Explore news and happenings at Bhaktapur

निजी आवास पुनःनिर्माणसम्बन्धी बैठक

२०७६ जेठ २१ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको ठूलो ब्यासीदेखि कमलविनायकसम्मको मुख्य सडक आसपासका पुराना घरहरु पुनःनिर्माण गर्न नक्सा पासमा समस्या भइरहेकोतर्फ प्राधिकरणको ध्यानाकर्षण गर्नुभयो । उहाँले ब्यासीदेखि कमलविनायक सडकको वैकल्पिक सडक बनाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको मंगलबार बसेको भक्तपुरमा निजी आवास पुनःनिर्माणसम्बन्धी बैठकमा बोल्नुहुँदै प्रमुख प्रजापतिले ब्यासी–कमलविनायक सडक छेउमा भक्तपुरको प्राचीन र ऐतिहासिक पाटी, सत्तल, पोखरी तथा ढुंगेधाराहरु रहेको हुँदा सो क्षेत्रमा बाटो फराकिला गर्दा सम्पदाहरु नास हुने बताउनुभयो ।

सडक साँघुरो हुँदा यात्रुहरुलाई आवागमनमा समस्या भएको र सडक दुर्घटनाको सम्भावना भएको बताउनुहुँदै प्रमुख प्रजापतिले त्यस क्षेत्रलाई व्यवस्थित रुपमा फुटपाथ बनाई पुरानै शैलीमा घर निर्माणमा जोड दिने बताउनुभयो ।

कार्यक्रममा काठमाडौं उपत्यका प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले सडक छेउका घरहरु पुरानै शैलीमा पुनःनिर्माण गर्न नगरपालिकाले पहल गर्नुपर्ने बताउनुहुँदै ब्यासी–कमलविनायक सडकको वैकल्पिक सडकको लागि अध्ययन भइरहेको बताउनुभयो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले स्थानीय जनताको राय–सुझावअनुसार सडकको मापदण्ड हेरफेर गरी सडकको दायाँबायाँ पेटी निर्माण गर्नुपर्ने बताउनुभयो ।

बैठक राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिका सदस्य डा. चन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको थियो ।

 

Leave A Reply

Your email address will not be published.