपलब्धिको चर्चा गर्दै राजनीतिक व्यवस्था र नेतृत्व सही भए देशको भूगोल र जनसङ्ख्या सानो हुँदैमा फरक नपर्ने विचार राख्नुभयो ।

नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसार्ईले कोभिड–१९ को महामारीले संसारभर जनस्वास्थ्य जनताको अधिकार हो वा व्यापारको क्षेत्र हो भन्ने विषयमा बहस पेचिलो बनेको चर्चा गर्दै समाजवादी देशले जनस्वास्थ्यलाई जनाधिकारको रूपमा स्वीकारेको हुनाले महामारी नियन्त्रणमा सफलता हासिल गरेको बताउनुभयो ।

उहाँले कोभिड–१९ को महामारीले चीनको आजको पुस्ता पनि देश र जनताको निम्ति हिजोको पुस्ताजत्तिकै समर्पित भएको प्रमाणित गरेको धारणा राख्दै समाजवादी देशहरूले शिक्षा र स्वास्थ्यमा उच्च प्राथमिकतासहित लगानी गरेको हुनाले त्यो व्यवस्थामा जनताको जीवन सहज हुने बताउनुभयो ।

‘मजदुर’ दैनिकका सम्पादक नीरज लवजूले कोभिड–१९ महामारीले संसारलाई समाजवाद र पुँजीवादबीचको खास अन्तरबारे छर्लङ्ग बनाएको चर्चा गर्दै पुँजीवादी देशहरूमा कोभिड–१९ नियन्त्रणमा भएको स्वार्थको खेल र समाजवादी देशमा भएको मानवीय कार्यबारे चर्चा गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य केन्द्रका प्रमुख डा.रत्नसुन्दर लासिवा, डा.बालकृष्ण चाँगुभारीले क्युवा र नेपालमा जनस्वास्थ्यको तुलनात्मक अध्ययन, डा. सुमिता चोलेख्वले चे र क्युवाली समाजवादी चिकित्सा र स्वास्थ्यकर्मी कमलकेशरी राजचलले क्युवाले कोभिड–१९ विरुद्ध गरेको प्रतिरोधबारे आ–आफ्नो भनाइ राख्नुभयो ।

Leave A Reply

Your email address will not be published.