Explore news and happenings at Bhaktapur

ख्वप इन्जिनियरिङ कलेजमा Wind Turbine Construction workshop को उद‌्घाटन

भक्तपुर, २०७६ असार २४ गते, मंगलबार

0

 

ख्वप इन्जिनियरिङ कलेजमा मंगलबार वीन्ड टर्बाइन कन्स्ट्रक्सन वर्कशप (Wind Turbine Construction workshop) को उद्घाटन र अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको उद‌्घाटन भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख सुनिल प्रजापतिले नेपाल सरकारले भारतको दबाबमा नेपाल भित्रिने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिनु अनुचित भएको बताउनुभयो । उहाँले कृषि प्रधान देश भएर पनि खरबौं कृषि जन्य वस्तु आयात गर्नु यथोचित नभएको बताउनुभयो ।

प्रमुख प्रजापतिले विद्यार्थीहरू देशको राजनीतिक अवस्थाबारे जानकार हुनुपर्र्ने, देश र समाज अगाडि बढ्ने ढंगले काम गर्न र समाज परिवर्तन गर्ने भावनाले काम गर्न आह्वान गर्नुभयो ।

प्रमुख प्रजापतिले गुठी विधेयकको सैद्धान्तिक छलफलको आवश्यकता औंल्याउनुहुँदै गुठी जग्गामा मोहियानी हक सुनिश्चित गर्नुपर्ने र स्थानीय सरकारलाई गुठी जग्गाको संरक्षणको जिम्मा दिइनुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेजले भएका स्रोतसाधनको अधिकत्तम प्रयोगको निम्ति अनुसन्धानमा जोड दिइरहेको बताउनुहुँदै उच्च शिक्षा हासिल गर्न चाहने नगरवासी विद्यार्थीहरूलाई रु. ५ लाखसम्म सहुलियत व्याजदरमा ऋण दिने व्यवस्था गरेको र युवा लक्षित गतिविधिमा जोड दिइरहेको बताउनुभयो ।

कार्यक्रममा ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले कलेजमा भएका विभिन्न गतिविधिहरूबारे जानकारी गराउनुहुँदै इन्जिनियरिङ शिक्षालाई गुणस्तरीय बनाउन ख्वप इ. कलेजका विद्यार्थीहरूलाई नयाँ प्रविधिमा अभ्यास गराइरहेको बताउनुभयो ।

ख्वप कलेज अफ इञ्जिनियरिङका प्राचार्य सुनिल दुवालले विद्यार्थीहरूमा सैद्धान्तिक ज्ञानका साथै अतिरिक्त क्रियाकलापको आवश्यकता औंल्याउनुहुँदै हालै संसदमा पेश भएको पारमाणविक र रेडियोधर्मी विधेयकबारे छलफल र बहस गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा ख्वप कलेज अफ इञ्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापति र काठमाडौं पावर एण्ड इन्डस्ट्रिका स्रोतव्यक्ति किमोन सिलवाल पनि बोल्नुभएको उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले कलेजद्वारा आयोजित विभिन्न खेल र चित्रकला प्रतियोगिताका विजयीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गर्नुभयो ।

 

 

Leave A Reply

Your email address will not be published.