Explore news and happenings at Bhaktapur

भक्तपुर नपाका प्रमुख र नेपाल क्यान्सर रोग निवारण संस्थाका पदाधिकारीबीच भेट

भक्तपुर । २०७६ भदौ ६ गते, शुक्रबार

0

 

भक्तपुर नगरपालिकाका प्रमुख एवम् भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापति र नेपाल क्यान्सर रोग निवारण संस्थाका विशिष्ट पदाधिकारीहरुबीच  बिहीबार भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालको वर्तमान अवस्थाबारे नगरपालिकाको सभाकक्षमा भेट तथा छलफल भयो ।

भेटमा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले अस्पतालको वर्तमान स्थितिबारे अवगत गराउनुहुँदै भक्तपुर क्यान्सर अस्पताल सबैको साझा संस्था भएको बताउनुभयो ।

अस्पतालमा भएको भ्रष्टाचारविरुद्ध संघर्षरत अस्पतालका चिकित्सक एवं कर्मचारीहरु, स्थानीय जनता र भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिबाट समेत अस्पतालको सञ्चालन एवं व्यवस्थापनको जिम्मेवारी भक्तपुर नगरपालिकाले लिनको लागि लिखित अनुरोध पत्र पेश भएको जानकारी गराउनुभयो । प्रमुख प्रजापतिले भक्तपुर क्यान्सर अस्पतालका जिम्मेवार पदाधिकारीहरुलाई पटक—पटक सम्पर्क गर्दा पनि सम्पर्कमा आउन नचाहेकाका कारण स्थानीय जनप्रतिनिधिहरुको नाताले आप्mनो क्षेत्रभित्रको अस्पतालमा देखिएको समस्यालाई तत्काल समाधान गरी थप व्यवस्थित रुपमा सञ्चालन गर्न तथा बिरामीहरुको स्तरीय उपचार प्रदान गर्ने कार्यमा कुनै वाधा व्यवधान आउन नदिन नगरपालिकाको भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति गठन गरेको बताउनुभयो ।

उहाँले अस्पताल व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरुबाट अस्पताल सञ्चालन, डाक्टर तथा कर्मचारी नियुक्ति, ल्याब, फार्मेसी, सीटी स्क्यान सेवालगायतमा अपारदर्शी ढंगबाट निजी क्षेत्रसँग सम्झौता, भवन निर्माण कार्यको ठेक्कामा अनियमितता भएकोलगायतका विषयमा सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्न नगरपालिकाले एक छानविन समिति गठन गरी कार्य थालनी समेत भएको जानकारी गराउनुभयो ।

उक्त भेटमा नेपाल क्यान्सर रोग निवारण संस्थाका प्रतिनिधिहरुले भक्तपुर क्यान्सर अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारको विषय निन्दनीय भएको जिकिर गर्नुहुँदै नगरपालिकाले व्यवस्थापन समितिसँग सल्लाह गरी त्रुटी सच्याउने अवसर प्रदान गर्नुपर्ने र संक्रमणकालको समयमा भनपाले अस्पताल जोगाउन चालेको पहल सकारात्मक भएको तर नेपाल क्यान्सर रोग निवारण संस्थाका पदाधिकारीहरुसँग आवश्यक सल्लाह गरेर मात्रै नगरपालिका अगाडि बढेको भए धेरै राम्रो हुने बताउनुभयो ।

उक्त भेटमा भक्तपुर नगरपालिका वडाध्यक्षहरु र नेपाल क्यान्सर रोग निवारण संस्थाका पदाधिकारीहरु मणिध्वज जोशी, डा. राजेन्द्रप्रसाद बराल, प्रा.डा. प्रदीप वैद्य, शिवभक्त राजभण्डारी, दिवाकर राजकर्णिकार र अस्पताल व्यवस्थापन समितिका पूर्व कोषाध्यक्ष अनन्तप्रसाद धौभडेललगायत उपस्थिति हुनुहुन्थ्यो ।

Leave A Reply

Your email address will not be published.