Explore news and happenings at Bhaktapur

भारतीय शासक वर्गकै आडभरोसामा देशमा सशस्त्र गतिविधि सञ्चालन

भक्तपुर, २१ भदौ ।

0

नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनको सिलसिलामा शनिबार वागीश्वरी कलेजका शिक्षक तथा प्राध्यापकहरूको भेला भयो ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले नेमकिपाले सङ्घीय संसद्, प्रदेश संसद र स्थानीय तहलाई उपयोग गरी जनताको सेवा गर्दै आएकोमा जोड दिनुभयो ।

उहा“ले अरूको भरमा आन्दोलन र सङ्घर्ष नटिक्ने भन्दै तत्कालीन नेकपा (माओवादी) ले भारतीय शासक वर्गकै आडभरोसामा देशमा सशस्त्र गतिविधि सञ्चालन गरेको विचार राख्नुभयो ।

मेयर प्रजापतिले भक्तपुर क्यान्सर अस्पतालमा भएको भ्रष्टाचार रोक्न र सार्वजनिक सम्पत्तिको रक्षाको निम्ति भक्तपुर नगरपालिकाले पहल गरेको भन्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगरपालिकाले अस्पतालको अनुगमन एवम् नियमन गर्नसक्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले देशको सार्वभौमिकता तथा स्वतन्त्रताको निम्ति प्राध्यापकहरूले बोल्ने समय आएको विचार राख्नुभयो । उहाँले भारतीय विस्तारवाद एवम् एकाधिकार पुँजी नै नेपाली सर्वहारा वर्गीय आन्दोलनको मुख्य शत्रु भएको नेमकिपाको धारणाबारे प्रस्ट पार्नुभयो ।

नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरूले नेपालको मजदुर वर्गीय आन्दोलनलाई कमजोर पार्न खोजेको भन्दै नेमकिपाले देशभक्तिपूर्ण आन्दोलनलाई अगाडि बढाइरहेको बताउनुभयो ।

नेप्रास, वागीश्वरी कलेज एकाइका अध्यक्ष ग्याहेन्द्रप्रसाद दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, उकेश सुवाल, निरु ताल्चाभडेलले पनि प्राध्यापकहरूले नेमकिपालाई ऐक्यबद्धता जाहेर गर्नुपर्ने विचार राख्नुभयो ।

Leave A Reply

Your email address will not be published.