Explore news and happenings at Bhaktapur

दत्तात्रय, टौमढी र दरबार क्षेत्रका स्थानीय एवम् व्यवसायीहरूको भेला

२०७५ चैत १८ गते, सोमबार

0

भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार भक्तपुरको दत्तात्रय, टौमढी र दरबार क्षेत्रका स्थानीय एवम् व्यवसायीहरूको भेला सम्पन्न भयो ।
भेलामा पर्यटन सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुर आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि आकर्षक गन्तव्यस्थल भएको बताउनुहुँदै स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नमा जोड दिनुपर्ने बताउनुभयो ।

भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले फोहोर समयमै उठाउनुपर्ने, मोटरसाइकल पार्किङ व्यवस्थित गर्नुपर्ने र सार्वजनिक शौचालयको आवश्यकता औंल्याउनुभयो ।

भक्तपुर उद्योग वाणिज्य संघ, पर्यटन विकासका संयोजक चुडामणी कायष्ठले भक्तपुरमा रात्री काली बत्तीको व्यवस्था गर्नुपर्ने, दरबार क्षेत्रका होटलहरूमा हरेक दिन साँझ ६ बजे फोहर संकलन गर्नुपर्ने, पर्यटक शौचालय र स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीय व्यापारीहरू दिनेशबाबु हाडाले स–साना बच्चाहरूले पर्यटकहरूलाई मागेर दुःख दिइरहेको र सार्वजनिक शौचालय नभएर पर्यटकहरूलाई समस्या भइरहेको, देवानचन्द्र धौभडेलले सांस्कृतिक प्रहरीको भूमिका प्रभावकारी हुनुपर्ने र नगरभित्र हरियाली व्यवस्थापनमा ध्यान दिनुपर्ने, राजु गोसाईंले दत्तात्रयमा धुलो नियन्त्रणको लागि पानी छर्कने व्यवस्था गर्नुपर्ने, नगरभित्र निर्माण सामाग्री ल्याउने समय निर्धारण गर्नुपर्ने र पार्किङको उचित व्यवस्था गर्नुपर्नेलगायतका सुझावहरू प्रस्तुत गर्नुभयो ।

कार्यक्रमको सञ्चालन भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचाले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.