Explore news and happenings at Bhaktapur

प्रमुख सुनिल प्रजापतिसँग लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रतिनिधिमण्डलको भेट

२०७६ जेठ ९ गते, बिहीबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बिहीबार लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडाअध्यक्षको अध्ययन टोलीले नगरपालिकाको सभाकक्षमा भेट गर्नुभयो । भेटमा सांस्कृतिक नगर र पर्यटन शुल्क तथा स्थानीय तहको कार्यशैलीबारे अनुभव आदानप्रदान गरियो ।

प्रमुख प्रजापतिले वडाध्यक्षहरुको अध्ययन टोलीलाई स्वागत गर्नुहुँदै भक्तपुर नपाअन्तर्गत विभिन्न पुरातात्विक स्थान, पर्यटन क्षेत्रजस्ता महत्वपूर्ण स्थानहरुमा लिइँदै आएको नगर प्रवेश शुल्क, पर्यटन शुल्क र नगरपालिकाले गर्दै आएका विकास निर्माणका विषयमा स्पष्ट पार्नुभयो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को भावनाअनुरुप भक्तपुर नगरपालिकाले आफ्ना कार्यलाई अगाडि बढाएको जानकारी दिनुहुँदै प्रमुख प्रजापतिले भक्तपुरले सम्पदा संरक्षणदेखि अन्य भौतिक संरचनाहरु निर्माण गर्दा स्थानीय जनताकै सहयोगमा उपभोक्ता समितिमार्फत गर्ने नीति लिंदै आएको बताउनुभयो ।

नगरपालिकाका हरेक गतिविधि, आय–ब्यय सबै नागरिकहरूसमक्ष समयमै जानकारी दिन भनपाले मासिक प्रकाशन ‘भक्तपुर’, पाक्षिक प्रकाशन नेपालभाषाको ‘ख्वप पौ’, रेडियो कार्यक्रम ख्वप सः हप्ताको २ दिन (२ घण्टा) संचालन गर्दै आएको र नगरपालिकाको राजपत्र नियमित प्रकाशन गर्दै आएको जानकारी दिनुभयो ।

भेटमा लुम्बिनी सांस्कृतिक नगरका प्रतिनिधिहरुले भक्तपुर नगरपालिका गतिविधिहरुबाट आफूहरुले पनि सिक्न चाहेको बताउनुहुँदै लुम्बिनी सांस्कृतिक नगरपालिका नयाँ नगरपालिका भएकोले धेरै समस्या र चुनौतीहरु भएको बताउनुभयो । नगर विकासको निम्ति आर्थिक स्रोत जुटाउन निकै गार्हो भएको बताउँदै अध्ययन टोलीले नगर विकासको निम्ति लुम्बिनी विकास कोषसँग समन्वयको प्रक्रिया अगाडि बढाइरहेको बताउनुभयो ।

भेटपश्चात नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाबाट प्रकाशन हुने ‘भक्तपुर मासिक’, ‘ख्वप पौ’, ‘राजपत्र’, पिक्टोरियल बुक, कक्षा १, २, ६ र ७ को स्थानीय पाठ्यक्रमलगायतका प्रकाशनहरु प्रदान गर्नुभयो ।

भेटमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडाअध्यक्षहरु विनोदकुमार श्रीवाहतन, नर्दमूलहक मुसलमान, धर्मप्रकाश कुर्मी, धु्रप यादव, कार्यालयका नायब सुब्बा लीलाधर बस्याल, कार्यपालिका सदस्य अलाख मोठधुठको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.