Explore news and happenings at Bhaktapur

के ‘नयाँ युग’को घोषणा असन्तुलित मनस्थितिको अभिव्यक्ति हो ?

– सुरेन्द्रराज गोसाई, प्रदेश सभासद, प्रदेश नं.३

0

दुई दसकको शिक्षा सेवाको यात्रा पूरा गर्दै तेस्रो दसकमा प्रवेशको संघार नजिक पुगिरहेको ख्वपको गरिमामय वार्षिकोत्सव समारोहमा उपस्थित हुन पाउँदाको सुखद् अनुभूति शब्दमा अनुदित गर्न असमर्थता अनुभव गर्दैछु ।

झण्डै एक दसक यो शैक्षिक ज्वालाको तेज बढाउन योगदानको सानो अंश खन्याउने अवसर मिलेको स्मरणमात्रले पनि गौरवान्वित हुन्छु । अनुभवका ती केही पत्र जीवनको एउटा अविस्मरणीय अध्यायको रुपमा सुरक्षित छन् र मनका अन्तर–कुन्तरमा नमेटिइने गरी सजिएका छन् ।

हामी यस्तो माटोमा उभिएका छौं जहाँ मनुष्यमात्रको होइन भौतिक निर्माण या संरचनाको समेत जन्मोत्सव मनाइन्छ । आजभन्दा ३१६ वर्ष अगाडि निर्माण गरिएको ङातापोलँको जन्मदिन हरेक वर्ष मनाइन्छ । त्यस दिनलाई भुसारां भनिन्छ । त्यस दिन विशेष स्याहार–सम्भार गरिन्छ, छानामा देखिएका घाँसपात उखेलिन्छन् अनि गजुरमा गौरवको पताका फहराइन्छ । अनि जनताको मन–मनमा आत्मगौरवको सञ्चार हुन्छ । तीन शताब्दीदेखि यो निरन्तर चल्दै आइरहेको छ ।

त्यही ङातापोलँ, लुँध्वाका निर्माण गर्ने पूर्खाका नयाँ सन्ततिले ङातापोलँको आँगनमा शिक्षाको नयाँ मन्दिर निर्माण गरे, ङातापोलँ निर्माणको झण्डै ३०० वर्षपछि । भक्तपुरको शैक्षिक अभियानमा त्यो एउटा महत्वपूर्ण फड्को साबित भयो । सम्पदा, कला–संस्कृति जगेर्ना र मठ–मन्दिरको जीर्णोद्वारको चरणलाई पार गर्दै ज्ञान बिज्ञानको केन्द्र बनाउने संकल्पका साथ भक्तपुरका जनता जागे । त्यो एउटा पुनर्जागरणको हिस्सा मान्नु अत्तिशय नहोला । फरक यति हो, ङातापोलं दास, भू–दास, अर्धदासहरुले निर्माण गरे, तीन दसक पनि जीवन बाँच्न नपाएकाहरुले आफ्नो रगत–पसिनाले सिँचेर, हाडखोरको जगमा ङातापोलँ ठड्याए र देशको गौरव उँचो पारे । तर दास बन्न अस्वीकार गर्ने विद्रोहीहरु, आधुनिक स्पार्टाकस र बारिनियाँहरुले, सःकुबियः लाय्कुया च्युता (मल बोकेर दरबारको चिन्ता) का भुक्तभोगीहरुले आज ख्वप खडा गरे । जुन परिस्थितिमा ख्वपको जन्म भयो, जुन उद्देश्य यसले बोकेको छ, जुन विचार र भावना साँचेको छ, त्यस आधारमा यसको स्थापना देशकै शैक्षिक इतिहासमा अभूतपूर्व घटना हो । यसमा आत्मवञ्चनाको अंश मात्र देख्नु पनि सर्वथा गलत हुनेछ ।

यथार्थमा अन्तरध्वंशबीच फक्रेको पृथक पुष्प हो, ख्वप । देशमा भर्खरैमात्र बहुदलीय व्यवस्था पुनःस्थापना भएको थियो । शासक दलहरु निजीकरण, उदारीकरणको नाउँमा शिक्षा क्षेत्रमा भाँडभैलो मच्चाउँदै थिए । शैक्षिक माफियाहरु जन्माउँदै थिए । सामुदायिक शिक्षाबाट भाग्न तम्सिरहेका थिए । मुठ्ठीभरका पूँजीपति वर्ग, दलाल पूँजीपतिलाई शिक्षाको ठेक्का दिइँदै थियो । अर्थात गाई मारी गधा पोस्न शासक दल लम्किरहेका थिए । त्यस्तो शैक्षिक अन्तरध्वंशबीच एउटा बेजोड प्रकृतिको शैक्षिक संस्था ख्वपको जन्म भयो । आग्रह, दुराग्रह र वक्रदृष्टि नराख्नेको निम्ति त्यो गौरव गर्न लायक घटना जरुर थियो ।

बहुदल स्थापनापश्चातको अर्को कहालीलाग्दो परिस्थिति भनेको आर्थिक अन्तरध्वंश थियो । छिमेकी र मित्रराष्ट्रहरुले आत्मनिर्भरताको निम्ति बनाइदिएका कलकारखाना तथा सार्वजनिक सेवाहरु कौडीको मोलमा बेचिए वा ध्वस्त पारिए । आर्थिक क्षेत्रमा ठूलो भुईचालो गयो । जताततै तहसनहस भयो । सहयोगी देशहरुलाई लोप्पा खुवाइयो । हेर्दाहेर्दै देश आर्थिक रुपमा खोक्रो बन्दै गयो । राष्ट्रिय ढुकुटी रित्तो हुन थाल्यो । कयौं क्षेत्रमा आत्मनिर्भर देश परनिर्भरताको सिक्रीले बाँधियो । विभिन्न बहानामा सुनको फुल पार्ने कुखुरा नै मार्ने मूर्खताको पराकाष्टा नाघिरहेको परिस्थितिमा निजीकरणको प्रतिधारामा, सामुदायिक सोचको एउटा सानो स्तम्भको रुपमा ख्वपको आरम्भ भयो । आज यो सामुदायिकताको प्रबल संभावना र सफलताको नमूना या प्रतीकको रुपमा प्रस्तुत छ । यसमा नार्सियाली गन्धको अंश पनि नभएको प्रति पनि हामी त्यतिकै सचेत छौं ।

बहुदल स्थापनाले पाँच वर्ष पूरा गर्दा नगर्दै तथाकथित जनयुद्धको नाममा देशमा राजनीतिक अन्तरध्वंश शुरु भयो । अन्य क्षेत्रझैं शिक्षा क्षेत्र आतंकित बन्यो । विद्यालय–कलेजमा आगो झोसिए, शिक्षकहरु पिटिए–मारिए† हड्ताल, बहिष्कार र अपहरणजस्ता घटना दैनिक खबर बने । शिक्षक–विद्यार्थी विदेश भाग्न थाले । विद्यालय–कलेजका खेलमैदान सैन्य परेडको भूमि बने । युद्ध भूमिमा परिणत भए । त्यो राजनीतिक अन्तरध्वंशको परिणाम आजसम्म पनि देशले भोग्दैछ । अराजकतावादी बन्दूक पड्किरहँदा, सर्वसाधारण जनताका छोराछोरीको काँधमा आयातित बन्दूक थम्याईदै गर्दा सुझबुझका साथ नेमकिपाका अग्रजहरुले देशमा नयाँ पिंढीलाई किताब–कलम थम्याइदिए । ज्ञान–बिज्ञानको गोरेटो खने । नबुझ्नेलाई जे भन्न पनि छूट छ तर बुझ्नेको निम्ति त्यो श्रीखण्ड प्रमाणित भयो । यसरी देशमा नियोजितरुपमा अन्तरध्वंशको आगो झोसिईदा नेमकिपाले राजनीतिक, वैचारिक, सांस्कृतिक र व्यावहारिक क्षेत्रमा रचनात्मक संघर्ष गर्‍यो । गलत विचारविरुद्ध जनता र देशको पक्षमा लड्यो । समाजमा आशा एवं विश्वासको बत्ती निभ्न नदिन अनेक उपाय गर्‍यो । त्यही संघर्षको उपजमध्ये एउटा यो शैक्षिक संस्था हो भन्नु सच्चाइभन्दा अलग्ग होइन । स्पष्ट भइसकेको छ कि ख्वपको जन्म कुनै नियमित आकस्मिता थिएन । यो राजनीतिक विचारको प्रतिफल र अनुभवको आधारमा दिइएको प्रतिउत्तर थियो ।

अझ प्रकाश पार्नुपर्दा, ख्वप समयसँगै बग्ने चाहनाको साकार रुप हो । ख्वप मगन्ते मानसिकताविरुद्ध बजिरहेको ‘तःग्व गाङ्’ हो । आफ्नै पौरखमा विश्वास गर्नेहरुको स्वाभिमानको ङातापोलं हो । डलरको दुर्गन्धबाट जोगिएको अर्को पचपन्न झ्याले दरबार हो । सभ्यतालाई खोज, ज्ञान–बिज्ञानले थप तेजिलो बनाउने जनप्रतिबद्धताको अर्को नाउँ हो, ख्वप । ढुड्डा, ईटा, काठलाई मुर्तिमान बनाउने हातहरुलाई अभिनन्दन गर्ने नवीनत्तम सोच हो । सुनको ढोका, सुनको धारा, सुनको गजुरको सहरलाई सुनसान बन्न नदिई दर्शन, चिन्तनको आभाले उजिल्याई दिने सपना हो ।

यो यथार्थ, यो सच्चाइ सबैसामु छर्लङ्ग छँदा छँदै शासक दल र सरकार किन अनुसरण गर्न तयार छैनन् ? किन यसलाई हुर्कन, फैलिन र विराट रुप दिन तयार भएनन् ? अर्थात विश्वविद्यालयको रुपमा विकास गर्न किन मान्दैनन् ? किन उल्टै बिथोल्न खोज्छन् ? किन छट्पटाहट् बढ्यो ? गलत बुझाइ राखेर हिंड्ने वियोगान्त नाटकका नायकझैं ख्वपको छाया देखी किन तर्सिए, किन शत्रु ठाने ? किन मौनतामा मार्ने चेष्टा गरे ? यी गम्भीर प्रश्न तेर्सिएका छन् । शासक दल तथा सरकारको यो सोच र कार्यशैलीले राणाहरु र राणा प्रवृत्ति जिउँदै छ भन्ने बताउँछ । ती जनताका शत्रु हुन् । तिनीहरुको एकाधिकार तोड्नु आजको चुनौती हो ।

जगजाहेर छ कि ख्वप स्थापनाको दुई वर्षमै देशमा प्रतिगमन शुरु भयो । स्थानीय निकाय जनप्रतिनिधिविहिन बनाइए । झण्डै १५ वर्षसम्म त्यो स्थिति कायम रह्यो । त्यो अर्को अन्तरध्वंश थियो । इतिहासमै देश सबभन्दा कमजोर स्थितिमा पुर्‍याइयो । बिखण्डनको संभावना सल्बलाउन थाल्यो । यही पृष्ठभूमिमा संघीयता थोपरियो । एकपछि अर्को अन्तरध्वंश जारी रह्यो अनेक आवरणमा, विभिन्न श्रृङ्गारमा ।

यो पनि आज स्पष्ट भइसकेको छ कि देशमा भएका यी तमाम अन्तरध्वंश पछाडि भारतीय एकाधिकार पूँजी तथा भारतीय विस्तारवाद थियो र छ । यो उदाङ्गो भइसकेको यथार्थ हो । समयले त्यसको पुष्ट्याई पेश गरिसकेको कसैबाट छिपेको छैन । नेपालीमध्येबाटै ट्रोजन हर्स फेला पारेर नेपालमाथि हमला गरी आफ्नो लाभ हासिल गर्न पाएकोमा भारत अझै विजयी मुद्रामा छ । आवश्यकताबमोजिम प्रयोगपश्चात त्यो ट्रोजन घोडालाई अर्को ठूलो तबेलामा हुल्याई अर्को उपद्रोह मचाउने षड्यन्त्र भारतीय विस्तारवाद  गर्दैछ । यस अर्थमा परिवर्तन खोज्नेहरुको निम्ति परिस्थिति अझै प्रतिकूल छ ।

जसरी आतंक, अराजकता र अन्तरध्वंशकाबीच हामीले चेतना फैलाउने कार्य रोकेनौं । जसरी ध्वंस मच्चाइरहँदा हामीले निर्माणको सुन्दर सपना त्यागेनौं । रचनात्मक राजनीति भुलेनौं; जसरी यातना, प्रताडना र दमनको प्रकोपमा हामीले जनसेवा, देशको निःस्वार्थ सेवालाई धर्म ठान्यौं जसरी राष्ट्रिय अस्मितामाथि धावा बोलिईदा देश रक्षा, अखण्डताको निम्ति नझुकी लड्यौं, त्यसरी नै अझ सशक्त ढङ्गमा उच्च मनोबलका साथ आज त्यस संघर्षमा जुट्न समयले निर्देश गर्दैछ । समाजका संवेदनशील समुदाय सुस्ताउने समय यो अझै होइन । बौद्धिकहरुले अभिभारा बहन गर्दै सक्रिय भूमिका निर्वाह गर्न आवश्यक छ, जान्नाले दुःख पायाँनै सही ! बौद्धिक तथा जिम्मेवारहरुको उदासिनता र असहभागिताले ठगहरुको बिगिबिगी बढ्ने, गलत तत्त्व हावी हुने, भ्रष्टहरुको हालीमुहाली चल्ने, गुण्डाराज आउने, निर्लज्जहरुले नेतृत्व गर्ने अस्वीकार्यताबीच अनुभव गर्न हामी बाध्य छौं ।

आजको यो संगीन परिस्थितिले प्राध्यापक, शिक्षक, प्राज्ञ तथा बौद्धिकसामु केही सवाल तेस्र्याउँदैछ । पाखण्डीहरुलाई कहिलेसम्म प्रश्रय दिई रहने ? खुलेआम धर्म प्रचारमा लागेर सरकार आफैले संविधानको उपहास गर्दासमेत मुकदर्शक भई कतिञ्जेल बस्ने ? कतिजना प्रधानमन्त्रीलाई ‘होली वाइन’ खुवाएको हेरिबस्ने ? कतिजनाले हिजो लुकी–लुकी खाए ? खान खुट्टा उचाली बस्ने कति छन् ? विदेशीको विषसमेत अमृत ठान्ने दासहरुलाई यहाँ कतिञ्जेल नायक मान्ने ?

वर्तमान सरकारसमक्ष पनि समयले केही यक्ष प्रश्न तेर्स्याइँदैछ । स्थायी सरकार मागे, जनताले दिए । बहुमत मागे, जनताले दुई–तिहाइ दिए । तर सरकार यति निष्प्राणतुल्य किन छ कि ऊ एउटा बलात्कारी पत्ता लगाउन सक्दैन ? तर सरकार यति निरीह किन छ कि ऊ आफ्नो मातहतका कर्मचारीलाई परिचालन गर्न सक्दैन ? सरकार किन यति निस्सहाय छ कि ऊ आफ्ना जनता, पार्टी र कार्यकर्ताको भर देख्दैन र विचौलिया, गुण्डा, माफिया, ठेकेदारको शरणमा जान्छ । यति शक्तिशाली सरकारलाई १३ करोडको ‘होली वाइन’ खाएर कोही विदेशीले पवित्र घोषणा गरी दिनुपर्ने बाध्यता कसरी आइलाग्यो ? के दुई–तिहाइभन्दा त्यस्तो बलियो शक्ति छ यहाँ जसले सरकारलाई रोक्ने तागत राख्दछ ? यति शक्तिशाली सरकार आइएनजिओको पाउ मोल्न किन विवश छ ? यो हिनताबोध, लघुताभाष किन ? सरकार स्वयम् किन ‘पोष्टर वार’ मा उत्रिन्छ ? एउटा बलात्कृत बालिकाको तस्बीरदेखि किन भयभित हुन्छ ? सरकारकै मति बिग्रिसकेको कि मतिभ्रष्टहरुको चौघेरामा सरकार फसेको ? प्रश्न उठ्नु स्वाभाविक छ ।

आक्रोशित जनता सोधिरहेका छन् । पोल पोलमा सरकार के गाउँ–गाउँमा सिंहदरबारको संशोधित नारा हो ? कम्युनिष्ट सरकार दाबी गरेर के आफ्नो प्रभुलाई धम्काउन खोजिएको हो ? कि फिरौती माग्ने लुटेराको धम्की हो यो ? के समाजवाद साम्राज्यवादीहरुसँगको बार्गेनिङ अर्थात मोलमोलाइ हो ? या गरीबलाई दिइएको आश्वासन ? के समृद्धि पागलपे्रमीको ‘इमोशनल ब्लाकमेलिङ’ हो या सुकुलगुण्डाको स्वर्णिम सपना ? के ‘नयाँ युग’को घोषणा असन्तुलित मनस्थितिको अभिव्यक्ति हो या हतास मानसिकताको उपज ?

यी सवालका अलावा केही बौद्धिकहरु प्रम ओलीलाई सुझाउँदैछन् । जनताभन्दा अलग्ग बस्ने, अहङ्कारले जल्ने, आत्मप्रशंसाका भोका, दम्भमा रम्ने, चाटुकारहरुको घेरामा नाच्ने, चटके प्रवृत्ति पाल्ने, हरेक शासकले बादशाहको नयाँ लुगाका बादशाहको नियती नभोगी सुखै छैन । यो पनि सत्य हो कि समयसँगै नयाँ बालकको पनि जन्म हुनेछ । त्यो बालक जो पनि बन्न सक्छ । रामचन्द्रका गुरु वशिष्ठले भनेझैं खिर खाने बेला मात्र मुख खोल्ने जोगी नभई जो हिम्मत र विवेकसहित सत्यनिष्ठ छ त्यो नयाँ बालक बन्न सक्छ । हो, यतिखेर यो वर्तमान नयाँ बादशाह र नयाँ सम्भ्रान्त वर्गविरुद्ध बोल्ने नयाँ बालक खोजिरहेछ ।
धन्यवाद ।

(प्रदेशसभा सदस्य तथा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले ख्वप मावि,  ख्वप कलेज र शारदा क्याम्पसको वार्षिकोत्सव समारोहमा दिनुभएको मन्तव्यको सारसंक्षेप)

Leave A Reply

Your email address will not be published.