Explore news and happenings at Bhaktapur

बागीश्वरी माविमा ‘जम्मु–काश्मीर र भक्तपुर क्यान्सर अस्पताल’ बारे प्रवचन कार्यक्रम

२०७६ भदौ २० गते, शुक्रबार

0

बागीश्वरी कर्मचारी इकाई समिति भक्तपुरको आयोजनामा शुक्रबार ‘जम्मु–काश्मीर र भक्तपुर क्यान्सर अस्पताल’ विषयमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनको तयारी देशभरि उत्साहका साथ तीव्र गतिमा अगाडि बढिरहेको बताउनुभयो ।

भक्तपुर क्यान्सर अस्पतालको वर्तमान अवस्थाबारे प्रस्ट पार्नुहुँदै प्रमुख प्रजापतिले आर्थिक अनियमितता र भ्रष्टाचार गरी पूर्व सञ्चालक समितिका पदाधिकारीहरूले एकलौटी रुपमा नाफा कमाउने ढंगले अस्पताललाई सञ्चालन गरिरहेको बताउनुभयो ।

उहाँले नगरभित्र रहेका संघ–संस्था तथा अस्पतालको अनुगमन र निरीक्षण गर्ने अधिकार स्थानीय सरकारसँग भएको जिकिर गर्नुहुँदै भक्तपुर नपाद्वारा गठित छानबिन समितिले अस्पतालको अनियमितता र भ्रष्टाचारबारे छानबिन गरिरहेको बताउनुभयो ।

नेमकिपा प्रदेश नं. ३ का प्रदेश सांसद सुरेन्द्रराज गोसाइँ नेपाल मजदुर किसान पार्टीले सडक र संसदमा वैचारिक संघर्ष गरिरहेको र बहुसंख्यक कामदार जनताको राजनीतिक चेतनास्तर उकास्ने गतिविधिहरूमा जोड दिइरहेको बताउनुभयो । उहाँले नेपालको प्रशासन क्षेत्र भ्रष्ट भएकै कारण नेपाली जनताले दुःख पाइरहेको बताउनुभयो ।

स्वतन्त्र र अलग संविधान भएको जम्मु–काश्मीरमा मोदी सरकारको हस्तक्षेप निन्दनीय भएको प्रस्ट पार्नुहुँदै सांसद गोसाइँले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा हुने अतिक्रमण र दमनको विरोमा नेमकिपाले संघर्ष गर्दै जाने बताउनुभयो ।

बागीश्वरी कलेजका प्राचार्य कृष्णप्रसाद धन्छाले कर्मचारीहरूले समाजलाई बौद्धिक रुपमा सहयोग गर्नुपर्ने र नेमकिपाको पार्टी भव्य रुपमा सम्पन्न गर्न आवश्यक सहयोगको लागि आह्वान गर्नुभयो ।

बागीश्वरी कलेजका सहायक प्राचार्य ज्ञानसागर प्रजापतिले भक्तपुर काण्डलाई राजनीतिक षड्यन्त्रको रुपमा व्याख्या गर्नुहुँदै त्यस्ता षड्यन्त्रबाट कर्मचारी तथा कार्यकर्ताहरू सचेत र संगठित हुनु आवश्यक छ भन्नुभयो ।

बागीश्वरी कर्मचारी इकाई समिति भक्तपुरका अध्यक्ष तुल्सीराम प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समितिका सचिव लक्ष्मीप्रसाद गाइँजुले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.