Explore news and happenings at Bhaktapur

वागीश्वरीमा प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री

२०७६ वैशाख २ गते, सोमबार

0

भक्तपुर । प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले २०७५ चैत ३० गते, शनिबारका दिन वागीश्वरी स्कुल र वागीश्वरी कलेज च्याम्हासिंह भक्तपुरको अवलोकन भ्रमण गर्नुभएको छ । अवलोकनको साथमा प्रदेश सभाका सदस्य प्रतिभा श्रेष्ठ पनि हुनुहुन्थ्यो । 

अवलोकनका क्रममा उहाँहरुले वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग कलेजको वस्तुस्थितिको बारे जानकारी लिनुभएको थियो ।

प्रमुख प्रजापतिले कलेजको बारेमा जानकारी दिनुहुँदै कलेजले तुमचो–चोखा–दुगुरे आवास योजनासँग किनेको १ रोपनी ७ आना जग्गामा आफ्नै भवन निर्माणको प्रकृया अगाडि बढाएको हुँदा प्रदेश सरकारको तर्फबाट पनि उचित सहयोगको अपेक्षा गर्नुभयो ।

च्याम्हासिंहको स्कुल प्राङ्गणमा मन्त्री दुलाल र सांसद श्रेष्ठलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्व र प्राचार्य कृष्णप्रसाद धन्छाले फूलको गुच्छा र खाडाले स्वागत गर्दै विद्यालयको विभिन्न पक्षको अवलोकनका साथ जानकारी दिनुभएको थियो ।

अवलोकनको क्रममा मन्त्री दुलालले एक विद्यालय एक नर्स कार्यक्रम अरु विद्यालयमा पनि विस्तार गर्ने र हाल सञ्चालित विद्यालयमा पनि सामग्री थप्ने जानकारी दिनुभयो ।

मन्त्री दुलाल र सांसद श्रेष्ठले कलेजको आगन्तुक पुस्तिकामा “चार हजारभन्दा बढी विद्यार्थी पठनपाठन गर्ने यस शिक्षालयको सर्वाङ्गीण विकासको शुभकामनासहित प्रदेश सरकार साथमा रहने” विचार व्यक्त गर्नुभएको छ ।

पुस्तिकामा उहाँहरुले “भौतिक पूर्वाधार, शैक्षिक सामग्री व्यवस्थापन, प्रयोगशाला लगायतको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर राम्रो रहेको र यसलाई अझै सुदृढ गर्न सकिने सम्भावना” भएको उल्लेख गर्नुभएको छ ।

कलेज र स्कुलको तर्फबाट उहाँहरुलाई मायाको चिनोसहित प्रकाशित कलेजको जर्नल, साहित्य सँगालो, स्मारिका लगायत प्रदान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.