Explore news and happenings at Bhaktapur

प्रमुख सुनिल प्रजापतिद्वारा साकोलानस्थित ताहा फल्चा (पाटी) उद्घाटन

भक्तपुर । २०७६ भदौ ७ गते, शनिबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार भक्तपुर नगरपालिका वडा नं. ९ साकोलानस्थित पुनःनिर्मित ताहा फल्चा (पाटी) उद्घाटन  गर्नुभयो ।

उद्घाटन समारोहमा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकासँग सम्पदा संरक्षणको लागि पर्याप्त बजेट नभए पनि जनसहभागिता र जनश्रमदानमार्फत भक्तपुरका सम्पदाहरु कम लागतमा उपभोक्ता समितिमार्फत् पुनःनिर्माण र जीर्णोद्धार भइरहेको बताउनुभयो ।

भक्तपुरको ऐतिहासिक रानी पोखरी र भाजु पोखरी पुनःनिर्माण कार्य अगाडि बढिरहेको र आर्थिक वर्ष २०७६—७७ मा टौमढीमा अवस्थित पाँचतल्ले मन्दिर जीर्णोद्धार गर्ने योजना रहेको बताउनुहुँदै उहाँले भक्तपुर नगरपालिकाले कुनै व्यक्ति विशेषको हितलाई प्राथमिकतामा नराख्ने बरु सिंगो समाजको हितमा काम गर्ने बताउनुभयो ।

भक्तपुर क्यान्सर अस्पतालको वर्तमान अवस्थाबारे प्रस्ट पार्नुहुँदै उहाँले भन्नुभयो – ‘अस्पतालको अनियमितता रोक्न र अस्तव्यस्त हुनबाट जोगाउन नगरपालिकाले अस्पताल व्यवस्थापनको जिम्मा लिनुपरेको होे ।’

इ. शिक्षा महँगिदै गएको अवस्थामा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले देशभरिका विद्यार्थीलाई सस्तोमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आइरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुरको समग्र विकासले राज्यको प्रतिष्ठा बढ्ने जिकिर गर्नुभयो ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नयाँ पुस्तालाई समाजप्रति उत्तरदायी बनाउने र व्यक्तिवादी चिन्तनबाट मुक्त बनाउनुपर्ने आवश्यकता औंल्याउनुहुँदै भक्तपुरका मुर्त–अमुर्त सम्पदा संरक्षणबारे पनि नयाँ पुस्तालाई अभिप्रेरित बनाउँदै लानुपर्ने बताउनुभयो ।

साविक वडा नं. ३ का पूर्व वडाध्यक्ष विष्णुबहादुर मानन्धरले ऐतिहासिक महत्व बोकेको ताहा फल्चाको इतिहासबारे प्रस्ट पार्नुहुँदै सरसफाई र विकास निर्माणका कार्यहरुमा भक्तपुर नगरपालिकाले गरेको कार्य प्रशंसनीय छ भन्नुभयो ।

कार्यक्रममा ९ नं. वडाका प्राविधिक इन्जिनियरि अर्हत बज्राचार्यले पाटी पुनःनिर्माणको कार्य विवरण र प्रतिवेदन प्रस्तुत गर्नुहुँदै पाटी पुनःनिर्माणको लागत इस्टिमेट २४, ८१, ८९० रहेकोमा कूल खर्च २२, ४०, ४७० मा पाटी पुनःनिर्माण कार्य सम्पन्न भएको बताउनुभयो ।

कार्यक्रममा ९ नं. वडाका वडा सदस्य एवम् अनुगमन समिति संयोजक जगतलाल मानन्धर, उपभोक्ता समितिका सचिव सरिता मानन्धर, उपभोक्ता समितिका अध्यक्ष तुल्सीकाजी मानन्धर, उपभोक्ता समिति सदस्य विष्णुबहादुर मानन्धर र कोषाध्यक्ष रामकृष्ण मानन्धरले पनि आ–आफ्नो धारणा प्रस्तुत गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.