Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापति र बीरगञ्ज महानपाका उपप्रमुख कार्कीबीच भेट

भक्तपुर, २०७६ असार २४ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मंगलबार बीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले भेट गर्यो । भेटमा भक्तपुर नगरपालिकाबाट सञ्चालित कार्यक्रमहरू, विकास निर्माण, सम्पदा संरक्षण, न्यायिक समितिको कार्य सम्पादन र नगरपालिकाका विविध गतिविधिबारे छलफल भयो ।

भेटमा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले नगर र नगरवासीहरूको हितलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुहुँदै नगरपालिकाद्वारा सञ्चालित विभिन्न कलेजहरूमा देशभरिका विद्यार्थीहरूले सस्तोमा गुणस्तरीय शिक्षा पाइरहेको बताउनुभयो ।

उहाँले नगरभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गुणस्तरको अन्तरलाई कम गर्न र शैक्षिक गुणस्तर कायम गर्ने नीतिअनुरुप विद्यालयका शिक्षकहरूलाई तालिमसँगै अनुगमनको व्यवस्था मिलाएको बताउनुभयो ।

शारीरिक तथा बौद्धिक अपांगता भएका नगरवासीहरूका लागि स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने योजना रहेको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले यहाँको विकास निर्माणको काम उपभोक्ता समितिमार्फत जनताको सहभागिताबाट भइरहेको बताउनुभयो ।

भेटमा बीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले सामुदायिक र निजी विद्यालयबीचको प्रतिस्पर्धाले गर्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कँदै गएको बताउनुहुँदै बीरगञ्ज महानपामा अपाङ्गता व्यवस्थापन कार्य निकै चुनौतीपूर्ण रहेको बताउनुभयो । उपप्रमुख कार्कीले भक्तपुर नगरपालिकाको शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षण कार्यलगायत निकै उल्लेखनीय भएको बताउनुभयो ।

भेटमा भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवाल, भक्तपुर नगरपालिकाका कानुन अधिकृत गणेशलाल फोँजु, उपप्रमुख कार्कीका स्वकीय सचिव विजय पौडेललगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.