Explore news and happenings at Bhaktapur

नेमकिपाको सातौं महाधिवेशनको तयारीस्वरुप प्राध्यापक भेला

२०७६ भदौ १८ गते, बुधबार ।

0

नेपाल प्राध्यापक समाज, इन्जिनियरिङ कलेज एकाइ समितिको आयोजनामा शुक्रबार नेपाल मजदुर किसान पार्टीको २०७६ असोज ३, ४ र ५ गते भक्तपुरमा हुने सातौ महाधिवेशन सफल पार्न प्राध्यापक तथा कर्मचारीहरुको भेला कार्यक्रम सम्पन्न भयो ।


कार्यक्रममा बोल्नुहुँदै नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले नेपाल मजदुर किसान पार्टी संख्याले सानो पार्टी भए पनि विचार र सिद्धान्तमा अडिग रहने नेपालको सच्चा कम्युनिष्ट पार्टी भएको बताउनुभयो ।

नेमकिपाको सातौं महाधिवेशन सफलताका साथ सम्पन्न गर्न प्राध्यापक–कर्मचारीहरुलाई आफ्नो क्षमताअनुसारको आर्थिक, नैतिक र भौतिक सहयोगको लागि आग्रह गर्नुहुँदै उहाँले पार्टीको महाधिवेशन समाजवादी प्रचार अभियानकै सिलसिला भएको प्रस्ट पार्नुभयो ।

भक्तपुर नगरपालिकाले नगरभित्रका पर्ति र सार्वजनिक जग्गा संरक्षणलाई प्राथमिकतामा राख्दै आएको बताउनुहुँदै प्रमुख प्रजापतिले सल्लाघारीस्थित १०८ रोपनी जग्गा अतिक्रमणबाट रोक्न नगरपालिकाले पर्खाल निर्माण र सडक–पेटी व्यवस्थित गर्ने कार्यहरु गर्दै आएको बताउनुभयो ।

भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको अनियमितता र भ्रष्टाचारको तथ्यहरु प्रस्तुत गर्नुहुँदै प्रमुख प्रजापतिले अस्पतालको सरसफाइमा कार्यरत ३८ जना सफाइ कामदारहरुलाई अस्पताल व्यवस्थापन समितिका तत्कालीन मुख्य पदाधिकारी बिमलकुमार होडा आफै प्रत्यक्ष संलग्न रहेको भरोसा सर्भिसेज प्रा.लि.बाट नियुक्त भई प्रत्येक कामदारबाट मासिक रु. १३ हजारभन्दा बढी भ्रष्टाचार गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले प्राध्यापक तथा कर्मचारीहरु पार्टीको महाधिवेशनको लागि अगाडि सारिएका राष्ट्रिय–अन्तर्राष्ट्रिय विचारमा प्रस्ट हुनुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर क्यान्सर अस्पतालमा भएको अनियमितता रोक्न भक्तपुर नपाले चालेको कदममा केही राजनीतिक पार्टीहरुले भक्तपुर काण्ड दोहोर्‍याउने र पार्टी नै समाप्त गरिदिनेजस्ता धम्की र टिप्पणी आउनुमा षड्यन्त्रको राजनीति हाबी भइरहेको स्पष्ट भएको बताउनुभयो ।

नेपाल प्राध्यापक समाज, इन्जिनियरिङ कलेज एकाइका अध्यक्ष सुजन माकले असोज ३, ४ र ५ गते हुने पार्टीको महाधिवेशनमा प्राध्यापक–कर्मचारीहरुकोतर्फबाट नैतिक, भौतिक र आर्थिक सहयोगको प्रतिबद्धता व्यक्त गर्नुहुँदै महाधिवेशन सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङ कलेजका उपप्राचार्य रत्नशोभा प्रजापतिले पनि बोल्नुभएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.