भक्तपुर नगरपालिकाको आयोजनामा भएको फोटोग्राफी तालिमका सहभागीहरुको भेला कार्यक्रम आइतबार भनपा प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भनपा सभाकक्षमा सम्पन्न भयो ।
भेलामा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले सञ्चालन गरेका विभिन्न सीपमूलक तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिम पश्चातको प्रगतिबारे समीक्षा गर्न भेला आयोजना गरिएको बताउनुहुँदै उहाँले “तालिम तालिमका लागि होइन जीवन परिवर्तन गर्नका निम्ति हुनुपर्छ” भन्नुभयो ।
भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको गतिविधि देशभरमै उदाहरणीय रहेको जानकारी गराउनुहुँदै उहाँले देशका विभिन्न नगरपालिकाहरुबाट अवलोकनका लागि नपामा आउने गरेको बताउनुभयो । भक्तपुर नगरपालिकाले नगरपालिका भित्रका युवा लक्षित तालिमहरु सञ्चालन गर्दै आएको जानकारी दिनुहुँदै नगरपालिकाले वर्षैभरी निरन्तरता दिंदै आएको उल्लेख गर्नुभयो ।
उहाँले देशको विद्यमान परिस्थितिबारे जानकारी गराउनुहुँदै देश विकासमा युवाहरुको भूमिका महत्त्वपूर्ण हुने बताउनुहुँदै देशको लागि आवश्यक जनशक्ति तयार गर्न भक्तपुर नगरपालिकाले इतिहास¸भूगोल¸सँस्कृति¸राजनीतिशास्त्र पढ्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिरहेको जानकारी दिनुभयो ।
भेलामा प्रमुख प्रजापतिले देशमा विदेशी हस्तक्षेपका कारण कृषि¸ पेट्रोलियम पदार्थ लगायत शिक्षामा परनिर्भता बढ्दै गएको तथ्य प्रस्ट्याउनुहुँदै युवाहरुले यसको विरुद्ध आवाज उठाउनुपर्ने र समाजलाई बुद्धिजीवीकरण गर्दै लैजानु पर्ने आवश्यकता औंल्याउनुभयो ।
भेलामा उहाँले नेपाल मजदुर किसान पार्टीको सातौ महाधिवेशनबारे जानकारि गराउनुहुँदै असोज २ गते हुने सुकुन्दा र्याली¸ असोज ३ गते भक्तपुर च्याम्हासिहबाट शुरु हुने र्याली र असोज ४ र ५ गते हुने महाधिवेशनमा आ–आफ्नो तर्फबाट सहयोग गर्न अनुरोध गर्नुभयो ।
भनपा वडा नं १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा¸ कार्यपालिका सदस्य सुनिता अवाल लगायतको उपस्थिति रहेको भेलामा भनपा वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले समसामयिक विषयमा बोल्नुभएको थियो ।