Explore news and happenings at Bhaktapur

जीवनका उद्देश्य देश र जनताको सेवा गर्ने हुनुपर्ने

भक्तपुर, २०७५ पुस ४ गते विहिबार ।

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माविको १९ औं, ख्वप कलेजको १७ औं र शारदा क्याम्पसको २८ औं वार्षिक उत्सवको अवसरमा बुधबार कलेजको प्राङ्गणामा शैक्षिक प्रदर्शनी तथा पुरस्कार वितरण समारोह २०७५ को उद्घाटन समारोह सम्पन्न भयो । कार्यक्रमको औपचारिक उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले शिक्षा व्यक्तिगत र सामाजिक विषय भएको र समाजवाद हुँदै वर्गविहीन र राज्यविहीन साम्यवादी समाज स्थापनाको लागि अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उत्पादनका मुख्य मुख्य स्रोत र साधनहरू सामाजिकीकरण नभएसम्म वर्ग संघर्षबाट मुक्त हुन नसक्ने विचार राख्नुहुँदै नेता बिजुक्छेँले जीवनको उद्देश्य देश र जनताको सेवा गर्ने हुनुपर्ने बताउनुभयो ।
हाम्रो देशमा अहिले प्रादेशिक र केन्द्रीय शिक्षामा भिन्नता आउने सम्भावना रहेको बताउनुहुँदै शिक्षामा नवउदारवादविरुद्ध युवालाई सचेत पार्न आवश्यक रहेको बताउनुभयो ।

‘देशको प्राकृतिक र मानवीय स्रोत विदेशमा जाँदैछ । देश झन् कमजोर हुने संकेत यसले देखाउँछ ।’– उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले सरकारको नीति तथा कार्यक्रम समाजवादउन्मुख नभएको र समाजवाद देखाउने दाँत मात्र भएको बताउनुभयो ।

अरबौं लगानी गर्नेलाई कर छुट दिने र थोरै कमाउनेलाई बढी कर लगाउने सरकारको नीति खोटपूर्ण भएको बताउनुहुँदै सांसद सुवालले नेपालका अर्थतन्त्र पुरै भारतमा निर्भर हुनु, खाद्यान्न भारतबाट आयात हुनु र युवाहरू विदेश पलायन हुनुले देश झन् झन् परनिर्भरतातर्फ गइरहेको संकेत गर्दछ भन्नुभयो ।

उहाँले चुनाव जित्न अरबौं पैसा खर्च गर्ने, राजनीतिलाई पैसाले किन्ने शासक दलका नेता तथा कार्यकर्ताहरूकै कारण नेपालको राजनीति झन् झन् बिग्रिरहेको बताउनुभयो ।

कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले शिक्षामा भक्तपुर नपाले अगुवाको भूमिका खेलिरहेको र समाजमा परिवर्तन ल्याउन देश र जनतामा समर्पित भएर लाग्नुपर्ने बताउनुभयो ।
नेपालको संविधानले मावि तहसम्मको शिक्षा निःशुल्क गर्ने भनिए पनि संविधानअनुरुप सरकारले बजेट व्यवस्था गर्न नसकेको बताउनुहुँदै प्रमुख प्रजापतिले संघ सरकारले आवश्यक बजेट विनियाजन गरेको खण्डमा भनपाले मावि तहसम्म निःशुल्क शिक्षाको बन्दोबस्त गर्ने बताउनुभयो ।

प्रदेश नं. ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले ख्वप कलेजको स्थापनाले देशकै विद्यार्थीहरूले सस्तो र गुणस्तरीय शिक्षा प्राप्त गरिरहेको बताउनुहुँदै शासक दलको पूर्वाग्राही सोचकै कारण ख्वप विश्वविद्यालय विधेयक अगाडि नबढेको बताउनुभयो ।

अर्का प्रदेशसभा सदस्य सृजना सैंजुले भक्तपुर नगरपालिकाले देशलाई आवश्यक जनशक्ति तयार गरी देशकै सेवा गरिरहेको बताउनुभयो । उहाँले प्रदेश सरकार एनजीओ र आइएनजीओको सहयोग पाउनुलाई आफ्नो सफलता सम्झनुले वर्तमान सरकार जताततै असफल भइरहेको सावित भएको बताउनुभयो ।

 

 

 

 

 

 

कार्यक्रममा त्रिवि शिक्षाशास्त्रका पूर्व डीन पृथुचरण वैद्य, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, ख्वप कलेजका प्राचार्य रुपक जोशीलगायतले बोल्नुभएको थियो ।

कलेजको वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलका विजयी खेलाडीहरू, कलेजमा अध्ययनरत विभिन्न संकायका उत्कृष्ट विद्यार्थीहरूलाई मायाको चिनो र पुरस्कार वितरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.