Explore news and happenings at Bhaktapur

भनपा प्रमुख सुनिल प्रजापतिद्वारा “भक्तपुरका फोटोहरु” विषयक जिल्लाव्यापी फोटो प्रतियोगिताका विजयीहरुलाई पुरस्कार प्रदान

भक्तपुर,२०७७ श्रावण ३ गते शनिबार ।

0

भक्तपुर नगरको कला, संस्कृति, सम्पदा, जीवनशैली, स्थानीय वातावरण झल्किने फोटोहरुको जिल्लास्तरीय प्रतियोगिताको पुरस्कार वितरण शनिबार एक समारोहबीच सम्पन्न भयो । इन्फिनिटी फोटो वल्र्डको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा जिल्लाका विभिन्न फोटोग्राफरहरुबाट ६० वटा उत्कृष्ट फोटोहरु दर्ता भएको र निर्णायक मण्डलबाट छनौट गरिएका सर्वोत्कृष्ट फोटोहरुको प्रदर्शनी समेत गरिएको थियो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका अध्यक्ष सुनिल प्रजापतिले फोटोले तत्कालीन समाजको इतिहास बताउने र भविष्यका लागि सशक्त प्रमाण सावित हुने चर्चा गर्दै सय वर्षअघिका फोटो र चित्रकै आधारमा नगरपालिकाले सम्पदा तथा मठ मन्दिर र दरवारहरु पुरानै शैलीमा पुनःनिर्माण गरिरहेको बताउनुभयो । उहाँले बेलायतको संग्रहालयमा सुरक्षित राखिएको दरवारक्षेत्रस्थित न्हेकं झ्यः दरवारको चित्रकै आधारमा मल्लकालीन शैलीमा पुनःनिर्माणको तयारी भइरहेको र पुरानो फोटोकै आधारमा लापाँ देगः पुनःनिर्माणको लागि अध्ययन भइरहेको उल्लेख गर्नुभयो ।

एउटा फोटो पनि सिंगो लेख र हतियार हुने चर्चा गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय थुप्रै राजनैतिक उथलपुथलको कारक तत्व तत्कालीन फोटो भएको उदाहरणहरु प्रस्तुत गर्नुभयो । फोटोकै कारण उच्चपदस्थ राजनैतिक व्यक्तित्वले पदबाट राजीनामा दिएका छन्, त कतिपय अवस्थामा फोटोले ठूलठूला परिवर्तनका लागि महत्वपूर्ण ऊर्जा प्रदान गर्दछ, उहाँले भन्नुभयो ।

फोटोग्राफीमा युवा आकर्षण बढिरहेकोमा खुशी व्यक्त गर्दै प्रमुख प्रजापतिले वर्तमान समाजको पत्र पत्र केलाएर फोटो संकलन गर्न तथा दस्तावेज निर्माणमा योगदान दिन युवाहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा वडाध्यक्ष रविन्द्र ज्याख्वले राजनैतिक, सामाजिक र आर्थिक परिवर्तनको क्रममा कुनै पनि ठाउँको भूगोल र स्वरुप केही वर्षमा परिवर्तन हुने हुँदा प्रत्येक समयावधि झल्किनेगरी फोटोहरु संग्रह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विकासको नाममा संघीय सरकारले स्थानीय संस्कृतिमाथि हमला गर्ने, सम्पदाहरु नष्ट गर्ने कार्य गरिरहेकोमा युवा पुस्ता सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

अर्का वडाध्यक्ष उकेश कवांले कोभिड १९ को महामारीबाट बच्न नगरपालिकाले यो वर्ष विभिन्न साँस्कृतिक चाडपर्वलाई औपचारिकतामा सीमित गर्न आग्रह गरिएको चर्चा गर्दै यस समयमा हुने औपचारिक विधि विधानको फोटो संग्रह गर्न पाए नयाँ पुस्ताले संकटको समयमा पनि संस्कृति जोगाउने अभ्यास गरिएको विषयमा जानकारी पाउने विश्वास व्यक्त गर्नुभयो ।

आयोजक समितिका अध्यक्ष सुनिल सितिखूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहभागी तथा उत्कृष्ट फोटोग्राफरहरुलाई प्रमुख प्रजापति एवं वडाध्यक्षहरुबाट पुरस्कार, ट्रफी, नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतियोगितामा राम माक प्रथम, नेल्सन सुवाल दोस्रो र सुदिप सुवाल तेस्रो हुन सफल भएका थिए ।
कार्यक्रममा आयोजक समितिका कृष्णश्वरी दुवाल र विनय हाडाले नगरपालिकाको आयोजनामा हुने भक्तपुर महोत्सवलाई लक्षित गरी प्रतियोगिता संचालन गरेको तर रोगको महामारीको कारण महोत्सव स्थगित भएसंगै पुरस्कार वितरण कार्यक्रम गर्न ढिलो भएको प्रष्ट पार्नुभयो ।

Leave A Reply

Your email address will not be published.