Explore news and happenings at Bhaktapur

ख्वप बहुप्राविधिक अध्ययन संस्थान, सिभिल विभागमा अभिमुखीकरण कार्यक्रम

२०७६ भाद्र २९ गते आइतबार ।

0

भनपाका प्रमुख तथा संस्थान सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, सिभिल विभाग प्रथम वर्षमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई आइतबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले सभ्य तथा सुसंस्कृत समाज निर्माणको प्रमुख आधार नै शिक्षा भएकोले भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी गरेको बताउनुहुँदै सबै स्थानीय तहले शैक्षिक संस्था संचालन गरेमा देशका अधिकतम जनताले शिक्षाको अवसर प्राप्त गर्ने विचार व्यक्त गर्नुभयो ।

ज्ञान हासिल गर्नु प्रमाणपत्र पाउनको लागि मात्र नभई समाज परिवर्तनको लागि भएको उल्लेख गर्नुहुँदै उहाँले विद्यार्थीहरु सँधै नयाँ खोज र अनुसन्धानतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो । हाल देशमा व्यापारिक मानसिकता भएका व्यक्तिहरुले देश सञ्चालन गरिरहेको हुँदा जनताले दुःख पाइरहेको जानकारी गराउनुहुँदै देश परिवर्तनका लागि आफू स्वयम् लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । समाजलाई बनाउने र विगार्नेमा प्राविधिकहरुको महत्त्वपूर्ण भूमिका हुने स्मरण गराउनुहुँदै उहाँले योग्य, सक्षम र इमान्दार प्राविधिक बन्न नवआगन्तुक विद्यार्थीहरुलाई निर्दिष्ट गर्नुभयो ।

भनपा–९ का ववडाध्यक्ष तथा संस्थानका सञ्चालक समिति सदस्य रबिन्द्र ज्याख्वले समाजको अवस्थालाई अध्ययन गरी सही कार्यको समर्थन र गलत कार्यको सबैले विरोध गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । पूँजीवादी बन्दोवस्तमा शिक्षा सबैको पहुँचमा नपुग्ने भएकोले आफ्नो ज्ञान र सीप समाज परिवर्तनमा लगाउन आग्रह गर्नुभयो ।

अभिमुखीकरण कार्यक्रममा सिभिलका विभागीय प्रमुख रमेश सुवाल, संयोजक ऋतु ज्याख्व, सुनिल दथेपुथे र विद्यार्थी राजकुमार यादव लगायतले पनि बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.