Explore news and happenings at Bhaktapur

गाइँचा म्ये मुना सार्वजनिक

भक्तपुर । २०७६ भदौ ७ गते, शनिबार

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा शनिबार नेपालभाषामा प्रकाशित गाइँचा म्ये मुना पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भयो ।

आशाकाजी बासुकला स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार आयोजित गाइँचा म्ये मुना पुस्तक बिमोचन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले जनताको पक्षमा काम गर्नेहरू सधैं जनताको मनमा रहने बताउनुभयो । उहाँले साहित्य वा अरु क्षेत्रमार्फत् समाज र जनताको सेवा गर्ने व्यक्तिहरूलाई समाजले जहिले पनि सम्झिरहने बताउनुभयो ।

२०४५ सालको भक्तपुर काण्ड तत्कालीन पञ्चायती शासकहरूले नेपाल मजदुर किसान पार्टीलाई योजनाबद्ध ढंगले समुल नष्ट पार्न रचेको षड्यन्त्र भएको बताउनुहुँदै यो घटनाले भक्तपुरबासीमा कहिल्यै अरुको अगाडि नझुक्ने र आत्मनिर्भर भएर समाजको सेवामा अग्ररत हुने प्रवृत्तिको विकास भएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले साहित्यलाई समाजको ऐनाको रुपमा व्याख्या गर्नुहुँदै भक्तपुरका जात्राहरूलाई मनोरञ्जनका साथै जनताको चेतनास्तर उकास्ने र समाजलाई अगाडि बढाउने अभियानको रुपमा मनाउनु उचित हुने बताउनुभयो ।

गाईजात्रा पर्वको अवसरमा प्रकाशनमा ल्याएको गाइँचा म्ये संग्रहले समाजमा भएका विकृति र विसंगतिहरूलाई जनबोलीमा अभिव्यक्त गर्ने सहज माध्यमको रुपमा सहयोग गर्ने र यो कृति नेपाली साहितयको क्षेत्रमा नयाँ आयामको रुपमा रहने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल भाषा साहित्य तःमुंज्याका अध्यक्ष तथा जनकवि चन्द्रबहादुर उलकले गाइँचा म्येले समाजका विकृति–बिसंगतिबारे आलोचना गर्ने पक्ष सकारात्मक रहेको बताउनुहुँदै गाइँचा नाचको इतिहासबारे अध्ययन–अनुसन्धान गरिनुपर्ने खाँचो रहेको बताउनुभयो ।

त्रिवि नेपालभाषा केन्द्रीय विभागका ओमकाय श्रेष्ठले गाइँचा म्ये संग्रह पुस्तक प्रकाशन अतुलतीय कार्य भएको जिकिर गर्नुहुँदै राजनीतिक व्यंग्यमिश्रित जनताको बोली उजागर गर्ने दरिलो किताब भएको बताउनुभयो ।

कार्यक्रममा प्रकाशन समितिका संयोजक कुमारभक्त रञ्जितकार, प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतिकिरण बासुकला र सदस्य राजकिरण बासुकला र रोजाकिरण बासुकलालगायतले पनि गाईचा म्येको महत्तव प्रस्ट पार्नुभयो ।

आज बिमोचिन गरिएको पुस्तकमा आशाकाजी बासुकला, चन्द्रबहादुर उलक, नाति तुइतुइ, नाति कवां, केपी सुवाल, विश्वनाथ प्रजापति, राजकृष्ण गोरा, रामेश्वर मचामसी, विष्णुगोपाल कुसी र भुलन गोसाइँलगायतका गाइँचा म्येहरू संकलित छन् ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गाइँचा म्ये लेखनमा योगदान पु¥याउनुहुने जनकवि चन्द्रबहादुर उलकलाई दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गर्नुभयो । कार्यक्रमपश्चात भक्तपुर नपा वडा नं. २ गाइँचा समूहबाट गाइँचा प्याखं प्रदर्शन गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.