Explore news and happenings at Bhaktapur

प्रमुख सुनिल प्रजापतिद्वारा सुर्यमढीस्थित चिभ भजन पाटी उद्घाटन

भक्तपुर । २१ भदौ

0

‘भक्तपुरका जनताको क्रान्तिकारी भावनाकै कारण किसानहरुको मोहियानी हक संरक्षण भएको र हरेक परिवारले नयाँ पुस्ताको उज्ज्वल भविष्यका लागि शिक्षा र स्वास्थ्यमालगानीगर्न सकेको हो ।’

नेपाल मजदुर किसान पार्टीका केनद्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार भनपा ९ सुर्यमढीस्थित चिभ भजन पाटी उद्घाटन गर्दै उक्त विचार व्यक्त गर्नुभएको हो । उहाँले पार्टीको नीति बमोजिम नगरपालिकाले कलेजहरु संचालन गरी प्रत्येक वडामा सयौंको संख्यामा इन्जिनियर, नर्स लगायत दक्ष शैक्षिक जनशक्तिहरु उत्पादन गरिरहेको चर्चा गर्दै समाज परिवर्तनका निम्ति नयाँ पुस्तालाई सही दिशानिर्देश गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख प्रजापतिले यहीअसोज ३ गतेबाट शुरु हुने नेमकिपाको सातौं महाधिवेशन भव्यताका साथ सफल पार्न सहयोग र उद्घाटन जुलुशमा सहभागिताको लागि अनुरोध गर्नुभयो ।
विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त सम्पदाहरु पुनःनिर्माणमा नगरपालिकाले प्राथमिकता दिइरहेको उल्लेख गर्दै उहाँले सम्पदा पुनःनिर्माणको क्रममा पुराना एवं ऐतिहासिक सामग्रीहरुको सकेसम्म प्रयोग गर्दै संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘पुरातात्विक महत्वका इटा, काठ, झिंगटी लगायतको संरक्षण गर्दै जस्ताको तस्तै प्रयोग गरौं’, उहाँले भन्नुभयो ।

नगरपालिकाले भक्तपुर क्यान्सर अस्पताल संचालनको लागि जग्गा र आर्थिक अनुदान दिएको प्रष्ट पार्दै जनताको सम्पति माथि भ्रष्टाचार गर्न खोज्ने, गरीव विरामीहरुले सकि नसकी अस्पताललाई तिरेको रकममा अनियमितता गर्न खोज्ने र अस्पताललाई कुनै गैरसरकारी संस्थाको नाममा मनपरी गर्न खोज्नेहरुलाई जनताको साथ र समर्थनमा नगरपालिकाले कार्वाही गरी नयाँ व्यवस्थापन समिति गठन गरेर विरामीको सहज उपचार गराइरहेको जानकारी गराउनुभयो । भ्रष्टाचार विरोधी आन्दोलनको इतिहास रहेको भक्तपुरमा कुनै पनिनाउँमा भ्रष्टाचार सह्य हुननसक्ने उहाँको कथनथियो ।

कार्यक्रममा भनपा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले सम्पदा पुनःनिर्माणमा निःस्वार्थपूर्वक लाग्ने सम्पूर्ण उपभोक्ता समितिका पदाधिकारीहरु, डकर्मी तथा सिकर्मीहरु एवं स्थानीय जनतालाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले गर्मी र वर्षाको कारण भक्तपुर लगायतका जिल्लामा फैलिएको डेंगु रोगको विषयमा जानकारी गराउँदै रोगबाट बच्न खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने, झुलको प्रयोग गर्ने र रोगको लक्षण देखिनासाथ तत्काल उपचार गराउने कार्यमा सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।

उपभोक्ता समितिका अध्यक्ष तुल्सीकाजी प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय अग्रज रत्नभक्त प्रजापति र राम प्रजापतिले पाटी पुनःनिर्माण कार्यको विषयमा जानकारी गराउनुभयो ।

नगरपालिकाबाट २२ लाख रुपैयाँ लागत इष्टिमेट तयार गरी नगरस्तरीय योजनाअन्तर्गत पुनःनिर्माण गरिएको उक्त पाटीको खुदखर्च भने १४ लाख ९० हजार मात्र रहेको र कार्य मूल्यांकन खर्च १८ लाख रुपैयाँ रहेको कार्यक्रममा सार्वजनिक गरियो ।

Leave A Reply

Your email address will not be published.