Explore news and happenings at Bhaktapur

बासु माविमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम

२०७६ जेठ १० गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षकको कर्तव्य विद्यार्थीलाई पढाउने मात्र नभई देशको लागि सक्षम र योग्य नागरिक तयार गर्ने र समाजलाई सुसंस्कृत बनाउने हुनुपर्ने बताउनुभयो ।

बासु माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७६ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत, छात्रवृत्ति तथा पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रममा बोल्नुुहुँदै नगर प्रमुख प्रजापतिले पढाई र अनुशासनलाई सँगसँगै लानुपर्ने र अभिभावकहरूले छोराछोरीको गल्ती र नराम्रो बानीको समयमै आलोचना गर्नु आवश्यक भएको बताउनुभयो ।
आर्थिक कारणले कुनै पनि विद्यार्थी पढाइबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले भनपाले प्रति विद्यार्थी ५ लाखसम्म सहुलियत ब्याज दरमा ऋण प्रदान गर्ने व्यवस्था सुरु भइसकेको जानकारी दिनुहुँदै प्रमुख प्रजापतिले इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति, नेपालभाषा विषय पढ्न छात्र छात्राहरूलाई आकर्षित गर्न नगरपालिकाको तर्फबाट छात्रवृत्ति प्रदान गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाले जनता केन्द्रित गतिविधिलाई अगाडि बढाइरहेको चर्चा गर्नुहुँदै प्रमुख प्रजापतिले नगरपालिकाले कुनै व्यक्ति विशेषको निम्ति नभई सिंगो समाजलाई बुद्धिजीवीकरण गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको धारणा राख्नुभयो ।
कार्यक्रमका सभापति एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाइँले विद्यार्थीको उज्ज्वल भविष्यको निम्ति विद्यालयले निरन्तर विद्यार्थी केन्द्रित गतिविधिका साथै अतिरिक्त क्रियाकलापमा जोड दिइरहेको बताउनुभयो । उहाँले विद्यार्थीको अनुशासन, सिकाइ प्रविधिलगायतका पक्षलाई प्राथमिकता दिएको बताउनुभयो ।

बासु माविका प्राचार्य अम्बिका न्याइच्याइँले नयाँ शैक्षिक सत्र २०७६ सालमा १८० जना नयाँ विद्यार्थी भर्ना भएको जानकारी गराउनुहुँदै विद्यालयले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापका साथै वक्तृत्वकला, हिज्जेलेखन, विषयगत हाजिरीजवाफ, वादविवाद, श्रुतिलेखनलगायतका प्रतियोगिताहरू सञ्चालन गरी विद्यालयमा खेलकुद समिति निर्माण गरी विभिन्न खेलहरूको प्रशिक्षण दिंदै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ, खेलकुदलगायत सबै क्षेत्रमा व्यवस्थित ढंगले अगाडि बढाइरहेको बताउनुहुँदै नगरपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न विभिन्न विषयगत तालिम सञ्चालन गरिरहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा स्रोत व्यक्ति ध्रुव हमाल, विद्यालयका प्राइमेरी इन्चार्ज विष्णुप्रसाद दुमरु, सहायक प्राचार्यद्वय रविलाल प्रधान र राजकुमार ह्यौंमिखा, अभिभावक प्रतिनिधि शिवकृष्ण कोजु, बासु माविका विद्यार्थी हित समितिका अध्यक्ष अजय क्षेत्रीलगायतले पनि बोल्नुभएको थियो । कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति तथा अन्य अतिथिहरुले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई छात्रवृत्ति र पुरस्कार प्रदान गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.