Explore news and happenings at Bhaktapur

विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूबीच अभिमुखीकरण

भक्तपुर, २०७६, वैशाख ३ गते, मंगलबार ।

0

 

भक्तपुर नगरपालिकाको आयोजनामा मंगलबार शिक्षा ऐन २०७४ बमोजिम नगर क्षेत्रभित्रका सामुदायिक एवम् संस्थागत विद्यालयहरूका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २१ औं शताब्दीको लागि योग्य र प्रतिस्पर्धी विद्यार्थी तयार गर्न विद्यालय र सञ्चालक समितिबीचको समन्वय राम्रो हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

युवा पुस्तामा व्यवहारिक ज्ञानको कमी रहेको औंल्याउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुरको कला–संस्कृति, भूगोल, इतिहास, सम्पदा, खेलकुद आदि विषयबारे नयाँ पुस्तालाई जानकारी प्रदान गर्न स्थानीय पाठ्यक्रम बनाइएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राख्दै शिक्षाको लागि बढी लगानी गरिरहेको चर्चा गर्नुहुँदै भक्तपुरका नगरभित्रका सामुदायिक र निजी विद्यालयका शिक्षक–शिक्षिकाहरूको लागि मन्टेश्वरी तालिम, विषयगत तालिमहरूको सञ्चालन गरी शिक्षाको स्तर उकास्न र शिक्षाको गुणस्तर बढाउन नगरपालिकाले प्रयास गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘‘शिक्षा ऐनको प्रस्तावनामा राखिएको प्राविधिक शिक्षालाई जोड दिई समाजलाई विस्तारै बुद्धिजीवीकरण गर्ने उद्देश्य भक्तपुर नगरपालिकाको रहेको छ ।’’

भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुरलाई नमूना शैक्षिक गन्तव्यस्थल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आह्वान गर्दै विज्ञान र प्रविधिसँग जोडिएको शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले विद्यालय शिक्षा आर्जन गर्ने भूमि रहेको बताउँदै शिक्षाले सामाजिक परिवर्तन ल्याउने र जीविकोपार्जनको निम्ति उपयोगी माध्यम भएको बताउनुभयो ।

नगर शिक्षा समितिका प्रमुख कृष्णप्रसाद कर्माचार्यले शिक्षा ऐन २०७४ बारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.