शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको योगदानलाई मापन गर्ने हो भने भक्तपुर नगरपालिका देशकै नमुना नगरपालिकाभित्र पर्दछ । पालिकाको आफ्नै लगानीमा ख्वप कलेज र अस्पताल सञ्चालन गरेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रबाट नाफाभन्दा पनि सेवाको भावनाले खोल्नुपर्छ । अहिले मेडिकल माफियाले ६० लाख भन्दा बढी रकम शुल्क लिएर पढाइरहेको एमबीबीएस ख्वप कलेजले विश्वविद्यालयको मान्यता पाए प्राध्यापकलाई तलब खुवाउने मात्र रकम निकाली एमबीबीएस पढाउने दाबी नगर प्रमुखको छ । नगरपालिकाले गरेका राम्रा कार्य, इमानदारी विकासमा खेल्ने भूमिकालगायत विषयमा केन्द्रित रहेर भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिसँग नेपाल समाचारपत्रका भवनाथ प्याकुरेलले गरेको कुराकानी
१। भक्तपुर नगरपालिकाले अन्य पालिकाले नगरेका फरक प्रकृतिका के कस्ता कार्य गरिरहेको छ ?
भक्तपुर नगरपालिका देशका ७ सय ५३ पालिकामध्ये एक हो । नेपालको संविधान र कानूनले सबै पालिकालाई उत्तिकै अधिकार प्रदान गरेको छ । संविधान र कानूनले दिएको अधिकार क्षेत्रभित्र रही भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माणमा जनसहभागिता, युवालक्षित सीपमूलक तालिमहरूको बन्दोबस्त र नागरिक भावना जगाउने काम गरिरहेकोे छ ।
२। शिक्षा क्षेत्रमा तपाईंहरूले कस्ता उदाहरणीय कार्य गर्नुभएको छ ?
आजभन्दा ४ दशकअघिसम्म भक्तपुर शिक्षा क्षेत्रमा देशकै सबभन्दा पछाडि परेको जिल्ला मध्ये एक थियो । २०३६ सालमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ९रोहित० १० वर्षे भारत प्रवास जीवनबाट फर्कनुभएपछि परीक्षामा चोरी गरेर पास गर्ने प्रबृत्तिको चर्को आलोचना गर्नुभयो । उहाँले विद्यार्थी फेल भएको ठिक तर गलत काम गराउनु हुन्न भन्नुहुन्थ्यो । सबै विद्यालयमा चोरी प्रवृत्ति पूरै नियन्त्रणमा आउन ८–१० वर्ष लाग्यो । अहिले चोरी भन्ने विषय पूर्णरुपमा बन्द भएको छ ।
२०५४ सालको स्थानीय निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको घोषणापत्रमा ‘शिक्षालाई जोड दिने’ भन्ने उल्लेख थियो । त्यतिबेला मेयर प्रेम सुवाल हुनुहुन्थ्यो । पार्टी नीति र घोषणापत्रअनुसार विसं २०५६ सालमा ख्वप मावि सञ्चालन भयो । त्यसपछि २०५८ सालमा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज, २०६० सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ इन्जिनियरिङ, २०६७÷६८ मा शारदा कलेज÷मावि संचालन भयो । नयाँ संविधानअनुसार भएको दोश्रो स्थानीय निर्वाचनपछि २०७९ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट स्विकृति लिई ख्वप कलेज अफ ल सञ्चालन गरिरहेका छौँ । कानूनमा पनि बिएएलएलबी ९५वर्षे० कक्षा संचालन गरिरहेका छौं । त्यसमा ६० जना विद्यार्थी पढ्दै छन् । २०५६ सालमा अध्यक्ष विजुच्छेले ‘१५ वर्ष भित्र एक घर एक स्नातक’ बनाउने घोषणा गर्नुभयो । उहाँले शिक्षाको माध्यमबाट समाज परिवर्तन गर्ने सोच लिनुभयो । हाल भनपाद्वारा संचालित २ वटा इन्जिनियरिङ कलेजबाट वार्षिक ४३२ जना विभिन्न विषयका इन्जिनियरसहित नपाका अन्य कलेजहरुमा ७७ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरू उच्च शिक्षामा अध्ययनरत छन् । आर्थिक अभाव र समस्याको कारण कुनै पनि विद्यार्थी उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भनी शैक्षिक ऋणको व्यवस्था गरेका छौँ । ५ लाख रुपियाँसम्म ऋण स्वीकृत गरेर उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरेका छौँ । हाल नगरपालिकाको शैक्षिक ऋणमा करिब ६ सय जना विद्यार्थी उच्च शिक्षामा अध्ययनरत छन् । देशको भविष्यको आवश्यकतालाई ध्यान दिएर इतिहास, भूगोल, संस्कृति, नेपालभाषा, राजनीतिशास्त्र, अर्थशास्त्र विषय लिइ अध्ययन गर्ने नगरबासी विद्यार्थीहरूलाई स्नातकदेखि विद्यावारिधिसम्म पूर्ण छात्रवृत्तिको व्यवस्था छ । हाल धेरैले छात्रवृत्तिमा स्नातक र स्नातकोत्तर अध्ययन गरिरहेका छन् भने ९ जनाले विद्यावारिधि गरिरहेका छन् । शिशुस्याहारदेखि कलेजहरूसम्म सञ्चालन गर्ने र विद्यावारिधिसम्म अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था गर्ने भक्तपुर पहिलो र देशको एकमात्र नगरपालिका हो । सरकारले विधेयक पारित गरिदियो भने विश्वविद्यालय सञ्चालनको पनि तयारी गर्दैछौं ।
३। ख्वप कलेजमा कति पैसामा पढ्न पाइन्छ ?
४ लाख ७० हजारमा कानुन विषय पठ्न सक्छन् । इन्जिनियरिङमा वर्षमा ४ सय ३२ जना भर्ना हुन पाइन्छ र ७ लाख रुपियाँमा पढ्न सकिन्छ । पढ्नका लागि हजारौँ विद्यार्थीले आवेदन दिने गरेका छन् । ओभरसेयरको कोटा ४८ जनाको रहेको छ । ४० जनाको नर्स पढाउने कोटा छ । स्नातक र स्नातकोत्तरको गरी सबै संकायमा ७ हजार भन्दा बढी विद्यार्थीहरू पढिरहेका छन् । धेरै विषयमा स्नातकोत्तर तहसम्म पढाइ भइरहेको छ । ख्वप कलेजहरूको सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गरिरहेको छ ।
४। कलेज सञ्चालनमा वार्षिक कति खर्च हुन्छ ?
दुई ओटा इन्जिनियरिङ कलेजको गरी वार्षिक खर्च ५० करोड जति खर्च छ । ख्वप कलेज र उच्च माविमा पनि झण्डै त्यत्तिकै हाराहारीमा खर्च हुने गर्दछ । कानुन विषयको पढाइ भर्खर भएको हुनाले खर्च अन्यको संकायको तुलनामा कम छ । अहिले १ सय २० जना पढिरहेका छन् । अब फेरि ६० जना भर्ना लिने योजना कलेजको छ । गुणस्तरको सन्दर्भमा पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा १ सय १७ कलेज छन् । ति मध्ये सबैभन्दा सर्बोत्कृष्ट कलेज ख्वप इन्जिनियरिङ कलेज हो । विश्वविद्यालयको रजत जयन्तिको उपलक्ष्यमा ख्वप कलेजलाई सम्मान नै गरेको थियो । नेपालको इन्जिनियरिङ कलेजह्रमध्ये ख्वप सबैभन्दा अगाडि छ ।
५। शिक्षा क्षेत्रमा राम्रो गर्नका लागि के गर्नु पर्दछ ?
पहिला व्यवस्थापन राम्रो हुनुपर्ने, योग्य प्राध्यापक हुनुपर्ने र प्राध्यापकमा सेव ागर्ने भावना पनि हुन जरुरी छ । व्यवस्थापन राम्रो हुन इमान्दारिता, पारदर्शिता, लगनशिलता, योग्यतालगायत सबै कुरा चाहिन्छ । कलेजलाई आवश्यकता एउटा तर व्यवस्थापनले अर्को राम्रो हुँदैन । इन्जिनियरिङ कलेजमा स्तरीय पुस्तकालयको व्यवस्था हुन पनि अति जरुरी छ । त्यस्तै ल्यावका उपकरणलगायत सबै खालका बन्दोवस्त हुन आवश्यक छ । यस्तो व्यवस्थापनका लागि वर्षको करोडौं रुपियाँका उपकरण किन्ने गरिएको छ । कलेजमा कुनै किसिमको समस्या छैन । बन्द हडताल हुँदैन । शिक्षक र प्रोफेसरहरु लगतसिलताका साथ दिएको समयमा इमान्दारिताका साथ काम गर्नु भएको छ ।
६। यति ठुलो कजेजमा राजनीतिक रुपमा हुने बन्दा हडताल न्यूनिकरण गर्न कसरी सम्भव हुनुभयो ?
हाम्रो कलेजमा उच्च पदस्थ अधिकारीहरुका छोराछोरीहरु पनि पढ्नुहुन्छ । उहाँहरुलाई पहिले नै कलेज भित्र अनुशासनहीन नगर्नु भन्ने विषय बुझाउने गरेका छौँ । विद्यार्थीले पनि सहयोग नै गरिरहुन भएको छ । २०६५ सालमा केही विद्यार्थीहरुले बन्द गरेर दुःख दिएका थिए । १८÷२० दिनसम्म बन्द गरेका थिए । पढाइमा अवरोध गर्ने हो भने आफ्नो ठाउँमा गएर गर्नुहोस् भन्यौं । केही विद्यार्थीले अलि कडा गर्नुपर्ने अवस्था आयो । उहाँहरुले माफी माग्नुभयो । अहिले त्यस्तो कुनै समस्या छैन । १० वर्ष जनयुद्ध भएक बेला पनि कहिल्यौ बन्द नभएको कलेज भित्र ख्वप कलेजहरु पर्दछन् । तत्कालिन माओवादीका साथीहरु आउनु भएको थियो । हामीले १ खण्टा कक्षा लिनु र उहाँले सोधेको जवाफ दिनु भन्ने ग¥यौं । विद्यार्थीले सोधेका माओ विचारधारासँग सम्बन्धित विषयहरुको जवाफ दिन नसकेपछि फेरि आएनन् ।
७। नगरपालिका भित्र रहेका विद्यालयको अवस्था कस्तोे छ ?
पहिले सरकारी विद्यालय कमजोर नै थिए । हामीले राम्रो व्यवस्थापन गर्नुपर्छ भन्ने भएपछि भौतिक, शिक्षक तालिम, पुस्तकालयको व्यवस्था, ल्यावको व्यवस्थापनलगाय व्यवस्थापन गरे पनि अहिले राम्रो हुँदै गइरहेको छ । दक्ष शिक्षक बनाउन खोजिएको छ । यस्तै शिक्षकलाई अनुशासनमा राख्न प्रयास गरिएको छ । यो वर्ष शिक्षकलाई अन्तरनगरपालिका सरुवा गर्ने पनि गरिएको छ । शिक्षक सरुवा गर्नुको उद्देश्य राम्रो शिक्षकले अन्य ठाउँमा गएर पनि राम्रो गरोस् भन्ने हो । नगरपालिकाले कक्षा ५, ८ र १० को परीक्षा लिने गरेको छ । पहिले देखि नै फिल्टर गर्दै लगेपछि माथिसम्म नै विद्यार्थीको पढाइ राम्रो हुन्छ । हामीले खेलकुद, साहित्यलगायत प्रतियोगिता गर्दा सामुदायिक र निजी भनेर नछुट्याई कार्यक्रम गर्ने गरेका छौं । तालिम पनि सँगै दिने गरिएको छ । गरिबीका कारण उच्च शिक्षा हासिल गर्न नसक्नुको कारण नहोस भन्ने हाम्रो उद्देश्य हो ।
८। नगरपालिककाले उच्च शिक्षा हासिल गर्नेलाई ऋण दिएको विषयबारे बताइदिनुहोस् ।
उच्च शिक्षा हासिल गर्न गरिब परिवारका विद्यार्थीहरुलाई नगरपालिकाले ऋण दिने गरेको छ । ६ सय जना जति विद्यार्थीले नगरपालिकासँग ऋण लिएर पढिरहेका छन् । जसमा ५ लाख ऋण लिन पाउँछन् । नगरपालिका भित्र बस्नेले स्वदेशमा जहाँ गएर पढे पनि विश्वविद्यालयमा तिर्दिने गरेकोछ । पहिलो वर्ष लिनेले पहिलो वर्षमा २० प्रतिशत फिर्ता हुन पनि सुरु भइसकेको छ । अहिले ८५ लाख जति फिर्ता पनि आइसकेको छ । पढ्दापढ्दै गर्दा बिचमा तिर्नु पर्दैन । पढिसकेपछि पहिलो वर्ष २५ प्रतिशत दोस्रो वर्ष ५० प्रतिशत तेस्रो वर्ष २५ प्रतिशत तिर्नुपर्ने सर्ता गरिएको हुन्छ । यस्तो ऋण जुनसुकै संकायबाट पढ्नेलाई पनि दिने गरिएको छ । नगरपालिकाले धेरै विषयमा छात्रवृत्ति नै दिने गरेको छ । भूगोल, इतिहास, राजनीतिक शास्त्र, संस्कृति, नेपाल भाषा, अर्थशास्त्रलगायत विषयमा पढ्नेलाई स्ननतक देखि विद्यावारिधिसम्म पढ्नका लागि छात्रवृत्ति दिने गरेको छ । स्नातकमा ४० जना जति निःशुल्क पढिरहेका छन् । हाम्रो कलेजहरूमा वार्षिक सवा ४ करोड छात्रवृत्तिमा मात्र खर्च गर्ने गरेका छौँ ।
९। शिक्षा क्षेत्रलाई उठाउनु पर्छ भन्ने मानसिकता कसरी विकास भयो ?
यसमा नेपाल मजदुर किसान पार्टीको अध्यक्षको भिजन हो । यसै अनुसार पार्टीको नीति अनुसार हामीले कार्य गरिरहेका छौँ ।
१०। स्वास्थ्य क्षेत्रमा पनि नगरपालिका अरु भन्दा नमुना बन्न कसरी सफल भयो ?
घरघरमा गएर नागरिकको स्वास्थ्यको हेरचाह गर्न घरदैलो नर्सिङ सुरु गर्ने भक्तपुर देशकै पहिलो नगरपालिका हो । पालिकामा बिरामी, सुत्केरी, ज्येष्ठ नागरिकको निम्ति आवश्यक हेरचाह गर्नेदेखि ड्रेसिङका कामसमेत नागरिकको घरमै हुन्छ । वडा वडामा चिकित्सक सहित स्वास्थ्य केन्द्रहरूको व्यवस्था र १०० शैय्याको ख्वप अस्पताल सञ्चालनमा छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले यो चालू आ।ब। २०८०÷८१ को असार २१ गतेसम्म २ लाख ३६ हजार ६०० भन्दा बढी बिरामीलाई सेवा प्रदान गरिसकेको छ । ती बिरामीहरु ७० वटाभन्दा बढी जिल्लाका छन् । गत आ।ब।मा २ लाख २० हजार ४ सय बढी विरामीलाई सेवा दिएको थियो । त्यसको अलावा दम खोकीको निम्ति श्वासप्रश्वास पुनःस्थापना केन्द्र, आँखा उपचारको निम्ति ख्वप तिलगंगा आँखा अस्पताल, नगर नागरिक आरोग्य केन्द्र सञ्चालन गर्दै नगरबासीहरूलाई छिटो छरितो स्वास्थ्य उपचार सेवा प्रदान गर्दैछौं । प्रदेशअन्तर्गतको भक्तपुर अस्पताल, संघ सरकारअन्तर्गत भक्तपुर क्यान्सर अस्पताल र सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र पनि यसै नगरभित्र रहेकाले अधिकाँश रोगहरुको उपचार भक्तपुरका सरकारी अस्पतालहरुमा सम्भव हुँदै गइरहेको छ । नगरबासी अरु सबैका लागि निःशुल्क अक्सिजनको बन्दोवस्त छ । नगरबासीहरुको लागि निःशुल्क रगतको पनि व्यवस्था छ । ती सबैको खर्च नगरपालिकाले व्यहोर्छ । सरकारी अस्पतालहरुमा सेवा राम्रो भए गरिब जनतालाई फाइदा हुन्छ र निजी अस्पतालको आवश्यकता पनि कम हुँदै जान्छ ।
११। भक्तपुर नगरपालिका नमुना नगरपालिका बन्नुमा कसको हात रहेको छ ?
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले २०५६ सालमा १५ वर्षभित्र एक घर एक स्नातक घोषणा गर्नुभयो । जसले भक्तपुरको शैक्षिक क्षेत्रमा आमूल परिवर्तन ग¥यो । उहाँले सोही वर्ष १०० वर्षपछिको भक्तपुर’ को कल्पना गर्दै एउटा पुस्तक पनि प्रकाशित गर्नुभयो । त्यो भक्तपुर पुनःनिर्माणको निम्ति राम्रो आधार बन्यो । शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माण, आवश्यक सीपमूलक र भाषाका तालिमहरू नगरपालिकाले सुरु ग¥यो र गर्दैछ । भक्तपुर आजको अवस्थामा पुग्न नेपाल मजदुर किसान पार्टीको महत्वपूर्ण योगदान छ । पार्टीको नीति र निर्देशनअनुसार चल्दै जाँदा भक्तपुर अहिलेको अवस्थामा पुगेको हो । भक्तपुरमा गर्न बाँकी धेरै कार्यहरू छन् । हामी विस्तारै गर्दै जाने छौँ । स्थानीय जनतामा रहेको आत्मनिर्भरताको भावना नै प्रमुख हो ।
१२। सफल हुन इमानदारिताले खेल्ने भूमिका कस्तो हुँदो रहेछ ?
पारदर्शिता, इमानदारिता र अनुशासन विकासको निम्ति प्रमुख आधारहरु हुन् । भक्तपुर नगरपालिकाले गर्ने हरेक काम जनसहभागितामूलक र पारदर्शी हुने गरेको छ । पारदर्शिताले जनविश्वास बढ्छ, विश्वासले काम गर्नेहरूमा हौसला मिल्छ र सेवामा प्रतिस्पर्धात्मक भावनाको विकास हुन्छ । हामीले उपभोक्ता समितिमार्फत विकास निर्माणलाई जोड दिंदै छौं । संरचनामा अपनत्व, कार्यमा गुणस्तर, स्थानीय श्रम, सीप र भौतिक वस्तुको प्रयोग हुने हाम्रो अनुभव छ । नपाको बजेट स्थानीय जनताकै बीचमा जाने हुँदा यसले केही हदसम्म स्थानीय जनतालाई रोजगारीको पनि अवसर प्रदान गर्दछ ।
१३। नगरपालिकाभित्र कृषि र पर्यटन क्षेत्रमा गरेका कार्य के कस्ता छन् ?
भक्तपुर कृषकहरूको बाहुल्यता भएको नगर हो । कृषि उत्पादन बढाउन कृषकहरूको लागि माटो परीक्षण, किटनाषक औषधि प्रयोग, कम्पोष्ट मल बनाउने विधि, नयाँ नयाँ विउविजन उत्पादन, कृषि प्राविधिक तालिम, कौसी खेती, च्याउ खेतीलगायत थुप्रै तालिमहरू निरन्तर सञ्चालन गर्दै आएको छ । मौसमअनुसार धान, गहुँ, आलुको बिउ वितरण, नपाद्वारा उत्पादित कम्पोष्ट मल सहुलियत दरमा वितरण गरी कृषकहरूको हितमा काम गर्दैछ ।
त्यसैगरी पर्यटन भक्तपुर नपाको एउटा महत्वपूर्ण स्रोतहरु मध्ये एक भएको हुँदा निरन्तर पर्यटन केन्द्रित गतिविधिहरू पनि गर्दै आएको छ । मूर्त र अमूर्त सम्पदाहरू देशकै सम्पत्ति भएको हुँदा त्यसको संरक्षणमा भक्तपुर नपाले ध्यान दिएको छ । समय समयमा बाजा प्रतियोगिता, सांस्कृतिक गुरुहरूको सम्मान, सम्पदा पदयात्रा कार्यक्रमलगायतका कार्यक्रमहरू गरी आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षित गर्दै आएको छ । आ।व। २०८०÷८१ मा २ लाख ४५ हजार विदेशी पर्यटकहरुले भक्तपुर नगर भ्रमण गरेको रेकर्ड छ ।
१४। पालिकालाई अझ राम्रो गर्न के कस्ता कार्य गर्ने योजना रहेको छ ?
यस नगरपालिकालाई सँधैभरि सफा र सुन्दर राख्न नपा भित्रबाट बगेका कासाङ खोला र हनुमन्त्ते खोलामा सफा र स्वच्छ पानी बग्ने वातावरण निर्माण गर्ने हाम्रो प्रयाश जारी छ । त्यसको निमित हनुमानघाट र सल्लाघारीमा गरी २ वटा फोहर पानी प्रशोधन केन्द्रहरू निर्माणाधीन छन् । ख्वप विश्वविद्यालय स्थापना गरी शिक्षालाई श्रमसँग जोड्ने शिक्षा प्रदान गर्ने र सस्तोमा गुणस्तरीय चिकित्सक उत्पादन गर्ने पनि हाम्रो दीर्घकालीन लक्षभित्र पर्छ ।
१५। तपाईंको नगरपालिकामा बजेट परिचालनको अवस्था कस्तो रहेको छ ?
भक्तपुर नपाको चालु आ।व। २०८०÷८१ मा कुल बजेट रु। २ अर्ब २६ करोड ८५ लाख ९४ हजार रहेको छ । हालसम्म पूँजिगत, चालु र वित्तीय व्यवस्था गरी कुल खर्च ७१÷१७ प्रतिशत भएको छ । सरकारले स्रोत निश्चित गरेका योजनाहरूमा समेत अनुदान घटाउने निर्णय गर्दा देशभरका स्थानीय तहहरूले समस्या भोगिरहेका छन् । बागमती प्रदेशले चालु वर्षमा समानीकरण र बिशेष अनुदान भक्तपुर नगरपालिकालाई पठाएन ।
१६। खानेपानीको समस्या समाधान गर्न कस्ता योजना रहेका छन् ?
खानेपानीको आफ्नै स्रोत नहुँदा धेरै समस्या भोगिरहेका छौं । नगरबासीहरू नगरकोट र मेलम्चीको पानीको भरमा छन् । समय समयमा खानेपानीको निकै ठूलो समस्या भोग्नु परेको छ । केही बैकल्पिक श्रोतको निम्ति पनि हामीले प्रयाश गरिरहेका छौं । पर्याप्तमात्रामा मेलम्चीको पानी नआएसम्म भक्तपुरबासीले सहज रुपमा पानी प्राप्त गर्न सक्ने छैनन् ।
१७। पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरू के कस्ता छन् ?
दरबार क्षेत्र, टौमढी क्षेत्र, दत्तात्रय क्षेत्र भक्तपुरका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरू हुन् । दरबार क्षेत्र सन् १९७९ मा युनेस्कोले विश्व सम्पदामा सूचिकृत गरेका क्षेत्र समेत हो । पुरानो बस्ती रहेको भक्तपुर नगर सम्पदा क्षेत्र हो । यो आफैमा एउटा खुल्ला संग्रहालय हो । यसको संरक्षणको निम्ति भक्तपुर नपाले पुरानो नगरभित्र घर बनाउने नगरबासीहरूलाई मौलिक शैलीमा घर बनाउन प्रोत्साहन स्वरुप अनुदान प्रदान गर्दै आएको छ ।
१८। तपाईंहरूले २० लाखमा एमबीबीएस पढाउने भन्नुभएको विषयको बारेमा बताइदिनुहोस् । यो सम्भव छ ?
सुरुकै वर्ष हामीले १ लाख ९० हजारमा इन्जिनियरिङ पढाएका थियौँ । त्यतिबेला अन्त ७ लाख थियो । हामीसँग ७ वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरू सञ्चालनको अनुभव छ । भौतिक पूर्वाधार निर्माण एक पटक गरे पुग्ने हो । नाफा हाम्रो उद्देश्य भित्र पर्दैन । लागत मात्रै उठाउने हो भने थोरै पैसा लिएर पनि चिकित्सक उत्पादन गर्न सकिन्छ । अहिले शिक्षालाई व्यापार बनाइएको हुँदा निकै महँगो भएको छ । हामी सेवामा नै ध्यान दिन्छौं । सस्तोमा चिकित्सा शिक्षा प्रदान गर्न सकिन्छ ।
१९। अहिले कति रकममा एमबिबिएस पढाउन सकिन्छ ?
हामीले ६ वर्ष अगाडि १५ लाखमा पढाउँछौँ भनेका थियौँ । अहिले केही बढी होला । हामीले भौतिक संरचनाको पैसा नलिइ प्रोफेसरलाई तलव दिन रकम निकाले पुगिहाल्छ । हामीलाई युनिभर्सिटीको स्वीकृति दियो भने अरुको जसरी लिँदैनौँ । हामीले १५।१६ लाख भन्दा बंगलादेशमा १६ लाख मात्र थियो ।
२०। युवा लक्षित कस्ता तालिम सञ्चालन भइरहेका छन् ?
युवाहरुलाई लक्षित गरी सिलाइ बुनाइ, हेयर कटिङ९कपाल काट्ने० , बुटिक तालिम, कम्प्युटर, प्लम्बर, विद्युतको तालिम र मखमली जुता, बेकरी तालिम, काष्ठकला, चिनियाँ र जापानी भाषा, पर्यटक पथप्रदर्शक तालिमलगायतका थुप्रै सीपमुलक तालिमहरु अहिले संचालनमा छन् ।
स्रोत ः नेपाल समाचारपत्रबाट
२०८१ साउन १