Explore news and happenings at Bhaktapur

सहकारी संस्थाहरूले समयमै कर बुझाउनुपर्ने ः नगर प्रमुख प्रजापति

भक्तपुर, २०७६ साउन २५ गते, शनिबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा शनिबार भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘सहकारीमा सन्दर्भ ब्याजदर, कोपोमिस र करसम्बन्धी अन्तरक्रिया’ कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले सहकारी संस्थाहरूले समयमै कर बुझाउनुपर्ने र करको सदुपयोग भएको÷नभएकोबारे चासो लिनुपर्ने बताउनुहुँदै भक्तपुर नगरपालिकाले जनताको गुनासोलाई ध्यानमा राखेर कर नीतिमा सुधार गरेको बताउनुभयो ।

नगरकोटको सडक वर्षौं निर्माण नगर्दा समेत ठेकेदारलाई कारबाही नगरेकोमा आपत्ति जनाउनुहुँदै प्रमुख प्रजापतिले ठेकेदार शासक दलको नजिकको व्यक्ति भएकै कारण आजसम्म पनि ठेकेदारलाई कारबाही नगरेको र लथालिंग सडकका कारण जनताले सास्ती भोग्नुपरिरहेको बताउनुभयो । सरकारले ठेकेदारलाई चलाउनुपर्नेमा ठेकेदारहरूले सरकारलाई चलाइराखेको धारणा प्रमुख प्रजापतिले व्यक्त गर्नुभयो ।

सहकारी संस्थाहरूले पर्यटन क्षेत्रमा लगानी बढाउनुपर्ने, पर्यटनसँग सम्बन्धित होटल, पसल र उपहार सामग्रीहरू उत्पादन गर्ने उद्योगहरूमा लगानी बढाउनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिको सहकारी ऐनबारे प्रस्ट पार्नुभएको थियो भने भक्तपुर नपा सहकारी समन्वय उप–समितिका संयोजक जगन्नाथ प्रजापतिले एक व्यक्ति एक सहकारी मान्य नहुने र समाजका विकृति र विसंगतिविरुद्ध सहकारीहरू लड्न तयार हुनुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेल, संघका उपाध्यक्ष हरि बल्लले पनि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.