Explore news and happenings at Bhaktapur

रेडियो प्रस्तोता तालिमको उद‌्घाटन

भक्तपुर, २०७६ जेठ २६ गते, आइतबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाद्वारा सञ्चालन हुने १५ दिने रेडियो प्रस्तोता तालिमको आइतबार पानसमा दिप प्रज्ज्वलन गरी उद‌्घाटन गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले पारदर्शी ढंगले आफ्ना गतिविधि र कार्यक्रमहरु विभिन्न सञ्चारमाध्यमबाट प्रसारण गर्दै आएको बताउनुहुँदै नगरपालिकाले ख्वप एफ.एम र ख्वप टेलिभिजन सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो ।

रेडियो प्रस्तोताहरुले अरुले तयार पारेको समाचार वाचन गर्ने मात्र नभई स्वअध्ययन, विभिन्न भाषामा दख्खल, शिष्टता र विषयवस्तुमा जानकार हुनुपर्ने उहाँले बताउनुभयो । समाजलाई व्यवस्थित ढंगले अगाडि बढाउन युवा पुस्तालाई हातमा सीप दिने उद्देश्यले नगरपालिकाले विभिन्न तालिमहरु प्रदान गर्दै आएको बताउनुहुँदै प्रमुख प्रजापतिले तालिमले व्यक्तित्व विकास र परिस्कृत हुन मद्दत पु¥याउने विचार प्रस्तुत गर्नुभयो । उहाँले नयाँ पुस्तामा व्यापक दृष्टिकोणको आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले गरेका काम व्यापक जनतामाझ प्रचारप्रसार गर्ने हेतुले ख्वप एफ.एफ सञ्चालनको उद्देश्य भएको बताउनुहुँदै नयाँ पुस्ताका युवाहरुलाई भक्तपुर नपाको उद्देश्य र लक्ष्यबारे प्रस्ट हुनुपर्ने बताउनुभयो । उहाँले ख्वप एफ.एम. भक्तपुर नगरपालिकाको भावना जनतामाझ पु¥याउने प्रभावकारी माध्यम बन्नेमा विश्वास व्यक्त गर्नुुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भाषा राम्रो बनाउन आफ्नो उद्देश्यसँग मिल्ने साहित्य अध्ययनमा जोड दिनुपर्ने बताउनुहुँदै प्रशिक्षार्थीहरुलाई नगरपालिकाको उद्देश्य बुझेर अगाडि बढ्न प्रेरित गर्नुभयो ।

ख्वप सः कार्यक्रमका संयोजक एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले विदेश जाने लोभले नयाँ पुस्तामा ढाट्ने प्रवृत्ति विकास भइरहेको बताउनुहुँदै भक्तपुर नगरपालिकाले युवा लक्षित गतिविधि गरी शिक्षा सँगसँगै रोजगारी दिने उद्देश्यले विभिन्न तालिमहरुलाई निरन्तरता दिइरहेको बताउनुभयो ।

प्रशिक्षकको तर्फबाट तालिमका प्रशिक्षक मतिना त्वानाबासुले प्रशिक्षार्थीहरुलाई तालिमको महत्वबारे प्रकाश पार्नुभयो । कार्यक्रममा ख्वप सः कार्यक्रमका सञ्चालक सदस्य दिपेन्द्र प्रजापति र ओम धौभडेलले पनि बोल्नुभएको थियो ।

 

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.