Explore news and happenings at Bhaktapur

‘भाषा र संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व हो’

मंसिर २, २०७७ सुनिल प्रजापति

0
  • (नेपाल संवत् ११४१ न्हू दँको अवसरमा अनलाइनमार्फत कार्तिक ३० गते भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको मन्तव्य)

नेपाल संवत् ११४१ नयाँ वर्षको उपलक्ष्यमा सम्पूर्ण नेपाली जनतामा देश र जनताको हितमा निरन्तर काम गर्न सकून् भनी शुभकामना व्यक्त गर्दछौँ ।
हरेक वर्ष आजको दिन सांस्कृतिक बाजा ¥यालीसहित हाम्रा साथीहरूले विभिन्न कार्यक्रमहरूसाथ नेपाल संवत्को नयाँ वर्ष मनाउँदै आएका हुन् । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जनताको स्वास्थ्यलाई ध्यानमा राखेर यो वर्ष त्यस्ता कार्यक्रमहरू गर्न सम्भव भएन ।
नेपालभाषाका ४ खम्बामध्ये मास्टर जगतसुन्दर मल्ल पनि एक हुनुहुन्थ्यो । मातृभाषाबाट पढ्ने अवसर पाए छिट्टै सिक्न सकिन्छ भनी मातृभाषालाई जोड दिने उहाँले विभिन्न साहित्यहरू नेपालभाषामा अनुवाद गर्नुभयो र नेपालभाषालाई समृद्ध बनाउन मद्दत गर्नुुभयो । नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरू भक्तपुर नगर पञ्चायतमा निर्वाचित भएपछि उहाँको जन्मस्थान खौमामा उहाँको सालिक राख्ने निर्णय ग¥यो । तर, तत्कालीन पञ्चायती व्यवस्थाको लागि त्यो मान्य भएन । शालिक अनावरणकै दिन सरकारले राति ‘चोरेर’ लग्यो । त्यसको विरोधमा त्यसबेला जनताले सशक्त विरोध गरे । २०४६ सालको आन्दोलनबाट पञ्चायती व्यवस्था समाप्त भएपछि मात्रै उहाँको सालिक फिर्ता भयो र सोही ठाउँमा स्थापना गरी हरेक वर्ष नेपाल संवत् नयाँ वर्षको अवसरमा माल्यार्पण गरी कार्यक्रम हुँदै आएको हो ।
अहिले नेपालभाषा बोल्ने जनसङ्ख्या दिनानुदिन कम हुँदै गएको तथ्याङ्कले देखाउँछ । यसको अर्थ जात नेवार भए पनि नेपालभाषा बोल्न छोड्दै जानु हो । जब हामी आफ्नो भाषा बोल्दैनौँ, संस्कृति मान्दैनौँ ती विस्तारै लोप भएर जानेछन् । भाषा र संस्कृति लोप भयो भने हामीसँग आफ्नो भन्नु केही बाँकी रहनेछैन ।
अहिले काठमाडौँ उपत्यकामा तीव्ररूपमा बस्ती विकास हुँदै गएको छ । बस्ती विकाससँगै हाम्रो भाषा, कला–संस्कृति र सम्पदामाथि पनि अतिक्रमण हुँदै छ । विश्व सम्पदामा सूचिकृत ७ वटा सम्पदा यही काठमाडौँ उपत्यकामा छन् । राज्यले उपत्यकालाई नै सांस्कृतिक संरक्षित केन्द्रको रूपमा विकास गर्नुपर्ने हो । त्यसको विपरीत अहिले सरकारले १ लाख रोपनीको १ वटा, १० हजार रोपनीको ३ वटा गरी ४ वटा आधुनिक सहर विकास गर्ने घोषणा गरेर निर्माण कार्यलाई अगाडि बढाउँदै छ । अहिले नै खानेपानीको हाहाकार, अपराध सङ्ख्यामा वृद्धि, यातायात जाम, धुलो, धुँवा र ध्वनि प्रदूषणले काठमाडौँ उपत्यका बस्न अयोग्य बन्दै गएको छ । सरकारले काठमाडौँ उपत्यका सुन्दर होइन कुरूप बनाउँदै छ । हामीले स्थानीय तहको स्वीकृतिविना ठूला सहरहरू बनाउनु हुँदैन भनी त्यसको विरोध गर्दै आइरहेका छौँ ।
हाम्रो भाषा र संस्कृति देशकै सम्पत्ति हुन् । त्यसको संरक्षणको लागि नयाँ पुस्तालाई हस्तान्तरण गर्नु आवश्यक छ । भक्तपुर नगरपालिकाले अहिले नगरभित्र सञ्चालित ९२ वटा विद्यालयहरूमा स्थानीय पाठ्यक्रम लागू गरेको छ । त्यसले कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूले भक्तपुरको कला—संस्कृति र सम्पदाको महत्वबारे बुझ्दै छन् । यो हाम्रो निम्ति खुसीको कुरा हो ।
भक्तपुर नगरपालिकाले नेपालभाषाको रञ्जना लिपि ४ महिने प्रशिक्षण दिंदै आएको छ । कोभिड १९ को कारण उत्पन्न विशेष परिस्थितिले हाल उक्त लिपि कक्षाहरू बन्द गरिएका छन् ।
हाम्रो कला संस्कृति संरक्षण गर्न धेरै संस्कृतिकर्मीहरूले आफ्नो जीवनको महत्वपूर्ण समय योगदान गर्नुभएको छ । ती संस्कृतिकर्मीहरूलाई नगरपालिकाले क्रमशः सम्मान गर्दै आएको छ । प्रत्येक वर्ष एउटा वडाबाट २ जनाका दरले सम्मान गर्दै आएकोमा यो वर्ष विशेष परिस्थितिले हालसम्म गर्न सकेका छैनौँ । अनुकूल वातावरणपछि पुनः त्यसले निरन्तरता पाउनेछ ।
हाम्रो संस्कृति संरक्षणको लागि हरेक वर्ष एउटा सांस्कृतिक विधाको प्रतियोगिता गर्दै आएको हो । त्यसले संस्कृति संरक्षणको साथै हाम्रो संस्कृति पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण पनि भएको छ । भक्तपुर नपाले धाँ बाजा, बाँसुरी बाजा, धिमे बाजाजस्ता प्रतियोगिताहरू गरेर त्यसको उदाहरण प्रस्तुत गर्दै आएको छ ।
नेपालभाषा संरक्षणको लागि नगरपालिकाबाटै एउटा पत्रिका प्रकाशन गर्नु उपयुक्त हुने साथीहरूको सुझाव आएपछि आजभन्दा २ वर्षअघि आजकै दिनबाट ‘ख्वप पौ’ पाक्षिक प्रकाशन सुरु गरिएको हो । त्यसमा संस्कृतिविद्हरूको लेख, रचना एवम् नगरपालिकाका गतिविधिहरू प्रकाशित भइरहेको छ । नेपालभाषा प्रवद्धर्नको लागि ‘ख्वप पौ’ ले पनि मद्दत पु¥याउने हाम्रो विश्वास छ ।
नेपाल सरकारले कार्तिक २७ गते भक्तपुर क्यान्सर अस्पताल सञ्चालनसम्बन्धी गठन आदेश जारीको समाचार सार्वजनिक ग¥यो । भक्तपुर क्यान्सर अस्पताल जनताको हो र जनताकै बनाउनुपर्छ भनी हामी लड्दै आयौँ । स्थानीय तहमा जनप्रतिनिधि नभएको बेला एउटा एनजीओले विभिन्नरूपमा आफ्नो निजी सम्पत्तिझैँ सञ्चालन ग¥यो । त्यहाँ भ्रष्टाचार भएको धेरै समाचार पत्रहरूमा आइसकेपछि नगरपालिकाले त्यसको अध्ययन ग¥यो । त्यो सार्वजनिक सम्पत्ति हो, सार्वजनिक नै बनाउनुपर्छ भनेर आजभन्दा १ वर्ष अगाडिदेखि नगरपालिका अघि स¥यो । नगरपालिकाले छुट्दै व्यवस्थापन समिति गठन गरी कार्य गर्दै आएकोमा अदालतको अन्तरिम आदेशपछि नगरपालिकाको औपचारिक काम गर्न मिलेको थिएन । स्थानीय जनता त्यसको बचाउको लागि लड्दै आएकोमा अहिले सरकारको गठन आदेशपछि सरकारीसरह हुने भएको छ । यसको विस्तृत जानकारी सार्वजनिक भएपछि थप छलफल गरौँला । तर, जनताको सम्पत्ति संरक्षणको लागि लडेकोमा त्यो एक पाइला अगाडि बढेको भने पकै हो । सार्वजनिक सम्पत्ति संरक्षण गर्ने काममा भक्तपुर नगरपालिका निरन्तर लागिरहनेछ ।
अन्त्यमा, कोरोना रोगले हामीलाई सताइरहेको छ । रोगको सङ्क्रमणबाट बच्न मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने र सामाजिक दुरी कायम गर्नेतर्फ सबैले ध्यान दिन अनुरोध गर्दछौँ र रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनेतिर ध्यान देऔँ । आफू सुरक्षित भएपछि मात्रै हामी अरूको सुरक्षाको निम्ति लड्न सक्छौँ । सबैले सुरक्षा विधि अपनाएरमात्रै व्यवहार गरौँ । नेपाल संवत् ११४१ को नयाँ वर्षको सम्पूर्ण जनतामा शुभकामना !

Leave A Reply

Your email address will not be published.