Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिका क्षेत्रभित्रका साँस्कृतिक गुरु तथा संस्कृतिकर्मीहरुको भेला

भक्तपुर । फागुन ३ गते

0

भक्तपुर नगरपालिकाको आयोजनामा यही २०७६ चैत्र ४ देखि ८ गतेसम्म हुने भक्तपुर महोत्सवको तयारी तीब्र पारिएको छ । यसै क्रममा शनिबार नगरपालिका क्षेत्रभित्रका साँस्कृतिक गुरु तथा संस्कृतिकर्मीहरुको भेला सम्पन्न भयो ।

भेलामा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सवलाई सम्पूर्ण भक्तपुरवासीहरुको साझा महोत्सवको रुपमा अघि बढाउने तयारी भइरहेको बताउनुभयो । भक्तपुर नगरपालिका देशभरिका अन्य स्थानीय तहहरु तथा विदेशी मित्रहरुका लागि समेत उदाहरणीय गन्तव्य बनिरहेको सन्दर्भ उल्लेख गर्दै उहाँले भक्तपुरको कला, संस्कृति, जीवनशैली, उत्पादन, परम्परागत खेल तथा उपचारविधि लगायत यहाँका मौलिक पहिचानलाई सँसारसामू चिनाउने राम्रो अवसरको रुपमा भक्तपुर महोत्सवलाई लिन सकिने धारणा राख्नुभयो ।

भक्तपुरलाई शिक्षा, स्वास्थ्य उपचार र सरसफाइमा उत्कृष्ट नमूना बनाउने अभियानसंगै नगरपालिकाले हरेक नगरवासीको हातमा कुनै न कुनै सीप दिने र देशका कुनाकाप्चामा सम्पदा संरक्षण र संस्कृति प्रवद्र्धन कार्यमा भक्तपुरबाट दक्ष जनशक्ति उत्पादन गर्ने सोचले काम भइरहेको बताउनुभयो । नगर प्रमुखले नगरवासीहरु खानेपानीको समस्यामा रहेकोमा सचेत बन्दै भक्तपुर नगरपालिकाले काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडसंग सहकार्य गरेर विभिन्न ठाउँमा पानीको स्रोत पहिचान गरी ट्यांकीको निर्माण गरिरहेको जानकारी दिनुभयो । सल्लाघारीस्थित डिप बोरिङको पानी प्रशोधन गरी शुक्रबारदेखि पानी वितरणको परीक्षण थालनी गरेको उहाँले बताउनुभयो ।

भक्तपुरको पुरानो नगर क्षेत्रलाई व्यवस्थित, आकर्षक र पैदलयात्राको लागि सहज बनाउने हेतुले फागुन १ गतेदेखि भारी सवारी साधन प्रवेश निषेध गरिएको समेत प्रमुख प्रजापतिले अवगत गराउनुभयो । भेलामा भनपा ९ नंं वडाका वडाध्यक्ष तथा साँस्कृतिक व्यवस्थापन समितिका संयोजक रविन्द्र ज्याख्वले साँस्कृतिक अग्रजहरुको राय सल्लाहको आधारमा महोत्सवको क्रममा परम्परागत तथा आधुनिक विधाका साँस्कृतिक प्रस्तुतीहरु गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले भक्तपुर अझै पनि कतिपय परम्परागत बाजागाजा तथा साँस्कृतिक विधाहरु लोपोन्मूख अवस्थामा रहेको चर्चा गर्दै लोप भइसकेका र लोपोन्मुख विधाहरुलाई समेत पुनःजीवन दिन सके महोत्सवको सार्थकता रहने उल्लेख गर्नुभयो ।

ज्येष्ठ नगरसभासद तथा साँस्कृतिक व्यवस्थापन समितिका सदस्य गोविन्द दुवालले दाफा, भजन तथा परम्परागत बाजागाजा तथा नाचहरुमा दख्खलता हासिल गरेका साँस्कृतिक गुरुहरु कुनै विश्वविद्यालयका प्राध्यापकभन्दा कम नभएको बताउनुभयो । उहाँले भक्तपुरका जनताले कला संस्कृतिलाई सामाजिक संस्कारको रुपमा स्वीकार गरी स्वयंसेवी भावनाले दाफा भजनमा लागिरहेको चर्चा गर्दै नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्न ढिला गर्न नहुनेमा जोड दिनुभयो ।

भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतम प्रसाद लासिवाले नपाले २०५४ साल र २०६९ सालमा आयोजना गरेका महोत्सवहरुको समीक्षा गर्दै अबको महोत्सव नगरको मूल बजारमा मात्र सीमित नगरी विभिन्न गल्ली र चोकहरुमा समेत महोत्सका आकर्षणहरु समावेश गर्ने बताउनुभयो । महोत्सव सचिवालयका रमेश प्रजापतिले महोत्सवको क्रममा हुने विभिन्न गतिविधिबारे जानकारी गराउनुभएको उक्त कार्यक्रममा सहभागी साँस्कृतिककर्मीहरुले महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न रचनात्मक सल्लाह दिनुभयो ।

Leave A Reply

Your email address will not be published.