Explore news and happenings at Bhaktapur

जेंलास्थित झटाप्व फल्चा उद्‍घाटन तथा पुस्तकालयको नयाँ भवन शिलान्यास कार्यक्रम

भक्तपुर, २०७६, वैशाख ७ गते, शनिबार भक्तपुर, २०७६, वैशाख ७ गते, शनिबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार भक्तपुर नगरपालिका वडा नं. ८ जेंलास्थित झटाप्व पाटीको उद्‍घाटन गर्नुभयो ।

२०७२ सालको भूकम्पले भत्किएको उक्त पाटी पुनःनिर्माणको हिसाबकिताब सार्वजनिकीकरण तथा सार्वजनिक शौचालयको ठाउँमा पुस्तकालयको नयाँ भवनको शिलान्यास कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख सुनिल प्रजापतिले भूकम्पले भत्किएका ३४ वटा सार्वजनिक पाटीको पुनःनिर्माण कार्य सकिसकेको जानकारी गराउनुहुँदै भक्तपुर नपाले भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनःनिर्माणमा जोड दिइरहेको बताउनुभयो ।

उहाँले सर्वसाधारण जनताका छोराछोरीलाई कम शुल्कमा उच्च शिक्षा दिने, समाजलाई बुद्धिजीवीकरण गर्ने, नया“ पुस्तालाई एक्काइसौं शताब्दीका चुनौतीहरू सामना गर्न सक्षम बनाउन भक्तपुर नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ९ च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रसँगै २५ शैय्याको ख्वप अस्पताल निर्माण सुरु भइसकेको र नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा सञ्चालित जिल्ला सामुदायिक आँखा केन्द्रमा मोतिविन्दु शल्यक्रिया सेवा प्रारम्भ भइसकेको जानकारी उहाँले दिनुभयो ।

भक्तपुरको सरसफाइमा नगरवासी नै सचेत हुनुपर्नेमा जोड दिनुहुँदै प्रमुख प्रजापतिले नसर्ने रोगको जोखिम बढिरहेको हुँदा नगरपालिकाले विभिन्न रोगहरुको स्वास्थ्य शिविरहरु पनि सञ्चालन गरिरहेको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले पाटी पुनःनिर्माणमा उपभोक्ता समिति र जनश्रमदानका कारण लगत इस्टिमेटभन्दा कम रकममा गुणस्तरीय काम भएको बताउनुहुँदै भक्तपुरको कला संस्कृति, सम्पदा संरक्षण तथा सार्वजनिक ठाउँको जगेर्नामा निरन्तर कार्यहरु गरिरहेको बताउनुभयो ।

कार्यक्रममा उपभोक्ता समितिका उपाध्यक्ष राम प्रजापतिले सार्वजनिक शौचालयको ठाउँमा पुस्तकालय निर्माण गरी नयाँ पुस्ताको शैक्षिक स्तर उकास्न र समाजलाई अगाडि बढाउन मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष रत्नभक्त प्रजापति, समाज सुधार माविका प्रधानाध्यापक लक्ष्मीनारायण दुवाल र उपभोक्ता समितिका सदस्य सत्यप्रसाद प्रजापतिले पनि बोल्नुभएको थियो ।

झटाप्व फल्चाको ल.इ. २९ लाख १० हजार ४७ रुपैयाँ रहेको उपभोक्ता समितिले जनाएको छ ।

 

 

Leave A Reply

Your email address will not be published.