Explore news and happenings at Bhaktapur

हाते व्यापारीहरूको भेला

२०७५ चैत १८ गते, सोमबार

0

भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिको आयोजनामा सोमबार हाते व्यापारीहरूको भेला सम्पन्न भयो ।
भेलामा बोल्नुहुँदै भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पर्यटकहरूबाट प्राप्त आम्दानीको स्रोत सम्पूर्ण नगरवासी, नेपाली जनताको आर्थिक, सामाजिक र शैक्षिक उन्नयनमा खर्च भइरहेको बताउनुहुँदै भव्य नगरको सभ्य नागरिकको परिचय दिन व्यापारीमाझ आग्रह गर्नुभयो ।

काठमाडौंको रानी पोखरी पुनःनिर्माणमा भक्तपुरका प्राविधिकहरूले सहयोग गरिरहेको बताउनुहुँदै उपप्रमुख जोशीले भक्तपुरका सम्पदा पुनःनिर्माणका कार्यहरू निरन्तर अघि बढिरहेको चर्चा गर्नुभयो ।

भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले अनुशासन र इमानदारिकता असल नागरिकको गहना हो र पर्यटकहरूलाई ठग्ने स्वभाव गलत भएको बताउनुभयो ।

पर्यटन सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले हाते व्यापारीहरूको लागि पोशाक, तालिम र परिचय पत्र आवश्यक भएको, हकर्स व्यवस्थापन आवश्यक भएको बताउँदै प्रवेश शुल्क नतिरेर नगर प्रवेश गर्ने पर्यटकहरूबारे नगरपालिकालाई समयमै खबर गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो ।

पर्यटन व्यवसायी सद्भाव संघका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले पथ प्रदर्शकहरूले पर्यटकहरूलाई हाते व्यापारीको सामान नकिन्न आग्रह गर्ने र हाते व्यापारीको सामानलाई हेपाहा प्रवृत्ति देखाउनु गलत भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व र भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले पनि आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.