Explore news and happenings at Bhaktapur

लेखासम्बन्धी कर्मचारीहरूको पुनर्ताजगी कार्यक्रम

२०७६, वैशाख १५ गते, आइतबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार लेखासम्बन्धी नगरपालिकाका कर्मचारीहरूको पुनःताजगी कार्यक्रमको उद्‌घाटन गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले कर्मचारीहरूमा सैद्धान्तिक र व्यवहारिक ज्ञानको सन्तुलनको आवश्यकता भएको र व्यवहारिक रुपमा आएको कठिनाईका समस्या समाधान गर्न तालिमले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।

शक्तिको भरमा संसार कब्जा गर्ने अमेरिकी साम्राज्यवादी नीति र अमेरिकी व्यापार युद्धले अमेरिकालाई नै नोक्सान पुर्याउने बताउनुहुँदै प्रमुख प्रजापतिले समाजवादी देश चीनलाई अगाडि बढ्न कसैले रोक्न नसक्ने बताउनुभयो ।

उहाँले कर्मचारीहरूको इमानदारिताको परीक्षण आर्थिक मामिलाबाट हुने बताउनुहुँदै संस्थालाई घाटामा पुर्याउने काम नगर्न र आर्थिक हिसाबकिताबमा नियमितता आवश्यक भएको बताउनुभयो । देशको कानुन र आर्थिक ऐनहरूबारे जानकार हुनुपर्नेमा जोड दिनुहुँदै प्रमुख प्रजापतिले कर्मचारीहरू पैसा कमाउने उद्देश्यले भन्दा सेवाभावले काम गर्न प्रेरित हुनुपर्ने बताउनुभयो ।

भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवं लेखा समितिका संयोजक हरिप्रसाद बासुकलाले लेखासम्बन्धी तालिमले आर्थिक कारोबारमा सहयोगी भूमिका खेल्ने बताउनुहुँदै नियमसंगत रुपले आर्थिक हिसाब–किताब राख्नुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले संस्थाको आर्थिक पारदर्शिताले आर्थिक र भौतिक संरक्षण भएको प्रस्टिने बताउनुभयो । उहाँले खर्चको बील, भर्पाईलाई पारदर्शी ढंगले प्रस्तुत गर्नुपर्ने बताउनुहुँदै लेखाको नियमसंगत हिसाबकिताबले संस्था व्यवस्थित रुपमा सञ्चालन हुने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १० का वडा सदस्य जितेन्द्र मुनंकर्मी र भक्तपुर नगरपालिकाका आन्तरिक लेखा परीक्षक विनोद आगञ्जाले लेखाका आधारभूत सिद्धान्त र महत्वबारे प्रस्ट पार्नुभयो ।

Leave A Reply

Your email address will not be published.