Explore news and happenings at Bhaktapur

बिस्का जात्रा शान्तिपूर्ण भए देशकै प्रतिष्ठा बढ्ने – प्रमुख प्रजापति

२०७५ चैत १९ गते, मंगलबार

0

भक्तपुरको ऐतिहासिक बिस्का जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न मंगलबार भक्तपुर नपा वडा नं. ४ र ५ का टीम क्लब, पुस्तकालय, वाचनालय, सहकारी र संघ–संस्थाका प्रतिनिधिको भेला सम्पन्न भयो ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले जात्रा समयमै सञ्चालन गरी समयमै सम्पन्न गर्न सके सम्भावित दुर्घटनाहरुमा कमी आउने बताउनुभयो । उहाँले जात्रामा युवाहरुको उल्लेख्य सहभागिता रहने हुँदा जनचेतना ¥याली तथा कार्यक्रम सञ्चालन गर्ने, भार्वाचोदेखि दत्तात्रयसम्म नगरका ठाउँ ठाउँमा सी.सी. टिभी क्यामेरा जडान गर्ने, विभिन्न सञ्चारमाध्यममार्फत सूचनाहरु प्रभावकारी रुपमा प्रकाशन र प्रसारण गर्ने जानकारी दिनुभयो ।

भक्तपुर नगरपालिका साझा हितको लागि काम गर्ने संस्था भएको र जनताको सुझावअनुरुप नै अगाडि बढ्ने बताउनुहुँदै प्रमुख प्रजापतिले ऐतिहासिक जात्रालाई सभ्य र व्यवस्थित ढंगले सम्पन्न गर्न सके भक्तपुर नगर र देशकै प्रतिष्ठा बढ्ने र सकारात्मक प्रचार हुने बताउनुभयो ।
बिस्का जात्रा भक्तपुरवासीको ऐतिहासिक र महान् पर्व भएको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुरको जात्रा, कला–संस्कृति र सम्पदाहरु बचाइराख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले साघुरो गल्लीहरुमा बत्तीको व्यवस्था गर्ने, अव्यवस्थित तार–केबलहरुको व्यवस्थापन हुने र उच्छृङ्खल गतिविधि गर्नेहरुलाई दण्ड सजाय गरिने बताउनुभयो ।

गुठी संस्थान भक्तपुरका प्रमुख हरि सुवेदीले रथ निर्माणको कार्य सुरु भइसकेको जानकारी गराउँदै जात्रालाई सभ्य ढंगले सञ्चालन गर्न सम्बन्धित संघ–संस्थाहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले जात्रा सञ्चालनमा सम्बन्धित संघ–संस्थाहरुलाई आ–आफ्नो भूमिका निर्वाह गर्न जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले बिस्का जात्रा व्यवस्थित सञ्चालनको लागि आ–आफ्नो राय–सुझावहरु प्रस्तुत गर्नुभयो ।

 

 

Leave A Reply

Your email address will not be published.