Explore news and happenings at Bhaktapur

भनपामा शुभकामना आदान प्रदान

भक्तपुर, २०७५ चैत्र २९ गते शुक्रबार ।

0

नेपाल नगरपालिका कर्मचारी एशोसिएसन, भक्तपुर नगरपालिका समितिको आयोजनामा नव वर्ष २०७६ र विस्केट जात्राको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुरको कला र संस्कृति तथा सम्पदाबारे संसारभरीनै सकारात्मक प्रचार प्रसार भैरहेको बताउनुहुँदै यसलाई कायम राख्न कर्मचारीहरुले गम्भीरतापूर्वक आ–आफ्नो जिम्मेवारी निभाउनुपर्नेमा जोड दिनुभयो । उहाँले शुभ काम गरेर शुभकामना व्यक्त गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुहुँदै कर्मचारीहरुले शिष्टता र नम्रतापूर्वक सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले १९ वर्ष अगाडि ख्वप उमावि स्थापना गरेर शुरु गरेको शैक्षिक अभियानले अहिले देशभरी सकारात्मक सन्देश गइरहेको बताउनुहुँदै कर्मचारीहरुले देश र जनताको दीगो विकास हुने कार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यसम्पादनको क्रममा कुनै समस्या आएमा छलफलद्वारा समाधान गर्नुपर्ने बताउनुहुँदै सहकार्य र समन्वयको बानी विकास गर्नुपर्ने बताउनुभयो ।
अधिकारप्राप्त अधिकारीहरुले कुनै निर्णय गर्दा विवेक प्रयोग गर्नुपर्ने बताउनुहुँदै निर्णयकर्ताहरु सचेत हुनुपर्नेमा जोड दिनुभयो । जनताको आँखा दूरवीन सरह हुने भएकोले कर्मचारीहरुले कार्यालयको कार्यसम्पादनको दौरानमा मात्र नभई दैनिक जीवनमा समेत अनुशासित र मर्यादित जीवनशैली अपनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले उदाहरणीय कार्य गरेर देखाउनुपर्ने र यसको लागि जनप्रतिनिधि र कर्मचारीहरुले हात्तेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । भक्तपुर नगरपालिकाका शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाइलगायतका उदाहरणीय कार्यहरुबाट सिक्न देशकै स्थानीय तहका प्रतिनिधिहरुले भनपाको भ्रमण गरिरहेको बताउनुहुँदै उपप्रमुख जोशीले कर्मचारीहरुले अझ उत्साहित भएर काम गर्नुपर्ने बताउनुभयो ।
कर्मचारी एशोसिएसनका अध्यक्ष गौतमप्रसाद लासीवाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, ९ नं. वडाध्यक्ष रविन्द्र ज्याख्व, ६ नं. वडाध्यक्ष हरिराम सुवाल, प्रशासन अधिकृत अम्बिका धौभडेल, दिलकृष्ण माक, राजेश दिस्ती, काशिलाल प्रजापति र विकास प्रजापतिले पनि बोल्नुभएको थियो । कार्यक्रममा कर्मचारी एशाेसिएसनद्वारा प्रकाशित २०७६ सालको भित्तेपात्रो प्रमुख प्रजापति र उपप्रमुख जोशीले स‌ंयुक्त रुपमा सार्वजनिकीकरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.