Explore news and happenings at Bhaktapur

भनपा र सेनाबीच सहमति

भक्तपुरको रानीपोखरी जीर्णोद्धार हुने र खेल मैदान खुल्ला हुने

0

भक्तपुर, २०७६ जेठ २ गते, बिहीबार ।
भक्तपुर नगरपालिका र नेपाली सेनाबीच विभिन्न चरणमा भएका छलफलहरुपश्चात् भक्तपुुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनःनिर्माण र सर्वसाधारणको लागि खुल्ला गर्ने तथा भ.न.पा. १ स्थित सिद्धपोखरी उत्तरतर्फको खेल मैदान स्थानीयको लागि खेलकुद प्रयोजनका लागि खुल्ला गर्ने विषयमा सहमति भएको छ ।

सहमतिअनुसार उक्त रानीपोखरी के कति क्षेत्रफलमा फैलिएको छ भनी एकिन गर्न नगरपालिका र नेपाली सेनाले समन्वय गरी नाप नक्सा गर्ने, नाप नक्सापछि प्राप्त प्रमाणको आधारमा भक्तपुर नगरपालिकाले जिर्णाेद्धार गर्ने भएको छ । उक्त पोखरी जिर्णाेद्धारसँगै त्यहाँ भेटिएका पुरातात्विक वस्तुहरुको संरक्षण र भग्नावशेषको रुपमा रहेको पाटीको पुनःनिर्माण पनि नगरपालिकाले गर्ने भएको छ । सहमति अनुसार नाप नक्सा कार्य शुरु भइसकेको छ ।

 

रानीपोखरी जिर्णाेद्धारपछि सुरक्षाको उचित व्यवस्था मिलाई पोखरीलाई चारैतिर पर्खालले घेरेर पोखरीको दक्षिण सल्लाघारी, दूधपाटी बाटोतर्फ प्रवेशद्वार बनाई बिहान ६ बजेदेखि सा“झ ६ बजेसम्म सर्वसाधारणको लागि खुल्ला गरिने भएको छ । साथै रानीपोखरी अवलोकन गर्न आउनेका लागि सवारीसाधन पार्किङ स्थल सल्लाघारीको खाली जमिनमा नगरपालिकाले निर्माण गर्ने भएको छ ।

त्यस्तै सिद्धपोखरी उत्तरतर्फको खेल मैदानको चारैतिर जालीबारले घेरी मैदानको दक्षिणतर्फ प्रवेशद्वारको व्यवस्था गरी उक्त खेल मैदान स्थानीयको लागि हरेक दिन बिहान ७ः३० बजेदेखि ११ः३० बजेसम्म ४ घण्टा खुल्ला गर्ने र शनिबारको दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ला हुने भएको छ । साथै सैनिक महाविद्यालय बन्द रहेको र आवासीय विद्यार्थीहरु बिदामा रहेका दिनहरुमा बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म स्थानीयको लागि खुल्ला हुने स्रोतले जनाएको छ । रानीपोखरी जीर्णोद्धार र खेल मैदान खुल्ला गर्ने विषयमा नेपाली सेनाका प्रधानसेनापती पूर्णचन्द्र थापासँग भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आवश्यक छलफल गरेको थियो ।

Leave A Reply

Your email address will not be published.