Explore news and happenings at Bhaktapur

भक्तपुर अस्पताल सुधारोन्मुख हुँदै

भक्तपुर, बैशाख २५ गते ।

0

भक्तपुर जिल्लाकै मुटुमा रहेको र वीर अस्पतालपछि स्थापना भएको सरकारी लगानीको भक्तपुर अस्पतालको चिकित्सकीय सेवा सुधारोन्मुख भइरहेको छ । नयाँ संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकार मातहत संचालन भएपछि र अस्पताल व्यवस्थापन समितिमा स्थानीय तहको प्रत्यक्ष उपस्थिति भएपछि अस्पतालले गति लिन थालेको जनताले अनुभव गर्दैछन् ।
कोरोना भाइरस (कोभिड १९) रोग संक्रमणको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले देशभरि बन्दाबन्दी (लकडाउन) घोषणा गरेपछि अस्पतालबाट सेवा प्राप्त गर्ने विरामीहरुमार्फत अस्पतालको सकारात्मक पक्ष जनतामा पुगेको स्थानीयहरु बताउँछन् । कोरोना संक्रमणको जोखिमप्रति सचेत बन्दै सरकारले देशभरिका अस्पतालहरुमा वहिरंग सेवा बन्द गरी इमर्जेन्सी सेवा मात्र संचालन गर्न निर्देशन दिएको थियो । भक्तपुर अस्पताललाई जिल्लाकै हब अस्पतालको रुपमा घोषणा गरी कोरोना रोगको परीक्षण र उपचार केन्द्र बनाइएको थियो । बैशाख २४ गतेसम्म अस्पतालमा ३६० जनाको आरडिटी टेस्ट र २४० जनाको पिसिआर टेस्ट भइसकेको अस्पताल स्रोतले बताएको छ । कोरोना संक्रमितको उपचारका लागि अस्पतालले अलग्ग भवनको व्यवस्था समेत गरेको छ ।
लकडाउनको समयमा सबै अस्पतालहरुमा आकस्मिक सेवाबाहेक अन्य सेवा ठप्प छन् । भक्तपुर अस्पतालमा भने विरामीहरुलाई नफर्काई सबै उपचार सेवा प्रदान गरिरहेको छ । इमर्जेन्सीमा टिकट काटेर विरामीहरुलाई अस्पतालमा भएका सबै उपचार सेवा प्रदान गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले बताउनुभयो । सबै डाक्टर, नर्स तथा अन्य चिकित्सकीय प्राविधिक जनशक्तिलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको उहाँको भनाइ थियो । ‘संकटको समयमा भक्तपुर अस्पतालमा उपचारका लागि आएका कुनै पनि विरामीलाई त्यसै फर्काएका छैनौं’, उहाँले भन्नुभयो ।
उहाँका अनुसार अहिले अस्पतालमा ११ जना विशेषज्ञसहित १८ जना डाक्टरहरुबाट विभिन्न रोगहरुको उपचार सेवा दिइरहेको छ । विशेषज्ञ डाक्टरहरुमा स्त्रीरोग विशेषज्ञ १ जना, वालरोग विशेषज्ञ २ जना, सर्जन २ जना, हाडजोर्नीसम्बन्धि विशेषज्ञ १ जना, फिजिसिएन २ जना, छालारोग विशेषज्ञ १ जना, रेडियोलोजिस्ट १ जना र एनेस्थेसिएन १ जना कार्यरत छन् । नाक, कान, घाँटी सम्बन्धी रोगका विशेषज्ञको दरवन्दी रहेर पनि पूर्ति नभएको अवस्थामा प्रदेश सरकारसंग विशेषज्ञ डाक्टर पूर्ति गर्न माग गरिरहेको मेसु डा. गौतमले जानकारी दिनुभयो । यससंगै ८ जना एमबीबीएस डाक्टरहरुले मेडिकल अफिसर भई विरामीको उपचार गरिरहेको उहाँले बताउनुभयो ।
अस्पताल प्रशासनले अस्पतालमा १२ जना स्टाफ नर्ससहित ३९ जना नर्सिङ केयरको जनशक्ति रहेको र ल्यावमा ८ जना जनशक्ति रहेको बताएको छ ।
अस्पतालमा चालू आर्थिक वर्षमै आइसियू र एनआइसियू उपचार कक्षको स्थापना गर्ने तयारी समेत भइरहेको छ । यसका लागि वागमती प्रदेश सरकारबाट चालू आवको लागि ९६ लाख रुपैयाँ विनियोजन भई निकासा समेत भइसकेको अस्पताल व्यवस्थापन पक्षबाट जानकारी प्राप्त भएको छ ।
यससंगै अस्पतालका पुराना भवनहरुमा २०७२ सालको भूकम्पबाट सामान्य क्षति पुगेकोमा चालू आवबाट नै भवन प्रवलीकरण (रेट्रोफिटिङ) को प्रकृया अगाडि बढाइएको छ । पहिलो चरणमा अस्पताल परिसरको खुल्ला चउरमा डिक्यान्टिङ ब्लक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भक्तपुर नगरपालिकाको स्वामित्वमा रहेको जग्गामध्ये करिब १ रोपनी जग्गामा २ करोड २१ लाख ९९ हजार १८२ रुपैयाका लागतमा अस्थायी संरचना तयार भइरहेको छ । यसका लागि नगरपालिकाले स्वीकृति प्रदान गरी नगरपालिकासंगको समन्वयमा संरचना निर्माण करिब सम्पन्न हुन लागेको अस्पताल प्रशासनले बताएको छ । संरचना निर्माणको क्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापति लगायत जनप्रतिनिधिहरु अनुगमन गर्न आउनुका साथै आवश्यक सल्लाह सुझावहरु दिइरहनु भएको मेसु डा गौतमले बताउनुभयो ।
अस्पतालको मुख्य भवन प्रवलीकरण गर्ने क्रममा त्यहाँबाट दिइरहेको सुविधा डिक्यान्टिङ ब्लकबाट प्रदान गरिने बताइएको छ । ब्लकमा सानो ठूलो ८ वटा कोठा र ८ वटा सौचालय रहने छन् । सोही ब्लकमा आइसियूको ५ वटा बेड र एनआइसियूको ४ वटा बेड संचालनको तयारी भइरहेको डा. गौतमको भनाइ थियो । ‘आइसियू लगायत सघन उपचार सुविधा नहुँदा भक्तपुर अस्पताललाई रेफर सेन्टर मात्र भएको गुनासो आएको थियो, अब यसमा सुधार हुने विश्वास छ’, उहाँले भन्नुभयो ।
बेलायती सहयोग संस्था डिएफआइडीको आर्थिक सहयोगमा नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागले रु. २७ करोड ६२ लाखमा अस्पतालको मुख्य भवन प्रवलीकरण गर्ने भएको छ । त्यसबाहेक अस्पतालमा ४ तल्ले नयाँ भवन पनि निर्माण हुनेछ । अस्पतालमा अलग्ग व्यवस्थित पार्किङ क्षेत्र, फोहरमैला व्यवस्थापन केन्द्र, क्यान्टिन पनि निर्माण गरिनेछ । अस्पताल परिसरमा हरियाली व्यवस्थापन, विद्युतीकरण र निकासको व्यवस्थापन पनि छुटै गरिने र यी सबै कार्यका लागि अनुमानित बजेट ३७ करोड ५४ लाख विनियोजन गरिएको भवन विभागका इन्जिनियर लक्ष्मण रायमाझीले जानकारी दिनुभयो ।
देशकै दोस्रो जेठो अस्पताल भएर पनि विरामीले प्रभावकारी उपचार सेवा नपाउँदा विगत लामो समयदेखि अस्पतालप्रति स्थानीय जनताको विश्वास गुमिरहेको थियो । त्यसमाथि अस्पताल व्यवस्थापन समितिमा राजनैतिक नियुक्ति गरिने, नातावाद, कृपावादको आधारमा डाक्टर, नर्स तथा कर्मचारी नियुक्ति गर्ने, भ्रष्टाचार हुने आदि कारणले जिल्लावासीहरु उपचारका लागि काभ्रे, काठमाण्डौ र ललितपुर जानुपर्ने वाध्यता थियो । आप्mनै जिल्लामा अस्पताल भएर पनि अरु जिल्लामा उपचार गर्न जाँदा बेला बेलामा अप्ठेरो महशुस गर्नेहरु धेरै छन् । ‘तपाइँको जिल्लामा अस्पताल छैन र भनी सोध्छन्, के भन्ने ?’ स्थानीय रत्नमाया खत्रीले दुखेसो पोखिन् । ‘हामी भक्तपुर अस्पताललाई ‘हाम्रो अस्पताल’ भनी आत्मीयता देखाउँछौं तर हाम्रै अस्पतालमा भ्रष्टाचार भएको, विरामीको उपचार नभएको सुन्दा सा¥है मन रुन्छ ।’
अस्पताल व्यवस्थापन समितिमा स्थानीय प्रवुद्ध व्यक्तिहरु नबसी मन्त्रीका मान्छे भनी सरोकार नै नराख्ने व्यक्तिहरु बसेकोले अस्पताल सुधार गर्नुपर्छ भन्ने भावना नै नभएको स्थानीय व्यक्तिहरु भन्छन् । ‘व्यवस्थापन समितिमा बस्ने भनेको त आप्mनो मान्छे भर्ना गर्ने र पैसा खाने मात्र भयो,’ स्थानीय कृष्णराम खर्बुजाले भने ।
पछिल्लो समयमा अस्पताल व्यवस्थापन समितिमा नगरपालिकाको उपस्थिति भएको खबरले जिल्लावासीहरु निकै खुशी छन् । ‘भक्तपुर नगरपालिका देशकै नमूना भएजस्तै भक्तपुर अस्पताल पनि नमूना भएको सबैले हेर्न चाहन्छन् र यसमा भक्तपुर नगरपालिकाले नै अगुवा भूमिका खेलोस् भन्ने चाहेका छन् । अस्पताल परिसरभित्रै हाल संचालित शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र भक्तपुुर क्यान्सर अस्पतालबीच समन्वय गर्न सकेमा भक्तपुर अस्पतालले सबैखाले विरामीहरुको स्तरीय उपचार गर्न सकिनेमा दुइमत छैन ।

Leave A Reply

Your email address will not be published.