Explore news and happenings at Bhaktapur

प्रसिद्ध बिस्का जात्राको समीक्षा तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न

भक्तपुर, २०७६, वैशाख ९ गते, सोमबार

0

 

भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार भक्तपुरको प्रसिद्ध बिस्का जात्रा २०७५÷७६ को समीक्षा तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका विभिन्न चाड पर्वहरू मध्ये बिस्का जात्रा अत्यन्त महत्वपूर्ण जात्रा भएको बताउनुहुँदै बिस्का जात्रामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने जिल्ला प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सरोकारवाला टीम, क्लब, दाफा—भजन तथा स्थानीय जनतालाई भक्तपुर नगरपालिकाको तर्पmबाट धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अहिलेको कमीकमजोरी र सुझावहरू आगामी वर्षको लागि मार्गदर्शन हुने बताउनुभयो ।

भैरवनाथ जीर्णोद्वारको लागि बाँधिएका खतमा कुनै असर नपर्नु, कुनै अप्रिय घटना नघट्नु र जनताबीच जनप्रतिनिधि, प्रशासन निरन्तर रहनु सकारात्मक भएको बताउनुहुँदै प्रमुख प्रजापतिले जात्रा समयमा शुरु नहुनु, भैरवनाथको खत निर्माण कमजोर देखिनु, खतमा चाहिने भन्दा बढी मानिस चढ्नु र चैत्र २७ गते निर्धारित स्थानमा खत (द्यो थाते लाकेगु) पु¥याउन नसक्नु जात्राको कमजोर पक्ष भएको बताउनुभयो ।

नगरपालिकाले जात्राको समयमा वडा वडामा नर्स र स्वास्थ्य स्वयंसेविकाहरू परिचालन गरी प्राथमिक उपचार कक्षको व्यवस्था गरेको चर्चा गर्नुहुँदै प्रमुख प्रजापतिले जनताको व्यापक सहभागितामा ब्रम्हायणी जात्रा, माहेश्वरी जात्रा, छुमा गणेशको जात्रा, इन्द्रायणी जात्रालगायत सबै जात्राहरू शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी गराउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सम्पदा पुनःनिर्माण गर्दा मौलिक प्रविधिमा जोड दिनुपर्ने बताउनुहुँदै रथ निर्माण कार्य अझ व्यवस्थित ढंगले अगाडि बढाई सांस्कृतिक पक्षलाई पनि ध्यानमा राख्नुपर्ने बताउनुभयो । उहाँले नगरवासीहरू स्वयम् इञ्जिनियरको रुपमा कार्यरत रहेको बताउनुभयो ।

भक्तपुर जिल्लाका प्रजिअ नारायणप्रसाद भट्टले बिस्का जात्रा जनताको जात्राको रुपमा स्थापित गर्न सफल भएको बताउनुहुँदै जात्राको समयमा प्रहरीलाई स्वयम्सेवकको रुपमा परिचालन गर्नुपर्ने र गुठी संस्थान थप चनाखो भई प्रस्तुत हुनुपर्ने बताउनुभयो । रथलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिंदै प्रजिअ भट्टले जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न हुँदा भक्तपुरको प्रतिष्ठा बढाउन मद्दत पुगेको बताउनुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका एस.पी. हिमालयकुमार श्रेष्ठले जात्राको तयारी प्रहरीले पाँच महिनादेखि गरेको जानकारी दिनुहुँदै हामी हारेर पनि भक्तपुरवासीलाई जिताउने मानसिकताले काम गरेको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले जात्रा निर्धारित समयभन्दा ढिलो सुरु भए पनि शान्तिपूर्ण ढंगले सम्पन्न भएकोमा खुसी प्रकट गर्नुहुँदै रथमा प्रयोग हुने चुकुलहरू मजबुत बनाउनुपर्ने बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले जात्रा सुरु हुनु अगाडि भएको जनचेतना र्‍यालीले जात्रा शान्तिपूर्ण बनाउन नगरवासीहरूमा सकारात्मक प्रचार भएको बताउनुभयो । रथले बिगारेका सम्पदाहरूको संरक्षण, जात्राको समयमा व्यक्तिगत रूपमा क्षति पुगेकालाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

गुठी संस्थानका प्रमुख हरिप्रसाद सुवेदीले पुजा विधिले गर्दा बिस्का जात्रा समयमा सुरु हुन नसकेको, रथमा प्रयोग हुने केही काठ र चुकुलहरु पुरानो भएकोले रथ केही कमजोर भएको र नयाँ रथ बनाउन अहिलेदेखि नै अगुवाई गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले जात्रा व्यवस्थापनमा भक्तपुर नपाको अगुवाई सराहनीय भएको बताउनुहुँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न जात्राको ऐतिहासिकताबारे पनि प्रचारप्रसार आवश्यक भएको बताउनुभयो ।

भैरवनाथ जात्रा व्यवस्थापन समितिका अध्यक्ष न्हुछेराम भेलेले आगामी वर्षको लागि भैरवनाथको नयाँ रथ बनाउन तर्जुमा गर्नुपर्ने, रथ तान्ने रुटको सीमा तोक्न नहुने, रथ तान्न बलियो रथ प्रयोग गर्नुपर्ने र माइकिङमार्फत् व्यवस्थित प्रचार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा दूरसञ्चारका कार्यालय प्रमुख बिरेन्द्ररत्न शाक्य र स्थानीय शिवनारायण गोथेले भैरवनाथको जगेडा छाना व्यवस्थापन गर्नुपर्ने, जात्राको समयमा परिचालित टीम–क्लबका स्वयम्सेवकहरूको सेवाको कदर गर्नुपर्नेमा जोड दिनुभयो ।

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.