Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकामा नयाँ कृषि प्रविधिबारे किसान भेला

२०७६ भदौ १८ गते, बुधबार

0
भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार नयाँ कृषि प्रविधि र सामसामयिक विषयमा शुक्रबार किसानहरुको भेला सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् भनपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर क्यान्सर अस्पतालमा नगरपालिकाले चालेको कदमबारे प्रष्ट पार्नुहुँदै क्यान्सर अस्पतालको पूर्व सञ्चालक समितिले निजी संस्थाको रुपमा चलाई मनोमानी ढंगले नाफा कमाइ रहेको तथ्य प्रस्तुत गर्नुभयो । उहाँले भ्रष्टाचार विरेधी जिल्ला भित्र क्यान्सर अस्पतालमा भइरहेको भ्रष्टाचार र अनियमिततालाई रोक्न भनपाले क्यान्सर अस्पताल व्यवस्थापन समिति गठन गरी त्यहाँको कार्य नियमित र सहज ढंगले सूचारु गरिरहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशन सफल पार्न सहभागिताको लागि आव्हान गर्नुहुँदै प्रमुख प्रजापतिले विदेशीलाई नागरिकता दिनुपर्ने तर्क राख्नेहरु देशभक्त हुन नसक्ने र विदेशीहरुलाई राजनीतिक अधिकार दिने प्रावधानले देशको सार्वभौमिकता नै खतरामा पर्न सक्ने बताउनुभयो ।
उहाँले डेङ्गु रोग सामान्य रोग भएपनि महामारीको रुपमा फैलिरहेको हुँदा भक्तपुर नगरपालिकाले नगरभित्रका वडा र विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गररहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले समय र परिस्थिति अनुसार कृषि क्षेत्रमा भित्रिएका नयाँ प्रविधिहरुको प्रयोग गरेर किसानहरु अगाडि बढ्नु उपयुक्त हुने बताउनुभयो । उहाँले कृषि विशेषज्ञको सुझाव लिएर कृषि कार्य गरेको खण्डमा लाभ हुने बताउनुहुँदै भक्तपुर नगरपालिकाका नगरको समस्या बुझेर आवश्यकताअनुसारको तालिम तथा कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो ।
कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवालले महामारीको रुपमा फैलिरहेको डेङ्गु रोगबारे अवगत गर्नुहुँदै भक्तपुर नगरपालिकाका सबै वडामा उक्त रोगबारे सचेतना कार्यक्रम सञ्चालन गरिरहेको र डेङ्गु रोग रोकथामको निम्ति सरसफाइमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेपाल क्रान्तिकारी किसान संघका उपाध्यक्ष तथा भक्तपुर नपा वडा नं. ६ का वडा सदस्य गोबिन्द दुवालले सरकारले कृषि उत्पादन वृद्धि गर्न भूगोल र मौसम सुहाउँदो बीऊ–बिजनको बन्दोबस्त गर्नुपर्ने र कृषि विज्ञहरुलाई आफ्नो देशै बसेर काम गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिप्रति जनताको वितृष्णा देशको लागि हितकर नभएको बताउनुहुँदै शासन सत्तामा पुग्ने राजनीतिक नेताहरुमा इमान्दारिता र जनताको सेवा गर्ने भावना हुनुपर्ने बताउनुभयो ।
कृषि प्राविधिक तालिमका प्रशिक्षक रमेश वैद्यले पर्याप्त कृषि योग्य जग्गाको अभावका कारण कृषि व्यवसाय र कृषिजन्य उत्पादन गर्न किसानहरुलाई समस्या भइरहेको बताउनुहुँदै किसानहरुले नयाँ कृषि प्रविधि अपनाएर अगाडि बढ्नु आवश्यक भएको बताउनुभयो ।
प्रशिक्षार्थीको तर्फबाट लक्ष्मीभक्त दुवालले जेटीए तालिमबारे समीक्षा गर्नुभएको थियो भने उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले पनि बोल्नुभएको थियो ।

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.