Explore news and happenings at Bhaktapur

कार्यशालाका चित्रकला प्रदर्शनी उद्‍घाटन

भक्तपुर, २०७५ चैत्र २९ गते शुक्रबार ।

0

भक्तपुरमा शनिबारीय स्थलगत चित्रकला कार्यशालामा विभिन्न कलाकारहरुले तयार पारेका चित्रहरुको प्रदर्शनी भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपालका प्रथम आधुनिक कलाकार गेहेन्द्रमान अमात्यले संयुक्त रुपमा पानसमा दिप प्रज्ज्वलन गरी उद्‌घाटन गर्नुभयो ।

उद्‌घाटन कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि प्रमुख प्रजापतिले भाषाको विकास हुनुभन्दा अगाडिनै चित्रकलाको माध्यमबाट अभिव्यक्ति दिने शैलीको विकास भैसकेको हुनाले यो प्राचीन कलाकारिताको महत्व रहेको बताउनुहुँदै अभ्यासले कलाकारहरु परिस्कृत हुने बताउनुभयो । उहाँले कलाकारहरुले आफ्नो सीप र कलालाई समाजको हितको लागि प्रयोग गर्नुपर्ने बताउनुभयो । भक्तपुर नगरपालिकाले चित्रकलाको विकासको लागि विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सञ्चालन गरेको बताउनुहुँदै नगरका विद्यालयहरुमा चित्रकलाको अध्ययन अध्यापनबारे छलफल भइरहेको जानकारी गराउनुभयो । भक्तपुर नगरपालिकाले कला, संस्कृति र सम्पदा संरक्षण परम्परागत मौलिक शैलीमा गर्दै आएको बताउनुहुँदै यसले इतिहासलाई अतुत रुपमा जोड्ने बताउनुभयो । यहाँका कला, संस्कृति र सम्पदा हाम्रो मौलिक पहिचान भएकोले यसको संरक्षण र प्रबर्द्धनको लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिनुभयो । चित्रकला सृजना गर्ने कलाकारहरुको उत्कृष्ट कार्यले भक्तपुरलाई चिनाउन विशेष मद्दत पुग्ने बताउनु हुँदै उहाँले कलाकारहरुलाई शुभकामना दिनुभयो ।
कार्यक्रममा कलाकारहरु राजेन्द्र याकामी, रमेश प्रधान र विवेकमान सिंह प्रधान लगायतले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.