Explore news and happenings at Bhaktapur

बिरामीहरुको गुणस्तरीय उपचार सेवा हाम्रो उद्देश्य हो – नगर प्रमुख सुनिल प्रजापति

भक्तपुर । २०७६ भदौ ६ गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार भक्तपुर क्यान्सर अस्पतालबारे पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भयो ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका नगर प्रमुख एवम् भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको उद्देश्य क्यान्सर पीडित र अन्य बिरामीहरुको गुणस्तरीय उपचार गर्नु रहेको बताउनुभयो ।

उहाँले कतिपय सञ्चारमाध्यमहरुले भक्तपुर नगरपालिकाप्रति पूर्वाग्राही सोच राखेर अस्पतालको विषयमा भ्रामक समाचार संप्रेषण हुनु आपत्तिजनक भएको बताउनुभयो ।

भक्तपुर नगरपालिका पारदर्शिताको नमुना र आर्थिक अनुशासनमा प्रतिबद्ध नगर भएको जिकिर गर्नुहुँदै नगर प्रमुख प्रजापतिले नगरपालिकाभित्र सञ्चालित अस्पतालमा अनुगमन गर्ने अधिकार क्षेत्रभित्र रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा उपस्थित विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुको जिज्ञासामाथि प्रस्ट पार्नुहुँदै प्रमुख प्रजापतिले एनजीओ र आइएनजीओहरु कानुन बाहिर जान नसक्ने स्पष्ट पार्नुभयो । उहाँले एनजीओ र आइएनजीओको आर्थिक अनियमितता र भ्रष्टाचारबारे पनि छानबिन हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । कुनै पनि संस्थाभित्र भ्रष्टाचार नहोस् भन्ने उद्देश्य भक्तपुर नगरपालिकाको रहेको स्पष्ट पार्नुहुँदै भक्तपुर क्यान्सर अस्पताल जनताको अस्पताल भएको र जनताकै सम्पत्तिको रुपमा विकास गर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर एवम् अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले भक्तपुर क्यान्सर अस्पतालले देशभरिका क्यान्सर रोगीहरुको उपचार गरिरहेको तथ्याड्ढ प्रस्तुत गर्नुहुँदै नयाँ व्यवस्थापन समिति गठनपश्चात अस्पतालका कर्मचारीहरुको मनोबल बढेको र अझ लगनशील भई बिरामीको सेवामा कार्यरत रहेको बताउनुभयो ।

भक्तपुर क्यान्सर अस्पतालको सेवा सुविधामा कुनै किसिमको कमी नभएको र क्यान्सर बिरामीको सेवा अवरुद्ध नहुने प्रतिबद्धता जनाउनुहुँदै डा. श्रेष्ठले भदौ १ गतेबाट सबै किसिमको रोगहरुको अप्रेशन सेवा सुरु भएको जानकारी गराउनुभयो ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् भक्तपुर अस्पताल छानबिन समितिका संयोजक रबिन्द्र ज्याख्वले क्यान्सर अस्पतालको वर्तमान अवस्थाबारे जानकारी गराउनुहुँदै भक्तपुर क्यान्सर अस्पतालसम्बन्धी नगरपालिकाको प्रेस वक्तव्य प्रस्तुत गर्नुभएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.